आर्थिक रुपले ‘संकटमा नेपालगन्ज’

निजी क्षेत्रसँग सहकार्य गरेर करको दायरा बढाउन कसरत

नेपालगन्ज उपमहानगरपालिका आन्तरिक स्रोतका दृष्टिले कमजोर बन्दै गएको र त्यसले आर्थिक संकट निम्त्याउने अवस्था सिर्जना भएको भन्दै नवनिर्वाचित नगर प्रमुख प्रशान्त विष्टले त्यसबाट माथि उठ्न आवश्यक कसरत सुरु गर्ने बताएका छन् ।

बुधबार नेपालगन्ज उद्योग वाणिज्य संघको स्वागत सम्मान ग्रहण गर्न वडाध्यक्षहरु सहित पुगेका नगर प्रमुख विष्टले आन्तरिक स्रोत कमजोर हुँदै जाँदा नगरको आर्थिक अवस्था संकटपूर्ण बन्दै गएको औंल्याए । ‘तपाईहरुसँग सहकार्य गरेर करको दायरा बढाउने विषयमा काम गर्न जरुरी छ’, विष्टले निजी क्षेत्रसँग सँग समन्वय र सहकार्यमा मात्रै नेपालगन्ज उपमहानगरपालिका चल्ने विश्वास दिलाउँदै भने, ‘अबका दिनमा जुनसुकै समस्या लिएर आउँदा त्यसको निकास के हुनसक्छ भन्ने कुरामा पनि तपाईको दृष्टिकोण सँगै ल्याउनु होला ।’

स्थानीय तह निर्वाचन २०७९ का क्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवारहरुलाई राखेर विभिन्न प्रतिबद्धतामा हस्ताक्षर गराएको नेपालगन्ज उद्योग वाणिज्य संघले निर्वाचित नगरप्रमुख सहित वडाध्यक्षहरुलाई स्वागत, सम्मानका लागि निमन्त्रणा गरेको हो । कार्यक्रममा उपप्रमुख कमरुद्दिन राईले व्यवसायिक हितमा उपमहानगरपालिकाले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी व्यवसायिक क्षेत्रका प्रतिनिधिहरुले खुला सीमानाको व्यवस्थापन, ट्राफिक व्यवस्थापन लगायतका विभिन्न समस्याहरु राख्दै उपमहानगरपालिकाको प्रभावकारी भूमिका खोजेका थिए । कार्यक्रमको सहजीकरण गरिरहेका संघका महासचिव चिरञ्जीवि ओलीले व्यवसायिक क्षेत्रका समस्या र समाधानका विषयमा नवनिर्वाचितहरुसँग छिट्टै अन्तरक्रियात्मक बसाई हुने जानकारी दिए ।

‘यो नितान्त बधाई ज्ञापन र सुझावका लागि थियो’, महासचिव ओलीले दैनिक नेपालगन्जसँग भने, ‘संघ र व्यवसायिक क्षेत्रसँग जोडिएका नीतिगत सवालमा जनप्रतिनिधिहरुसँग व्यवस्थित अन्तरक्रिया गरिनेछ ।’

नगर प्रमुख विष्टले पनि उद्योग वाणिज्य संघसँग निरन्तर समन्वय र सहकार्यका लागि बैठक हुने बताए । ‘निर्णायक तहमा पुग्ने गरी निरन्तर छलफल, बहस गरिनेछ’, विष्टले भने, ‘त्यसबाहेक निर्वाचन पूर्वका प्रतिबद्धताहरु पालनामा हामी इमान्दार छौं ।’ विष्टले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए ।

प्रतिक्रिया

प्रतिक्रिया