छाताको छायाँमा गठबन्धनको विजयोल्लास

‘आउटगोइङ’ प्रति निशाना, निर्वाचनका रणनीतिक भाषा

झलक गैरे

‘राजा महाराजा शैलीमा भारतीय अश्लील गीतमा निकालिएको जीतको रैली पनि देखियो,’ शनिवार बिहान नेपालगन्जमा स्थानीय तह निर्वाचनमा नेपालगन्जबाट निर्वाचित गठबन्धनका उम्मेदवारहरूको विजयोल्लास पछि नेपालगन्जका युवा खेम खत्रीले सार्वजनिक प्रतिक्रिया दिंदै भने । नवनिर्वाचित नगर प्रमुख प्रशान्त विष्टका निकट साथी रहेका खत्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालगन्जमावासीका दुःखका दिन शुरू, दोस्तीयारी पक्का राजनीति आफ्नो आफ्नो !’

नेपालगन्ज उपमहानगरपालिकामा अत्यधिक मतभारले नगर प्रमुखसहित गठबन्धनभित्रका काँग्रेस, जसपा, माओवादीले सुविधाजनक बहुमत लिएर कार्यपालिका सम्हाल्ने अवसर पाएका छन् । त्यसको विजयोल्लास भने विवादित बनेको छ । अभिव्यक्ति र अव्यवस्थित र्यालीमा बजाइएका अश्लील डिजेका कारण विजयोल्लासबारे टिप्पणी गरिएका हुन् ।

बैशाख ३० को मतदानबाट लोकप्रिय मतसहित नगर प्रमुखमा प्रशान्त विष्ट निर्वाचित भए । तर, उनको पार्टी नेपाली काँग्रेसले कार्यपालिका बहुमत पाउन सकेन । अघिल्लो कार्यपालिकामा उमप्रमुखसहित आठ वडाध्यक्ष लिएर उपमहानगरपालिका पसेकी उमा थापामगर बाहिरिंदा काँग्रेस नगरप्रमुख र पाँच वडाध्यक्षमा समेटिएको छ ।

यसपटक उप–प्रमुखसहित जसपाबाट कार्यपालिकामा नेतृत्व गरेका कमरुद्दिन राईले छ वडाध्यक्ष लिएर पहिलो पटक नेपालगन्ज उपमहानगरपालिका प्रवेशको जनादेश प्राप्त गरे । त्यसैको विजयोल्लासमा शनिवार गरिएको प्रदर्शन छाताको छायाँमा परेको छ । ‘नेपालगन्जको चर्काे गर्मीमा ९ बजे र्याली निकालिएपछि मेयर सा’बले छाता नओडेर कसरी सकुन् ?’ काँग्रेस निकट एकजना पत्रकारले प्रदर्शनकै क्रममा भने, ‘बरु माननीयको घरबाट किन विजय र्याली निकालियो, यो चाहिं बुझिनसक्नु भयो ।’

यो परिणामको नेतृत्वदायी भूमिकामा रहेका प्रतिनिधिसभा सदस्य मो. इस्तियाक राईको घरबाट गठबन्धनको र्याली निकालिएको कुरालाई राजनीति गर्नेहरूले भने राम्ररी बुझेका छन् । अझ प्रष्ट बुझ्नलाई सांसद राईको शनिवार विजयसभाको भेष, भाषण र पुष्प वृष्टि सहित ‘रथारोहण’ शैलीको मञ्चाटक अवलोकन गरे पुग्छ । जसपाको निर्वाचन चिन्ह छाता घामपानीमामात्रै होइन, सेलिब्रेसनको साधन पनि बनिरहेको छ, त्यसको छायाँमा रह्यो, नेपालगन्जको गठबन्धन । शनिवार पुनरावृत्तिमात्रै रह्यो ।

सांसद राईले विजयसभालाई आगामी निर्वाचनको प्रचारसभाका रूपमा उपयोग मात्रै गरेनन्, स्थायी विरोधीका रूपमा पछिल्लो पाँच वर्ष दुरी देखाएका ‘आउटगोइङ मेयर’ डा. धवल शम्शेर राणामाथि जमेर निशाना साँधे । विकासका योजनाको जस–अपजस लिने सवालमा राणा र राई आफ्ना कार्यकाल भरिनै भिडिरहेको दृष्टान्तको आँखी झ्याल त्रिभुवन चोकमा शनिवार देखाइएदिए राईले । किनकी यही वर्ष बाँकी दुई तहको निर्वाचन निश्चित छ, डा. राणाले सार्वजनिक रूपमै बाँके क्षेत्र नम्बर २ बाँट उम्मेदवारी घोषणाका मन्तव्य धेरै ठाउँमा व्यक्त गरिसकेका छन्, जहाँबाट राई अहिले प्रतिनिधित्व गर्छन् ।

‘मलाई लाग्छ, गौमाताको त श्राप लागेकै थियो, भेन्टिलेटर खरिद नगरेर सयौं मानिसको हत्याको आरोप पनि विगतको सरकारमा थियो, त्यसैको परिणाम स्वरूप यो नगरपालिकामा अत्याधिक मतले प्रशान्तले जिते,’ सांसद राईले भने, ‘यो सत्ता प्रतिको आक्रोश हो । भेन्टिलेटर नकिनेर मान्छे मार्ने काम गर्यौं, यो बागेश्वरी नगरीमा त्यसको आक्रोश जनताको जनमतमा देखिएको छ ।’ उनको भनाइलाई लिएर तत्कालिन नगर प्रमुख डा. राणाका राजनीतिक सल्लाहकार ऋषिराज देवकोटाले तत्कालै आपत्ति जनाएका छन्, सार्वजनिक रूपमै ।

‘सिटामोल पनि यो सरकारले घरघर पुर्याएन, यसलाई यो स्थानीय सरकारले घरघर पुर्याउने जिम्मेवारी लिनेछ,’ सांसद राईले भने, ‘कम्तिमा मानिसका मूलभूत सेवाहरू पुर्याउने जिम्मेवारी नगरपालिकाले लिनेमा पूर्ण विश्वास छ ।’

 बागेश्वरी नगरीको निर्वाचन परिणामलाई जसपा नेता राईले धार्मिक सद्भावका रूपमा चित्रण गरे । ‘जो दुर्गा पुजाको पण्डालमा मुस्लिम समुदाय गएर प्रसाद बाँढ्छन्, ग्रहण गर्छन्, मोहर्रममा हिन्दु समुदायका मानिस प्रसाद लिएर, व्यवस्थापनको जिम्मा लिन्छन्,’ राईले भने, ‘यो सद्भाव तपाईहरू पाँच बर्ष कायम राख्नुहुन्छ, मलाई विश्वास छ ।’ नेपालगन्जले सद्भावको सहरको रूपमा आफ्नो पहिचान स्थापित गरेको धारणा राख्दै सांसद राईले भने, ‘जुन भाइचाराको पहिचान स्थापित गरेको छ । यसलाई रत्तिभर पनि खस्कन दिनुहुन्न भन्ने मलाई विश्वास छ ।’

नेपालगन्जको निर्वाचन परिणाममा वडा नम्बर १८ को परिणाम बाहेक अरू सबै प्रति सांसद राईलाई सन्तोष छ । वडा नम्बर १८ मा भने राईको चलेन । अघिल्लो निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरमले दुई वडाध्यक्षसहित कार्यपालिकामा चित्त बुझाउनु परेको थियो, हालाकी त्यतिबेलाका दुबै वडा एउटा काँग्रेस र अर्काे माओवादीले खोसिदियो । तर, त्यतिबेला नगर प्रमुख बन्न नसकेका राईलाई ६ वडाध्यक्ष सहित उप–प्रमुख बनाउनुमात्रै राईको सफलता होइन, यो निर्वाचनबाट उनले ठुलो पार्टी काँग्रेसका रैथाने युवा नेता प्रशान्त विष्ट जस्ता ‘बुलेट’ डा. राणाका लागि विरोधीका रूपमा तयार गर्न सफल भए । भनिन्छ ‘विरोधीका लागि नयाँ विरोधी शक्ति तयार गर्न सक्नु राजनीतिको कला हो, जुन विरोधी आफ्ना लागि निकटम् सहयोगी जस्तै हुनेछ ।’ आसन्न निर्वाचनका लागि त राईले विष्टलाई मित्रनै बनाएका छन्, आगामी निर्वाचनहरूका लागि राणा र विष्ट भिडिरहँदा राई रमाउने वातावरण अहिलेदेखिनै तयार गर्न यो स्थानीय तह निर्वाचनका खेलाडी सफल भएका छन् ।

त्यसैले पनि विजयोल्लास छाताको छायाँमा हुनु, खत्रीले भनेजस्तो ‘राजा महाराजा शैलीमा’ हुनु नौलो थिएन । भारतीय अश्लील गीतको सवालमा भने अझबढी आक्रोश र आपत्तिका प्रतिक्रिया व्यक्त भएका छन् । ‘लौन्डिया, लन्डन थुक्क’, स्थानीय व्यवसायी पवन अग्रवालले सदरलाइनमा देखिएको दृश्यलाई लिएर गरेको सार्वजनिक प्रतिक्रियालाई स्थानीयबासी भुमण्डल श्रेष्ठले सहि मान्दै भनेका छन्, ‘राजनीतिक दल कुसंस्कार तिर ।’ श्रेष्ठ र अग्रवालले मात्रै होइन काँग्रेस नेता, नगर प्रमुखका लागि प्रशान्त विष्टसँगै दाबेदारी गरेका ललित रौनियारले भनेका छन्, ‘…. यस्ता अश्लिल गीतहरू पनि सुन्न पाइयो आजको विजय र्यालीमा जय हो गठबन्धन ।’

वास्तवमा नेपालगन्ज–१५ भन्सार गेटबाट सुरु भएको विजय र्यालीमा राजनीतिक छनक थिएन । कार्यकर्ताहरूले बोकेको झण्डाले बाहेक माओवादीको चुनावी गीतले मात्रै विजय र्यालीको विम्व दिन खोजेको थियो । सँगै काँग्रेस कार्यकर्ताले रुख, बिरुवाको हाँगा हातमा लिएर रमाइरहेका थिए । अश्लिल गीत संगित सहित निकालिको र्याली नगरका विभिन्न ठाउँ पुगेर त्रिभुवन चोकमा विजय सभा गरिएको थियो । सभामा नवनिर्वाचित मेयर विष्ट र उपमेयर राईले प्रतिबद्धता अनुसार आफुहरू अगाडि बढ्ने प्रतिबद्धता जनाए । काँग्रेस नेता सुदिप नरसिंह राणाले बोलेको कार्यक्रमको सहजीकरण काँग्रेस जिल्ला सचिव सुधांशु कोइरालाले गरेका थिए । र्यालीमा प्रदेश वनमन्त्री सुरेन्द्र हमाल पनि सहभागी थिए ।

‘केही व्यवस्थित हुन नसकेको हो’, र्यालीलाई लिएर गरिएका सार्वजनिक टिप्पणी बारे दैनिक नेपालगन्जको प्रश्नमा काँग्रेस बाँकेका सचिव कोइरालाले भने, ‘यसको जिम्मेवारी गठबन्धनको नेतृत्वको हैसियतले हामीले लिनै पर्दछ ।’ उनले र्याली राईको घरबाट नभई नेपालगन्ज–१५ बाट निकालिएको जानकारी दिंदै भने, ‘अश्लिल गीत औपचारिक कार्यक्रम सकिएपछिको हुनसक्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया