बाँकेमा राजनीतिः सम्भावनाका नयाँ खेल

कस्तो बन्ला कार्यपालिका ?

प्रत्येक स्थानीय तहमा प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष कार्यपालिकामा यसअघि नै चुनिएका जनप्रतिनिधि रहनेछन् । स्थानीय तहको शक्तिशाली अंग कार्यपालिकामा वडा सदस्य तथा बाहिरबाट समेत उम्मेदवार बनाएर जनप्रतिनिधिलाई पूर्णता दिइन्छ । कार्यपालिका बलियो नहुने हो भने भोलिका दिनमा हुने निर्णयमा प्रत्यक्ष प्रभाव पर्दछ । त्यसैले दलहरु कार्यपालिकामा आफ्नो बहुमत कायम गर्नका लागि फरक गठबन्धन गर्न थालेका छन् । बाँकेका कतिपय पालिकामा गठबन्धन भैसकेको छ भने कतिपयमा प्रयास भैरहेको अवस्था देखिन्छ ।
नेपालगन्जमा आठ जना कार्यपालिका सदस्य चुनिने छन् । जसमध्ये ५ जना यसअघि जुनिएका जनप्रतिनिधि मध्येबाट हुने छन् भने बाँकी ३ जना बाहिरबाट उम्मेदवार बनाइने छ ।

नेपालगन्जमा आठ वटै पदका लागि तीन दलले बाँडफाँडको सहमति जुटाएका छन् । सत्ता गठबन्धनको महत्वपूर्ण दल जसपालाई बाहिर राखेर नेपाली काँग्रेस, नेकपा माओवादी र राप्रपा बीच कार्यपालिका सदस्य बाँडफाँडमा सहमति जुटेको हो । काँग्रेस नेतृ उमा थापामगरका अनुसार, निर्वाचित हुन बाँकी ८ कार्यपालिका सदस्य मध्ये काँग्रेसले ४, माओवादीले २ र राप्रपाले २ लिने सहमति भएको छ ।
कुल १ सय १७ मतदाता रहेको नेपालगन्जमा कार्यपालिकाका लागि नेपाली काँग्रेसका ४२, माओवादीका ११ र राप्रपाका १४ मतदाता छन् । उनीहरु मिल्दा बहुमत पुगेकाले अन्य दलका उम्मेदवार विजयी हुने सम्भावना छैन । गठबन्धनबाहेक एमालेसँग २५, जसपाको २५ मत छ ।
गठबन्धनको नयाँ अंकगणितबारे जसपाका बाँकेका अध्यक्षसमेत रहेका नेपालगन्जका उप–प्रमुख कमरुद्दिन राईले दैनिक नेपालगन्जसँग छोटो प्रतिक्रिया दिंदै भने, ‘सहमतिको प्रयासमा छौं, नभए एक्लै निर्वाचनमा जान्छौं ।’ सम्बद्ध स्रोतका अनुसार, डुडुवामा जसपाले काँग्रेससँग नमिलेर एमालेलाई साथ लिएपछि बदलामा नेपालगन्जमा जसपालाई अलग्याइएको हो ।

जानकी गाउँपालिकामा थप हुने ६ कार्यपालिका सदस्यका लागि नेपाली काँग्रेस र माओवादी बीच सहमति भएको छ । जसमा ४ कार्यपालिका सदस्य काँग्रेसले र २ कार्यपालिका सदस्य माओवादीले लिनेछन् । जानकीमा काँग्रेस र माओवादीको नै बर्चश्व रहेको छ । ३२ मतदाता रहेको जानकीमा नेपाली काँग्रेसको १५, माओवादीको ४ मत रहेको छ ।

खजुरा गाउँपालिकामा ६ निर्वाचित हुने कार्यपालिका सदस्यमा नेपाली काँग्रेसले ३ र माओवादीले ३ लिने सहमति भएको काँग्रेस बाँकेका नेताले जानकारी दिए । खजुरामा काँग्रेसको ९ र माओवादीको १९ मत रहेको छ । खजुरामा कुल ४२ जना मतदाता छन् । जसमा एमालेको १४ रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया