एमालेले गुमायो चार पालिका, माओवादी केन्द्र र जसपालाई एक/एक पालिकाको तालाचाबी
आठ स्थानीय तहका कुल ४ सय १२ जनप्रतिनिधिका लागि भएको निर्वाचनमा नेपाली काँग्रेसले ६ प्रमुख, ६ उपप्रमुख र २८ वडाध्यक्ष सहित १ सय ७० पद जितेर जिल्लामै पहिलो पार्टी बनेको छ ।
स्थानीय तह निर्वाचन–२०७९ मा बाँकेबाट सबैभन्दा धेरै जनप्रतिनिधिको पद जित्दै नेपाली काँग्रेस पहिलो पार्टी भएको छ । आठ स्थानीय तह रहेको बाँकेमा काँग्रेसले ६ स्थानीय तहको प्रमुख र ६ स्थानीय तहको उपप्रमुख जितेको छ । गत बैशाख ३० गते बाँकेका आठ स्थानीय तहमा कुल ४ सय २१ पदका लागि भएको निर्वाचनमा काँग्रेसले १ सय ७० वटा पद जितेको हो । २०७४ सालको स्थानीय तह निर्वाचनमा काँग्रेसले बाँकेमा डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको प्रमुख पद र नेपालगन्ज, कोहलपुर, डुडुवा र राप्तीसोनारी गाउँपालिकाको उपप्रमुख पद जितेको थियो । नेपाली काँग्रेसले बाँकेका ८१ वटा वडा मध्ये २८ वटा वडाध्यक्ष पदमा जित हात पारेको छ ।
नेकपा एमालेले २०७४ सालको स्थानीय तह निर्वाचनमा खजुरा गाउँपालिका, जानकी गाउँपालिका, बैजनाथ गाउँपालिकामा प्रमुख, उपप्रमुख र कोहलपुरमा प्रमुख पद जितेको थियो । यसपटक कुनै पनि स्थानीय तहको प्रमुख र उपप्रमुख एमालेले जितेको छैन । यद्यपि, प्रमुख र उपप्रमुख र वडाहरु गुमाएपछि बाँकेमा ४ सय २१ जनप्रतिनिधि पदका लागि भएको निर्वाचनमा एमालेले १ सय ७ वटा जनप्रतिनिधि पद जितेको छ । काँग्रेसपछि धेरै जनप्रतिनिधि पद नेकपा एमालेले जितेको छ । एमालेले बाँकेमा २०७४ सालमा कायम गरेको वर्चश्व भने गुमाएर दोस्रो भएको छ । नेकपा एमालेले बाँकेमा १९ वटा वडाध्यक्ष जितेको छ ।
नेकपा माओवादी केन्द्रले बाँकेको खजुरा गाउँपालिकाको प्रमुख पद जितेको छ । माओवादीले बाँकेमा ४ सय २१ पदका लागि भएको निर्वाचनमा ६४ पद जितेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादीले एउटा पनि प्रमुख, उपप्रमुख पद जितेको थिएन । माओवादीले बाँकेका ८१ वडा मध्ये १७ वटा वडाध्यक्ष पद जितेको छ । माओवादी जनप्रतिनिधि विजेताको हिसाबले तेस्रो स्थानमा रहेको छ ।
४ सय २१ निर्वाचित जनप्रतिनिधि मध्ये ६२ जना जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएर चुनिएका हुन् । जसपाले नरैनापुर गाउँपालिकाको प्रमुख, उपप्रमुख र नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुख पद जितेको छ । जसपा गठन भएपछि बाँकेमा पहिलो पटक स्थानीय तहका निर्वाचन लडेको पार्टीले बाँकेमा १३ वटा वडाध्यक्ष जितेको छ । राप्रपाले बाँकेमा १८ वटा जनप्रतिनिधि जितेको छ । जसमा वडाध्यक्षको संख्या ४ रहेको छ ।