महिलाहरुले पनि राजनीति गर्न सक्छन् । अवसरका साथै काम गर्ने वातावरण दिनुपर्छ । महिलाहरुलाई राजनीतिमा निर्णायक भुमिका सहितको अवसर र वातावरण दिइयो भने पुरुष सरह जिम्मेवारी निर्वाह गरी समाज र देशमा योगदान पुर्याउन सक्छन् ।
हामी एक यस्ती महिलाको बारेमा चर्चा गर्नेछौं जो सम्पूर्ण महिलाका लागि उदाहरण नै हुन् । उनी स्वेच्छाले समाजमा योगदान पुर्याउने उद्देश्यले १३ वर्ष भयो २०६६ वर्ष देखि स्वयंसेविका भएर सेवा दिदैँ आइरहेकी छिन् । उनी स्वंसेविका हुने बेला त्यति राम्रो सेवासुविधा र तलब भत्ता थिएन । तर पनि निकै सानो रकम लिएर सेवा गरिन् ।
सुरुआतमा उनलाई सहज भएन समाजमा परम्परागत सोंच पुरानो मुल्य मान्यता रहेकोले स्वास्थ्य क्षेत्रका खोप सेवा दिन जाँदा गाह्रै हुने गरि हप्काउने, हेप्ने र सहभागिता नै नजनाइदिने गर्थ्यो । तर अहिले धेरै सुधार भएको छ समाज केही हदसम्म सचेत भइसकेको छ ।
उनी निरन्तर २०६६ साल देखि स्वास्थ्य सेवामा योगदान पुर्याउदैँ आइरहेकी छिन् । उनको पति जाफर हुसैन अंसारीको २०७८ साल माघ ८ गते शनिबारको दिन एक्कासी छाती दुख्दा अस्पताल लग्ने क्रममा मृत्यु भयो । उनी हाल चार महिना देखि मुस्लिम समुदायको मुल्यमान्यता र इस्लामी शरीयतको आदेश अनुसार, परम्परागत संस्कार ‘इद्दत’मा घरभित्र बसिरहेकी छिन् । भोट माग्न घरदैलोमा पनि गइनन् तर पनि समुदायले उनको र उनको पतिको कार्यको मुल्यांकन गरी भोट दिएको छ । उनी हुन् वडा नं. ३ बाट निर्वाचित महिला कमरुनिशा अंसारी ।
जहाँ दिनरात भोट माग्नेहरु पराजित भए त्यही यसरी भोटै नमागेर पनि निर्वाचित हुने कमरुनिशासंग दैनिक नेपालगन्जले कुराकानी गरेको छ ।
बधाई छ कमरुनिशाजी स्थानीय निर्वाचन नेपालगन्ज वडा नं. ३ को महिला सदस्यमा निर्वाचित हुनु भएकोमा ।
धन्यवाद हजुर । यो मेरो मात्र होइन् मेरो सम्पूर्ण टोलबासीकै जीत हो । म सम्पूर्ण टोलबासीलाई धन्यवाद दिन चाहन्छु मलाई आफ्नो अमुल्य मत दिएर निर्वाचित गराउनु हुने सबैलाई ।
अनि तपाई राजनीतिमा लागेको कति समय भयो ?
आधिकारिक रुपमा भन्दाखेरि यही चुनावको उम्मेदवारी दिने बेला देखि हो राजनीतिमा लागेकी । तर सकृय रुपमा राजनीति बुझ्ने मौका पाएकी त मैले पाँच वर्ष अगाडि देखि नै हो ।
पाँच अगाडि नै राजनीति बुझ्ने मौका कसरी पाउनुभयो र मौका पाएर पनि राजनीतिमा आबद्ध नहुने कारण चाहिँ के त ?
पाँच वर्ष अघि संघीयता पश्चातको पहिलो स्थानीय चुनावमा मेरो पति स्वर्गीय जाफर हुसैन अंसारी नेपालगन्ज वडा नं. ३ बाट माओवादी केन्द्र पार्टीबाट पूरै प्यानल सहित सदस्य पदमा निर्वाचित हुनु भएको थियो । उहाँले राजनीति विषयमा कुराकानी गरिरहँदा आफ्नो ऐच्छिक र सीधा सरोकार नरहेपनि उनका राजनितिक कुरा विचारमन्थन ध्यानपूर्वक सुन्थेँ र बुझ्ने प्रयास गर्थँे ।
उहाँले मैले १३ वर्ष देखि गर्दै आइरहेको काम गर्नबाट कहिले रोकटोक पनि गर्नु भएन । तर कहिलेकाहीं जिस्काउदैँ भन्ने गर्नुहुन्थ्यो कि अब तिमी पनि राजनीतिसंग आबद्ध भइहाल । तर चार महिना अघि २०७८ साल माघ ८ गते शनिबारको दिन एक्कासी छाती दुख्दा अस्पताल लग्ने क्रममा मृत्यु भयो । उहाँले भनेजस्तै भयो, म राजनीतिमा आएँ ।
उसो भए तपाई त इस्लामको मुल्यमान्यता अनुसार इद्दतमा (बाहिर ननिस्किने गरी ) बस्नु भएको छ होला?
हजुर इस्लामको मुल्यमान्यता अनुसार पतिको मृत्यु पश्चात पत्नीले चार महिना दश दिन इद्दतमा बस्नुपर्छ । त्यस कारण म पनि उहाँको स्वर्गवास भएपछि देखि घरभित्र इद्दतमा बसिरहेकी छु । इद्दतमा बस्दा बाहिर निस्केर वा घरभित्र पनि कुनै पनि परपुरुषसंग भेट्ने अनुमति हँुँदैन । चाहे त्यो साथीभाई नातादार किन नहोस् । म पनि घरभित्रै बस्दै आइरहेकी छु चार महिना हुन लागेको छ ।
उसो भए उम्मेदवारी कसरी र किन दिनुभयो ?
म त पतिको मृत्यु शोकले विक्षिप्त थिएँं अचानक पतिको मृत्यु हुनाले मलाई केही होस–चेत नै थिएन । अब मैले के गरुँला कसरी गरुँला भनी चिन्ता मात्र थियो । तर मेरो छोराछोरी मेरा छिमेकी र खास गरी मेरो प्यानलबाट वडा अध्यक्ष पदका उम्मेदवार नफीस अंसारी लगायतले हौसला दिए आश्वासन दिए मेरो ढाडस दिए । अनि मैले पनि आँंट गरेँ कि इद्दत पुरा हुन केही दिन मात्र बाकी छ । इद्दत सकेपछि त घर चलाउन बालबच्चाको पालन पोषण गर्न मैले केही त गर्नु नै पर्ने हुन्छ सो धेरै सोंचविचार गरी मैले उम्मेदवारी दिएँ र निर्वाचित पनि भएँ ।
तपाई त इद्दतमा बसेकी हुनाले भोट माग्न घरदैलो पनि जानु भएन तर पनि वडाबासीले भोट दिए किन ?
यो मेरो १३ वर्ष सम्म बिना भेदभाव निस्वार्थ भावले गरेको समाज सेवाको प्रतिफल हो । जुनकि टोलबासीहरुले मलाई आफ्नो भोटको रुपमा दिएका छन् । अनि यसको साथै मेरो पतिले पाँच वर्ष सम्म वडा सदस्यमा निर्वाचित भएर आएदेखि टोल र टोलबासीको विकास र समस्या पर्दा दिनरात, कोरोना, लकडाउन नभनिकन गरेको काम र सहयोग गरेकोमा उनले गरेका कामप्रतिको लोकप्रियता र विश्वासको नतिजा हो । जुन मैले घरभित्र इद्दतमा बसेर प्राप्त गरेकी छु ।
तपाई आफ्नो आदर्श र मार्गदर्शक कसलाई मान्नु हुन्छ ?
पहिलो आदर्श र मार्गदर्शक त मेरो पति । उहाँले नै मलाई राजनीति के हो भनी बुझाउनुभयो । मेरो पहिलो मार्गदर्शक पनि पति नै हुनुहुन्छ । यसका साथै मेरो शुभचिन्तकमा नफीस अंसारी र मेरा छोराछोरीहरुले पनि अगाडि बढ्न निकै साथ र सहयोग गरेका छन् । आफ्नो पतिको पथप्रदर्शक भएर नै म आफ्नो टोल र टोलबासीको लागि मेरो दायित्व निर्वाह गर्न सदा तत्पर रहनेछु ।
निर्वाचित भएपछि जनप्रतिनिधिका रुपमा तपाईका प्राथमिकताहरु ?
म आफु स्वास्थ्य क्षेत्रमा काम गरेको अनुभवका आधारमा सरसफाई सब भन्दा जरूरी रहेकोले वडाको सरसफाईमा बढी ध्यान दिनेछु । आफ्नो वडालाई सफा स्वच्छ बनाउनु मेरो पहिलो प्राथमिकता रहनेछ । साथै आफु महिला भएको नाताले बालिकाहरुलाई उच्च शिक्षा दिलाउनु पर्छ भनी अभियान नै संचालन गर्नेछु । वडाका महिलाहरुको सशक्तीकरण, सचेतना अभिवृद्धि, स्वरोजगार बनाउन सीपमुलक तालिम, आर्थिक रुप आत्मनिर्भर बनाउने खालका योजना तर्जुमा गरी बजेट छुट्याउन पहल गर्नेछु ।
राजनीतिमा आउन सहज वातावरण थियो र ?
म जस्ता एकल महिला जसको भर्खर पति बितेको होस् त्यति सजिलो चाहिँ छैन । आफ्नै टोलका फरक पार्टीका व्यक्तिहरुले भर्खरै पति बितेको छ तर पनि राजनीति गर्न थालिछ । अब त नेताइनी भइछे जस्ता नानाथरी कुरा गरे । तथापि मैले यी कुराहरुलाई नजरअन्दाज गरी आफ्नो लक्ष्य र पतिको सपना पुरा गर्नुपर्छ भन्ने कुरालाई महत्व दिएर राजनीतिमा अगाडि बढेकी छु र आशा छ सफल पनि हुनेछु ।
अन्तमा केही भन्नु हुन्छकी ?
म सबैलाई यही भन्न चाहन्छु कि महिलाहरुले पनि राजनीति गर्न सक्छिन् । उनीहरुलाई अवसर दिनुपर्छ । अवसरका साथै काम गर्ने वातावरण पनि दिनुपर्छ । यदि महिलाहरुलाई राजनीतिमा निर्णायक भुमिका सहितको अवसर र वातावरण दिइयो भने महिलाहरुले पनि पुरुष सरह जिम्मेवारी निर्वाह गरी समाज र देशमा योगदान पुर्याउन सक्छिन् । सो महिलाहरुलाई भुमिका, अवसर र वातावरण दिनुस् ।