नेपालगन्ज उप–महानगरपालिका परिसरमा नयाँ जनप्रतिनिधिले पदभार ग्रहण गरिरहँदा ‘आउटगोइङ मेयर’ डा. धवल शम्शेर राणाको अनुहार अनपेक्षित मलिन देखिन्थ्यो । डा. राणा झण्डै तीन दशक देखि नेपालगन्जको ‘बिम्ब’का रुपमा चित्रित रहे, ठिक पाँच वर्षअघि आधुनिक नेपालगन्ज बनाउने जिम्मेवारी पाएका उनी ‘सेलिब्रेटी मेयर’का रुपमा देशैभरि छाए । पछिल्लो पाँच वर्ष मेयरका रुपमा डा. राणाले नेपालगन्ज कति बनाए ? मूल्यांकनका आ–आफ्नै दृष्टिकोण होलान्, तर प्रष्ट चाहिं उनले बिगारेनन् ।
माओवादी द्वन्द्वको अवशेषका रुपमा रहेको तत्कालिन जीर्ण कार्यपालिका भवनबाट अन्तिम कार्यकालको शुरुवात गरेका डा. राणाले आइतवार भव्य कार्यालय भवनको चिरिच्याट परिसरमा आयोजित नयाँ जनप्रतिनिधिको सपथ ग्रहण तथा पदभार ग्रहण चलिरहँदा निराश चाहिं किन देखिए ? कारण नम्बर एक, उनी दुई कार्यकाल पुरै शासनसत्ता चलाएर अब नफर्किने गरि जाँदै थिए । कारण नम्बर दुई, आफ्नो उत्तराधिकारी आफैले चाहेका व्यक्ति ल्याउन सफल भएनन् । कारण नम्बर तीन, निर्वाचनका बेला उनले नबोलेपनि हुने (अ) राजनीतिक भाषणमा नेपालगन्ज उपमहानगरपालिकामा गुण्डाहरुको हालीमुहाली गराउन नहुने भनेर गरिएको अपील पुरै अस्वीकृत भएको दृष्य उनैका अगाडी चम्किरहेको थियो ।
दैनिक नेपालगन्जले तीन दशकको राजनीतिक हालीमुहालीबाट मलिन अनुहार लिएर आइतवार नेपालगन्ज उपमहानगरपालिका कार्यालयबाट बाहिर निस्कँदै गरेका निवर्तमान नगरप्रमुख डा. राणासँग सोध्यो, कस्तो अनुभूति भइरहेको छ ?
यो एउटा प्रोसेस हो । नेपालगन्ज उपमहानगरपालिका बनाउन आएको थिएँ । मैले बनाएँ । अब मैले देश बनाउनु पर्दछ । देश बनाउन प्रयास गर्नुपर्दछ । र, देश बनाउने प्रयास गर्ने क्रममा नेपालगन्ज उपमहानगरपालिका मैले छोड्नै पर्दथ्यो । त्यो छाड्ने क्रममा अलिकति दुःख के हो भने हाम्रो पार्टीले अगाडि सारेको व्यक्तिले जितेनन् । जितेको भए अझै राम्रो हुन्थ्यो होला ।
तरपनि यो डेमोक्रेटिक प्रोसेसमा जनताले जसलाई जसले जितायो त्यसलाई स्वीकार्नु पर्ने हुन्छ । र, मैले शुभकामना र बधाई दिने क्रममा मैले कुनै कञ्जुस्याई गरेको छैन ।
तपाईले नेपालगन्ज बनाएँ भनिरहँदा, विजयोल्लासमा नेपालगन्ज डुबायो पो भनिरहेका छन्, उनीहरुका ती आलोचना बारे के भन्नुहुन्छ ?
अब हेर्नुस्, त्यो तपाईको आँखा अगाडि छ, पाँच बर्ष अगाडि नेपालगन्ज के थियो र अहिले के छ ? अब राजनीतिक पूर्वाग्रह राखेर केही पनि भा’छैन भन्ने पनि होलान् मान्छे । सबैको अगाडि छर्लड्गै छ ।
जाँदाजाँदै यो पाँच वर्षमा चाहेर पनि गर्न नसकिएको वा खट्किएको विषय केही रह्यो कि ?
अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन धेरै प्रयास गरिएको थियो । सहमति पनि जुटाएका थियौं । तर, त्यहाँ केही जनताहरुले मुद्दा हालिदिएर काम अल्झिहाल्यो । मुद्दाको टुंगो लाग्यो तर ढिलो भयो । अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, कर्बला, वडा कार्यालय, हिन्दु पुजा भूमि सँगै बन्थ्यो । पैसा पनि आएको थियो तर मुद्दामा अल्झ्यो ।
नयाँ आउने टिमलाई के सुझाव दिनुहुन्छ ?
नयाँ टिमलाई मेरो सुझाव के हो भने, भ्रष्टाचारबाट माथि उठेर काम गर्नुस् । भ्रष्टाचार भयो भने कुनै पनि सफलता हासिल हुन सक्दैन । सबैलाई सम्मान गर्नुस् । आफु ठिक भयो भने सबै जना ठिक हुन्छन् । सबैभन्दा ठूलो कुरा नगरपालिकालाई हामीले भ्रष्टाचार मुक्त बनायौं । सरकारी दस्तुर भन्दा बढी कसैले पैसा माग्ने हिम्मत गर्थेनन् । यो अवस्थालाई जोगाउँनुस्, त्यसका लागि आफुलाई भ्रष्टाचारमुक्त बनाउन लागिरहन मेरो सुझाव छ ।
अब नगरबासीको भूमिका कस्तो हुनुपर्ला ?
कोअपरेटिभ हुनुपर्यो । नगरबासीले जिताइसकेपछि जनप्रतिनिधिलाई सघाउनु पर्दछ । सफल बनाउनु पर्दछ ।
नयाँ जनप्रतिनिधिको प्राथमिकता के हुनुपर्ला ?
सुशासन । नयाँ नजप्रतिनिधिहरुको प्राथमिकता सुशासन हुनुपर्दछ ।