जीत र हार खेलमा हुन्छ, युद्धमा हुन्छ । जनताबाट चुनिएका जनप्रतिनिधि र पार्टीको कसरी जीत हुन्छ ? यदि राजनीतिलाई जीत र हारको खेलका रुपमा लिइयो भने त्यसको परिणाम के हुन्छ ?

मधु पौडेल

निर्वाचन लोकतन्त्र र प्रजातन्त्रको निकै सुन्दर पक्ष हो तर निर्वाचनलाई जित र हारको रुपममा लिनु मुर्खता हो मेरो विचारमा । देशको विकास गर्नु र समाज सेवा गर्ने व्यक्ति जनताले चुन्छ भने जित जनताको हो तर यहाँ उल्टो छ ।

जनतालाई वाइपास गरेर समिति कार्यकर्ताको माझमा व्यक्ति विशेषले फूलमाला अबिर दल्दै विजय जुलुस निकाल्छ अनि उनीहरुका पछि कार्यकर्ताको लाम न कि जनता ! त्यो लाममा जनता देखिँदैन आश्चर्य ।

अनि त्यहीबाट सुरु हुन्छ शासन । विजय जुलुस होस् वा फूलमालाको स्वागत त्यहीँबाट सुरु हुन्छ एक अर्को शासन । जुन शासनको मारमा पहिले जनता च्यापिन्छन्, अनि कार्यकर्ता । बिस्तारै शासकको प्रवृत्ति मै हुँ मा क्रमशः परिवर्तन हुँदै जान्छ । यही क्रममा पाँच वर्ष बित्छ । विकासका विषयलाई थाती राख्दै मात्र आफ्नो व्यक्तिगत चाहनालाई परिपूर्तिका लागि उही शासक जनताको घर दैलोमा सेवक बनेर पुग्छ ।

विजय जुलुस होस् अथवा शक्ति प्रदर्शन लाखौको खर्च हुन्छ जुन खर्च शासकले आफ्ना निम्ति खर्च गरेको हुन्छ । अप्रत्यक्ष रुपमा त्यही खर्च उठाउनका लागि शासक घरदैलोमा पुगेको हुन्छ । दुर्भाग्य नेपाली राजनीतिको मारबाट कोही अछुतो छैनन् । अन्यथा नहोस् । नेपालमा देखिएको राजनीतिक परिवेश हो यो ।

जसमा सबै नअटाउलान तर अधिकांश यही प्रवृत्तिमा अटेका र रमेका छन् । यसपटकको स्थानीय निर्वाचनमा बाँकेमा ७४ प्रतिशतले मतदान गरे । हरेक स्थानीय तहमा अधिकांश मतदाता (जो कुनै पनि राजनीतिक क्रियाकलापमा संलग्न छैन ) को मतदान प्रति चासो देखिएन । मतदान नगर्नु र मताधिकार प्रयोग गर्नु दुई पाटो भएता पनि उनीहरुको किन मतदान प्रति चासो देखिएन ?

अहिलेको जल्दोबल्दो प्रश्न हो यो । यस्तै अवस्था रहे आगामी दिनको चुनाव दलगत मात्र नहोला भन्न सकिन्न । जनताको सहभागिता बिना सम्पन्न निर्वाचनबाट क्रुर शासक नजन्मेला भन्न सकिन्न ।

मतदान प्रक्रिया पूरै कार्यकर्ताको कब्जामा छ जो जस्तोसुकै शासकबाट शासित हुन सहमत राख्छ । लावलस्करको भिडमा जनताको कुनै स्वर सुनिँदैन नत सहभागिता नै । छ त केवल कार्याकर्ताको वाह,वाही मात्रै ! वाह मेरो देशको राजनीति । के राजनीति यही हो ? राजनीति आफ्ना लागि गर्ने कि जनताका लागि ?

जीत र हार

जीत र हार खेलमा हुन्छ । युद्धमा हुन्छ । तर मैले नबुझेको कुरा जनताबाट चुनिएका जनप्रतिनिधि र पार्टीको कसरी जीत हुन्छ ? यदि राजनीतिलाई जीत र हारको खेलका रुपमा लिइयो भने त्यसको परिणाम के हुन्छ ?

राजनीतिलाई जीत र हारको रुपमा नलिई जनताबाट प्रत्यक्ष निर्वाचित भइसकेपछि कसरी उनीहरुको हक अधिकार सहज र सुलभ रुपमा पु¥याउने तर्फ हुनु पर्छ, गाउँ, टोल, छिमेक र देश विकासमा उनीहरुको ध्यान जानु पर्छ । मतपरिणाम अघि मुसो झै दुलोमा लुकेको व्यक्ति जनताबाट निर्वाचित भइसकेपछि कुनै विश्व युद्ध जिते झैं होहल्ला साथ गुण्डागर्दी तरिकाले बाटोघाटोमा विजय जुलुस निकाल्नु कत्तिको जायज हो ?

यो हाम्रो प्रश्न सम्पूर्ण ती निर्वाचित जनप्रतिनिधिसँग हुनु पर्दछ । निर्वाचनको स्पष्ट परिभाषा हार वा जितको नभै जनमतको कदरका लागि प्रदान गरिएको विशेष अधिकार हो । हार र जितका रुपमा निर्वाचनलाई लिइयो भने यसले पहिचान गर्न नसकिने दुर्घटना निम्त्याउन सक्छ । (पत्रकार पौडेल, उच्च शिक्षा प्राध्यापन पनि गर्छन्)

प्रतिक्रिया

प्रतिक्रिया