देखावटी मात्रै भए नगरका सीसीक्यामेरा

नेपालगन्जमा तामझामले सुरक्षा निगरानीका लागि सुरु गरिएको सिसिक्यामेरा जडान पछि त्यसको मर्मत, सुधार र नियमितता तर्फ कसैले चासो दिएको पाइँदैन । बेलाबखत प्रयास भएर मर्मत भएपनि सिसिक्यामेरा पुनः वेकामे हुँदासम्म त्यसको मर्मत नहुने गरेको पाइएको हो ।
निजी क्षेत्रको पहल र प्रयासबाट जडान भएको सिसिक्यामेराको निगरानी बाँके प्रहरीले गर्दै आएको छ । तर, प्रहरीसँग त्यसको मर्मत, सम्भार र रेखदेखको लागि बजेट छैन । एक पटक जडान भएको सिसिक्यामेर समयानुकुल परिवर्तन, अपग्रेड र नियमित मर्मतका लागि कसैले पनि अपनत्व लिएका छैनन् । जसले गर्दा सिसिक्यामेरा हात्तीको देखाउने दाँत जस्ता भएका छन् ।

सुरुमा नेपालगन्जका १६ वटा चोकमा ५६ वटा सिसिक्यामेरा जडान गरिएको थियो । सिसिक्यामेराको नियमित सरसफाई र मर्मतसम्भार गर्नुपर्ने हुन्छ । अहिले नेपालगन्ज बजार क्षेत्रमा रहेका कुनै पनि क्यामेरा चालु हालतमा छैनन् । जसले गर्दा जुन उद्देश्यले सिसिक्यामेरा जडान गरिएको हो त्यसले आफ्नो उद्देश्य प्राप्त गर्न सकेन ।


सिसिक्यामेराले काम गर्न छाडेपछि प्रहरी पहलमा १० लाख रुपैयाँ मर्मत, सम्भारका लागि उपमहानगरपालिकाले छुट्याएको छ । ‘सिसि क्यामेरा तथा सिसिटिभी दुरुस्त राख्नका लागि आवश्यक बजेटका लागि उपमहानगरपालिकासँग अनुरोध गरेका छौं, नियमित बजेटको आश्वासन पनि पाएका छौं’, बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले भने ।

प्रहरी अधिकारीहरु सयौं प्रहरीले गर्ने निगरानी केही सिसि क्यामेराले गर्न सक्ने बताउँछन् । ‘चोरी, डकैती, हिड एण्ड रन, अपराधी भाग्दै गरेको अवस्थामा सिसि क्यामेराको सहयोग निकै आवश्यक र परिणामूखि हुन्छ’, बाँके प्रहरी प्रवक्ता न्यौपानेले भन्छन्, ‘तर, सिसिक्यामेरा नियमित रुपमा दुरुस्त हुने गरेका छैनन् ।’

प्रहरीले चोकमा जडान गरिएका क्यामेरा नचले पनि प्रमाण संकलनका लागि निजी क्षेत्रबाट सञ्चालित सिसिक्यामेराको फुटेज समेत लिने गरेको छ । तर, सधै र पर्याप्त निगरानीका लागि चोक, चोकमा क्यामेरा निकै आवश्यक रहेको छ । ‘बजारमा हुने प्रदर्शन, उछृङ्खल गतिविधि नियन्त्रण गर्नका लागि आवश्यक प्रहरी खटाउनका लागि पनि सिसिक्यामेराबाट सहयोग मिल्छ’, प्रहरी अधिकारी भन्छन् ।
२०७५ साल साउन महिनामा नेपालगन्जमा सिसिक्यामेरोको उद्घाटन औपचारिक कार्यक्रम बीच गरिएको थियो । सुरुमा समिति बनाएर मर्मतका लागि समेत बजेट राखिएको थियो । तर, समय बित्दै जाँदा सिसिक्यामेराको अपनत्व कसैले लिएको छैन । ‘सहर सिसिक्यामेराको निगरानीमा हुँदा सुरक्षा अवस्था चुस्त राख्न निकै सहयोग पुग्छ’, प्रहरी प्रवक्ता न्यौपाने भन्छन् ।

तत्कालीन नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा नेपालगन्ज सिसिटिभी व्यवस्थापन समिति गठन गरेर ३३ लाख ९७ हजार २ सय ६८ रुपैया खर्चमा सिसिटिभी जडान भएको थियो ।

बाँके धार्मिक, जातियता, समुदाय लगायतका विभिन्न दृष्टिकोणले संवेदशील क्षेत्र पनि मानिन्छ । भारतीय सिमाना संग जोडिएको जिल्ला भएकोले विदेशी आवागमन र त्यसमा हुन सक्ने सुरक्षा जोखिमलाई ब्यवस्थित गर्न क्यामेरा जडानको योजना अघि सारिएको थियो । ट्राफिक ब्यवास्थापन, शान्ति सुरक्षा कायम राख्न र अपराधिक क्रियाकलापहरु नियन्त्रण गर्न सिसिटिभी क्यामराले महत्वपूर्ण सहयोग गर्ने प्रहरी विश्वास छ ।

प्रतिक्रिया

प्रतिक्रिया