बाँके : उकालो लाग्न थाल्यो अपराध

बाँकेमा अपराधको ग्राफ उकालो लाग्न थालेको छ । विगतका दुई आ.व.मा ओरोलो लागेको मुद्दाको तथ्यांक पुनः उकालो लाग्न थालेको जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दाको तथ्यांकले देखाएको छ । बाँकेमा आ.व. २०७५/०७६ मा १ हजार १ सय ५६ वटा मुद्दा दर्ता भएका थिए । आ.व. २०७६/०७७ मा ८ सय ८० मुद्दा दर्ता भए । उक्त आ.व.को चैत्र देखि कोरोनाका कारण लकडाउन हुँदा पनि अपराधिक घटनामा कमी आएका थिए । आ.व. २०७७/०७८ मा ७ सय २२ मुद्दा दर्ता भए । उक्त आ.व.मा पनि कोरोनाले प्रभावित थियो ।
आ.व. ०७८/०७९ मा पुनः अपराध ग्राफ ह्वात्तै बढेको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांकले देखाउँछ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक, प्रवक्ता मधुसुदन न्यौपानेले चालु आ.व.को बैशाखसम्म ८ सय १४ वटा अपराधिक मुद्दा दर्ता भएको जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा फाँटको तथ्यांक हेर्ने हो भने गम्भीर प्रकृतिका आपराधिक घटनामा कमी आउन नसकेको हो । प्रहरी तथ्यांकले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, फुटकर ज्यान, साधारण चोरी, डाँका चोरी, सवारी चोरी, बहु विवाह, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग सम्बन्धी घटनामा वृद्धि भएको देखाएको छ । प्रहरीको तथ्यांकले सबैभन्दा बढी मुद्दा लागुऔषधका रहेको देखाएको छ ।

बाँकेमा महिला हिंसाका घटना प्रत्येक बर्ष वृद्धि भैरहेको प्रहरीको मुद्दाको तथ्यांकले स्पष्ट रुपमा देखाएका छन् । प्रहरी तथ्यांक अनुसार यौन हिंसाका मुद्दा प्रत्येक बर्ष बढ्दै गएको पाइन्छ । जिल्लामा आ.व. ०७४/०७५ मा ३९, आ.व. ०७५/०७६ मा ३५, आ.व. ०७६/०७७ मा ५६, आ.व. २०७७/०७८ मा ५५ र चालु आ.व.को बैशाखसम्म ३६ वटा मुद्दा जबर्जस्ती करणी सम्बन्धी दर्ता भएका छन् ।

बाँकेमा आ.व. ०७४/०७५ मा कर्तव्य ज्यान सम्बन्धी १५ वटा मुद्दा दर्ता भएका थिए । त्यो संख्या आ.व. ०७५/०७६ मा बढेर १८ पुगेको छ भने गत आ.व. ०७६/०७७ मा २१, आ.व. २०७७/०७८ मा १४ मुद्दा दर्ता भएका छन् । चालु आ.व.को बैशाखसम्म ८ वटा मुद्दा दर्ता भएका छन् ।

ज्यान मार्ने उद्योगका मुद्दा पनि कमी आएको छैन । आ.व. ०७४/०७५ मा २२, आ.व. ०७५/०७६ मा २५, आ.व. ०७६/०७७ मा ३६ मुद्दा, आ.व. २०७७/०७८ मा ४५ वटा ज्यान मार्ने उद्योगका दर्ता भएका छन् । चालु आ.व.को बैशाखसम्म २३ वटा मुद्दा ज्यान मार्ने उद्योगका दर्ता भएका छन् ।

जिल्लामा भवितव्य र फुटकर ज्यान सम्बन्धी मुद्दा पनि उल्लेख्य छन् । आ.व. ०७४/७५ मा ५५, आ.व. ०७५/०७६ मा ५३, आ.व. ०७६/०७७ मा ३७, २०७७/०७८ मा १३ वटा भवितव्य ज्यानका मुद्दा दर्ता भएका छन् । फुटकर ज्यान सम्बन्धी मुद्दा उक्त आ.व.मा क्रमशः २२, १८, १७ र ६ वटा रहेका छन् । चालु आ.व. को बैशाख मसान्तसम्म भवितव्य ज्यानका १५ र फुटकर ज्यानका ६ वटा मुद्दा दर्ता भएका छन् ।

चालु आ.व.मा अभद्र व्यवहारका मुद्दा बढी

मुलुकी अपराध संहिताको दफा ११८ (१) मा भनिएको छ, ‘कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानूनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन ।’ त्यसो गरेको प्रमाणित भएमा एक बर्ष कैद वा १० हजारसम्म जरिवाना गर्ने कानुनी व्यवस्था रहेको छ ।
तर, प्रहरीले जस्तो सुकै मुद्दामा पनि अभद्र व्यवहारको मुद्दा चलाउने गरेको पाइन्छ । प्रहरीले प्रमाण नजुटेका मुद्दामा अनुसन्धानका लागि अभद्र व्यवहार मुद्दा चलाउने, कुनै घटनामा पक्राउ परेका व्यक्तिलाई सोही मुद्दामा कसुर प्रमाणित हुने नदेखेपछि अभद्र व्यवहार मुद्दा चलाउँदै आएको छ ।

बाँकेमा अभद्र व्यवहारका मुद्दा ह्वात्तै बढेको तथ्यांक देखिएको छ । जिल्ला प्रहरी कार्यालयको विगतका तीन आ.व. र चालु आ.व.को बैशाख सम्मको तथ्यांक हेर्ने हो भने अभद्र व्यवहारका मुद्दा बढ्दै गएको हो ।

बाँकेमा सबैभन्दा बढी मुद्दा चालु आ.व. २०७८/०७९ मा अभद्र व्यवहारका दर्ता भएका छन् । प्रहरीका अनुसार, चालु आर्थिक बर्षको साउनमा ४६, भदौमा ३४, असोजमा २९, कार्तिकमा ३०, मंसिरमा ३४, पुसमा ४१, माघमा १९, फागुनमा २८, चैत्रमा २६, बैशाखमा २७ मुद्दा दर्ता भएका छन् ।

अघिल्लो आ.व. २०७७/०७८ मा अभद्र व्यवहारका मुद्दा १ सय ८०, आ.व. २०७६÷०७७ मा २ सय ३५, आ.व. २०७५/०७६ मा ७७ वटा अभद्र व्यवहारका मुद्दा दर्ता भएका थिए ।

एक पूर्व प्रहरी अधिकारी भन्छन्, ‘कहिलेकाँही व्यक्ति पक्राउ गरेपनि प्रमाण प्रमाणित हुँदैन, संलग्नता प्रमाणित हुँदैन अथवा अनुसन्धानका लागि समय लाग्न भने बाध्य भएर नै अभद्र व्यवहार मुद्दा लगाउनु परेको हो ।’

अभद्र व्यवहारका मुद्दा बाँके मात्रै नभएर देशभरी बढिरहेको तथ्यांकले देखाउँदछ । प्रहरीप्रति कोहीप्रति प्रतिशोध राखेर अभद्र व्यवहार सम्बन्धी कारबाहीका मुद्दा बढाएको आरोप पनि लाग्दै आएको छ । मुद्दालाई जता पनि मोड्न मिल्ने भएका कारण पनि प्रहरीमा अभद्र व्यवहारका मुद्दाको चाङ लाग्ने गरेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया