जानकी र बैजनाथमा हार्यो एमाले, जित्यो काँग्रेसले

बाँकेको जानकी गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार प्रमुख र उपप्रमुखमा विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा छब्बन खाँ र उपाध्यक्षमा रामप्यारी यादव निर्वाचित भएका हुन् । खाँले नेकपा एमालेका हिमान्सु यादवलाई १८५८ मतको अन्तरले पराजित गरे ।
कांग्रेसका खाँले ६६५३ मत सहित विजय प्राप्त गरे । यस्तै एमालेका यादवले ४७९५ मत प्राप्त गरेका छन् । अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का राजिवकुमार कुर्मीले २९३८ मत प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्षमा रामप्यारीले नेकपा एमालेकी भुमिसरा धिताललाई दोब्बर बढी ३४५३ मतको अन्तरले पराजित गरिन् । रामप्यारीले ६९०९ मत प्राप्त गर्दा धितालले ३४५६ मत प्राप्त गरेकी छन् । तेस्रो स्थानमा आएका नेकपा माओवादी केन्द्रका रक्षाराम कुर्मीले २२२९ मत प्रात गरे ।

जानकीमा कांग्रेसका ३ जना, जसपाका २ र माओवादी केन्द्रका १ जना वडाअध्यक्ष निर्वाचित भएका छन् । जसअनुसार वडा नम्बर १ मा जसपाका मोहम्मद रजा राई, वडा नम्बर २ मा माओवादी केन्द्रका चन्द्रीकाप्रसाद गुप्ता, वडा नम्बर ३ मा जसपाका राजकुमार कुर्मी, वडा नम्बर ४ मा कांग्रेसका रमेशकुमार वर्मा, वडा नम्बर ५ मा कांग्रेसकै टिकानाथ यादव र वडा नम्बर ६ मा कांग्रेसका जगदिशप्रसाद हरिजन निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

२०७४ को निर्वाचनमा उक्त गाउँपालिकामा कांग्रेसका उम्मेदवार झिनो मतले पराजित भएका थिए । अध्यक्षमा पराजित भएका खाँलाई कांग्रेसले यसपटक पुनः उम्मेदवार बनाएपछि निर्वाचित भएका हुन् । जानकीमा यसपटक एमाले ‘क्लीन स्वीप’ भएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको थियो । २०७४ सालमा एमालेले जानकी गाउँपालिकाको ३ वडामा जित हात पारेको थियो । यसपटक जानकीमा एमालेले वडामा खाता नै खोल्न सकेन ।

बैजनाथ ः प्रमुख र उपप्रमुखमा काँग्रेस विजयी
प्रमुख, उपप्रमुख सहित वडा गुमायो एमालेले

बाँकेको बैजनाथ गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसबाट प्रमुख पदका उम्मेदवार प्रकाश बहादुर शाहीले १२ हजार १ सय ८० मत प्राप्त गर्दै विजयी हुँदा एमाले उम्मेदवार घननाथ खनाले १० हजार ३ सय ८२ मत प्राप्त गरेका थिए ।


उपप्रमुखमा नेपाली काँग्रेस उम्मेदवार निर्मला रोकाय १२ हजार १ सय ५२ मत सहित विजयी भइन् । एमाले उम्मेदवार प्रेम पूर्ण योगीले १० हजार ७ सय ३३ मत प्राप्त गरिन् ।


२०७४ को स्थानीय तह निर्वाचनमा बैजनाथको प्रमुख र उपप्रमुख दुवै एमालेले जितेको थियो । अहिले प्रमुख र उपप्रमुख एमालेले गुमाएको छ ।


बैजनाथ गाउँपालिका वडा नं. १ मा एमालेका वडाध्यक्ष पदका उम्मेदवार रुप बहादुर मल्ल १ हजार ४ सय ४५ मत, वडा नं. २ मा एमाले उम्मेदवार राजु रुचाल ठकुरी १ हजार ९ सय ७८ मत, वडा नं. ३ मा काँग्रेस उम्मेदवार निखिल बैरागी १ हजार ६ सय २३ मत, वडा नं. ४ मा काँग्रेस उम्मेदवार प्रेम बहादुर शाही १ हजार ५ सय ५५ मत, वडा नं. ५ मा माओवादीका देव बहादुर रावत २ हजार ६५ मत, वडा नं. ६ मा काँग्रेसका भुपाल पुन मगर १ हजार ७ सय ९८ मत, वडा नं. ७ मा माओवादीका दिनेश कुमार थारु ७ सय ६४ मत, वडा नं. ८ मा भगन थारु २ हजार १ मत सहित विजयी भएका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले बैजनाथमा वडा नं. १, २, ३, ४, ५, ६, जितेको थियो । वडा नं. ७ र ८ काँग्रेस विजयी भएको थियो । यसपटक एमालेले बैजनाथमा प्रमुख, उपप्रमुख सहित पहिले जितेका वडाहरु समेत गुमाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया