बाँके : ६ स्थानीय तहको परिणाम, काँग्रेस हाबी

गत बैशाख ३० गते भएको स्थानीय तहको मतगणनाको परिणाम आइरहेको छ । हालसम्म बाँकेका ६ वटा स्थानीय तहको परिणाम आएको छ भने कोहलपुर र नरैनापुरको परिणाम आउन बाँकी छ ।

परिणाम आएका स्थानीय तहमा काँग्रेस नै हाबी भएको छ । सत्ता गठबन्धनले नेपालगन्ज, माओवादी काँग्रेस गठबन्धनले खजुरा, काँग्रेस एक्लैले जानकी, डुडुवा, राप्तीसोनारी र बैजनाथमा प्रमुख र उपप्रमुख जितेको छ । नेकपा एमालेले २०७४ सालको स्थानीय तह निर्वाचनमा जितेको खजुराको प्रमुख, उपप्रमुख तथा वडा, जानकीको प्रमुख, उपप्रमुख तथा वडा, बैजनाथको प्रमुख, उपप्रमुख तथा वडाहरु हारेको हो ।

हाल मतगणना भैरहेको कोहलपुरमा पनि काँग्रेसकै उम्मेदवार प्रमुख र उपप्रमुखमा अग्रता लिइरहेका छन् । नरैनापुरमा भने जसपा उम्मेदवार प्रमुख, उपप्रमुखमा अग्रता लिइरहेका छन् । ६ वटा स्थानीय तहको मतपरिणाम आउँदा २०७४ मा नेकपा एमाले जितेका तीन वटा स्थानीय तह हारिसकेको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा सत्ता गठबन्धनबाट काँग्रेस प्रमुख र उपप्रमुखमा जसपाका उम्मेदवार विजयी भएका छन् । नेपालगन्जमा २०७४ को स्थानीय तह निर्वाचनमा प्रमुखमा राप्रपा र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको थियो । २३ वडा रहेको नेपालगन्जमा जसपाले ६, काँग्रेसले ५, एमालेले ५, माओवादीले ४ र राप्रपाले ३ वटा वडा जितेको छ । वडामा भने गठबन्धन रहेको थिएन ।

खजुरा गाउँपालिकामा माओवादी, काँग्रेस गठबन्धन विजयी भएको छ । खजुरामा गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका उम्मेदवार डम्बर विक तुफान र उपप्रमुखमा काँग्रेस उम्मेदवार मञ्जु मल्ल विजयी भइन् । २०७४ को स्थानीय तह निर्वाचनमा खजुरामा प्रमुख र उपप्रमुख एमालेले जितेको थियो । यसपटक एमालेले खजुराको वडा नं. ३ जिते पनि अन्य वडा सहित प्रमुख र उपप्रमुख समेत गुमायो । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले खजुरामा ५ वटा वडा जितेको थियो । खजुरामा एमाले बलियो रहेको वडामा काँग्रेस र माओवादीको गठबन्धन थियो भने अन्यमा आ–आफ्ना उम्मेदवार उतारेका थिए ।

बाँकेको डुडुवा गाउँपालिकामा पनि नेपाली काँग्रेस नै प्रमुख, उपप्रमुखमा विजयी भएका छन् । २०७४ कै उम्मेदवार डुडुवाको प्रमुख, उपप्रमुखमा दोहोर्याएको काँग्रेसले सफलता हात पारेको हो । डुडुवामा काँग्रेसले १ वडा गुमाएको छ भने एमालेले १ वडा थप गरेको छ, २०७४ को स्थानीय तह निर्वाचन भन्दा ।

बैजनाथमा काँग्रेस नै प्रमुख, उपप्रमुखमा विजयी भएको छ । त्यहाँ पनि एमालेले २०७४ मा जितेका वडा गुमाएको छ । राप्तीसोनारीमा पनि काँग्रेस नै प्रमुख, उपप्रमुखमा विजयी भएको छ । यद्यपि, निर्वाचित जनप्रतिनिधिको संख्या भने एमालेको बढी रहेको छ ।
जानकी गाउँपालिकामा पनि प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । २०७४ मा एमाले त्यहाँ प्रमुख, उपप्रमुखमा विजयी भएको थियो । जानकीमा एमालेले वडा समेत गुमाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया