नेपालगन्जमा अत्यधिक मतान्तर सहित नेपाली काँग्रेसका प्रशान्त विष्ट नगर प्रमुख र जनता समाजवादी पार्टीका कमरुद्दिन राई उप–प्रमुख निर्वाचित
नेपालगन्जका मतदाताले अत्यधिक मतसहित प्रशान्त विष्टलाई नगर प्रमुख (मेयर) चुनेका छन् । नेपालगन्जका २३ वडामध्ये ५ वडाध्यक्षसहित नेपाली काँग्रेसका नगर सभापति विष्टलाई २३ हजार ४ सय ६० मत दिएर मेयर चुनेका हुन् ।
प्रजातन्त्र पुनःस्थापनासँगै २०४८ सालमा नगर प्रमुख निर्वाचित विजयकुमार गुप्तापछि काँग्रेसबाट मेयर बन्ने विष्ट दोस्रो हुन् । गुप्तापछि नेकपा एमालेबाट निर्वाचित डा. धवल शम्शेर राणा, त्यसको २० वर्षपछि २०७४ मा उनै राप्रपाबाट नेपालगन्जको मेयर पद सम्हाल्न पुगे ।
स्थानीय तह निर्वाचन– २०७९ मा विष्ट सत्ता गठबन्धनका तर्फबाट मेयर उम्मेदवार हुन् । शुक्रवार बिहानै विजयी घोषित उनलाई मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले नेपालगन्जको मेयर निर्वाचित भएको प्रमाणपत्र प्रदान गरे ।
उपमहानगरपालिमा गठबन्धनबाट प्रमुख पदमा उम्मेदवारी दिएका प्रशान्त विष्ट निर्वाचित हुँदा एमालेबाट प्रमुख पदका उम्मेदवार पशुपति दयाल मिश्र भन्दा ११ हजार ६ सय ७५ मत प्राप्त गरे । राप्रपा उम्मेदवार नन्दलाल वैश्यको मत ७ हजार ५ सय ९८ रहेको छ ।
सत्ता गठबन्धनबाटै उपप्रमुख (उपमेयर)मा जसपाका कमरुद्दिन राई ६ वडाध्यक्षसहित १७ हजार ९ सय ५० मत ल्याएर निर्वाचित भएका छन् । एमाले उम्मेदवार शान्ति ढकालले १० हजार ९ सय १५ मत प्राप्त गरेकी छन् । राप्रपा उम्मेदवार बिन्दु चर्तिमगरले १० हजार १ सय ३५ मत प्राप्त गरिन् । जसपाले यसपटक सर्वाधिक ६ वडाध्यक्षसहित उपमेयर पद लिन सफल भयो । एमालेले ५, माओवादीले ४ र राप्रपाले ३ वटा वडामा जित हात पारेका छन् ।
गठबन्धनको शक्तिमा निर्वाचित नयाँ मेयरको कुर्ची भने कुशलताको कसीमा परेको छ । अघिल्लो पटक पराजय भोगेपछि पाँच वर्षसम्म मेयरको तयारी र लगानी गरेका जसपाका राई आफ्नै प्रतिबद्धतासहित निर्वाचनमा होमिए र ६ वडासहित निर्वाचित भएका छन् । आफ्ना चुनावी संकल्प र जसपाको प्रतिवद्धता स्वामित्व लिनैपर्ने बाध्यतामा रहेका विष्टसँग कार्यान्वयन अनुभव त आर्जन गर्नुछनै, दोहोरिएर चुनिएका अनुभवी वडाध्यक्षहरुसहितका एमाले, माओवादी र राप्रपाको रणनीतिक प्रहारसँगै चुनौतीका चाङबाट कार्यकाल सफल बनाउन आवश्यक कुशलताको कसीमा जिम्मेवारी आइपरेको छ ।
अत्यधिक जनमतसहित प्रशान्त विष्ट नेपालगन्ज नगर प्रमुखमा निर्वाचित भएका छन् ।
प्रशान्तको राजनीतिक यात्रा
बुवा सरकारी जागिरे हुनुको लाभ प्रशान्तको लालन पालन र शिक्षा–दिक्षामा पनि पर्यो । उनले राम्रो शिक्षा लिने अवसर पाए । २०३५ सालमा जन्मिएका विष्टले जयबागेश्वरीमा कक्षा पाँचसम्म अध्ययन गरे । त्यसपछि महेन्द्र माविमा अध्ययन गरेर २०५१ सालमा एसएलसी दिएका प्रशान्तले द्वितिय श्रेणीमा उत्तीर्ण गरे ।
उनको भनाइमा, प्रशान्तको राजनीतिमा प्रवेश उनको परिवारले नचाहँदा नचाहँदै भएको हो । हुन त उनको परिवार राजनीतिबाट पूरै अछुतो पनि थिएन । सुशिल कोइरालाका ठूल्दाई प्रमोद कोइराला र विष्टका हजुरबुवा बीच मितको नाता थियो । कोइराला नेपालगन्ज रहँदा विष्टको घरमाआउने जाने गरिरहन्थे । तर, सक्रिय राजनीति पनि उनको परिवारबाट कसैले गरिरहेको थिएन ।
महेन्द्र माविमा हुँदा नै उनी नेवि संघको विद्यालय इकाई सचिव बनाइएका थिए । तर, त्यस प्रति उनको त्यति चासो थिएन । २०५४ सालमा महेन्द्र बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा उनले प्रविणता प्रमाणपत्र उर्तीण गरे । २०५५ सालमा उनले व्यवस्थापन संकायमै स्नातक तह अध्ययन सुरु गरे ।
त्यति बेला क्याम्पसमा विद्यार्थी युनियन चुनावको चर्चा थियो । उनले नेपाल बिद्यार्थी संघ नै रोजे । तर, नेपालगन्ज नै घर भएका भन्दा त्यतिबेला बाहिरबाट आएका विद्यार्थीहरुको राजनीतिमा दबदबा हुन्थ्यो । नेविसंघबाट नेपालगन्जको स्थानीय वासीको युनियनमा प्रतिनिधित्व गराउने क्रममा प्रशान्तले सहसचिवको चुनाव लडे । ‘रहरमा चुनाव लडेको हुँ, अन्तिम समयमा मात्रै उम्मेदवारी दिएँ, तर जीवनको पहिलो चुनाव हारियो,’ विष्टले भनेका छन् ।
चुनाव हारेपनि उनमा राजनीतिको नशा झन् बढ्न थाल्यो । त्यसपछि बुवाले प्रशान्तलाई भने, ‘पढाई भन्दा बढी राजनीतिमा ध्यान दिन्छस्, चुनावपनि हार्छस्, अब काठामाडौं जा ।’ त्यसपछि विष्ट पुगे काठमाडौको शंकरदेव क्याम्पसमा । स्नातक तह दोस्रोे वर्ष उनले शंकरदेव क्याम्पसमा अध्ययन गरे ।
शंकरदेव क्याम्पसमा पुगेपछि कांग्रेसका अहिलको सहमहामन्त्री किशोरसिंह राठौरले त्यहाँको युनियनको चुनावमा पनि सदस्य लड्न भने । राजनीति छुट्ला भन्ने आशामा काठमाडौँ गएको छोरो फेरि राजनीतिमा लाग्न थालेको थाहा पाएपछि बुवाले उनलाई नेपालगन्ज नै बोलाए र पुनः स्नातक तह तेस्रो वर्षबाट महेन्द्रमै अध्ययन सुरु गरे ।
२०५९ सालमा भने अनेरास्ववियु र नेविसंघको गठबन्धन गरेर चुनाव लडेपछि उनी स्ववियु उपसभापतिमा निर्वाचित भए । त्यसपछि विष्टको राजनीतिक यात्रामा असफलता कहिल्यै हात लागेन । २०६१ सालमा उनी पुनः उनी स्वतन्त्र विद्यार्थी युनियनमा नेविसंघबाट उपसभापतिको उम्मेदवार बनेर विजयी हासिल गरे ।
२०६३ सालदेखि लगातार ४ वर्ष नेविसंघ बाँकेको अध्यक्ष बनेका विष्टले कुशल नेतृत्व क्षमता देखाए । २०६८ सालमा उनी नेपाली काँग्रेसको नेपालगन्ज नगर सभापति पदमा निर्वाचित भए । त्यसपछि २०७३ सालमा उपमहानगरपालिका भएपश्चात् सर्वसम्मत नेपालगन्ज उपमहानगरपालिका नगर सभापतिमा दोहोरिए । २०७८ मा काँग्रेसको १४ औं महाधिवेशनबाट पुनः उनी नेपालगन्ज नगर सभापतिमा निर्वाचित भएर ह्याट्रीक गरे ।
तिनै नगर सभापति विष्ट पहिलोपटक जनप्रतिनिधिका रुपमा नेपालगन्जका नगर प्रमुख अर्थात् मेयर चुनिएका हुन् । पार्टीबाट उम्मेदवारका १३ जना दावेदारलाई उछिनेर टिकट लिन सफल विष्टले नेपालगन्जबासीको मन पनि त्यसरीनै जित्न सफल भएका हुन् ।