नेपालगन्जमा भोलि मतगणना, अन्य पालिकामा पनि सुरु भएन

बाँकेका कुनै पनि स्थानीय तहमा राती १२ बजेसम्म मतगणना सुरु हुन सकेन । विभिन्न पालिकामा सर्वदलीय बैठक जारी रहेपनि मतगणनाको निर्णय भैसकेको छैन । नेपालगन्जमा भने भोलि शनिबार विहानबाट मतगणना सुरु गरिने भएको छ ।

बाँकेमा प्रारम्भिक तथ्यांक अनुसार ६५ प्रतिशत मतदान भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले प्रारम्भिक तथ्यांक अनुसार ६५ देखि ७० प्रतिशतसम्म मत खसेको अनुमान गरे ।

‘मतपेटिका आउने र भेरीफाइ गर्ने क्रम रहेकाले कुल खसेको मत एकिन हुन केही समय लाग्छ’, शुक्रबार अबेर दैनिक नेपालगन्जसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी खत्रीले भने, ‘प्रारम्भिक तथ्यांक अनुसार ६५ देखि ७० प्रतिशत मत खसेको अनुमान छ ।’
बाँकेका स्थानीय तहमा अबेर सम्म खसेको मतसंख्या एकिन भने भैसकेको थिएन । दिउँसो कोहलपुरको पिपरी स्थित मतदान केन्द्रमा विवाद भएपछि राती अबेरसम्म मतदान भएको थियो ।

जानकी गाउँपालिकाका निर्वाचन अधिकृत बासुदेव शर्माले प्रारम्भिक तथ्यांक अनुसार ८१ प्रतिशत मत खसेको जानकारी दिएका छन् । ‘रुजु गर्ने काम भैरहेकाले खसेको मत केही तलमाथि हुनसक्छ’, उनले भने, ‘जानकीमा १८ हजार ५ सय ४३ मत खसेको प्रारम्भिक तथ्यांक रहेको छ ।’ जानकीमा ८ हजार ६ सय २३ महिला र ९ हजार ९ सय २० मतदान गरेको प्रारम्भिक तथ्यांक रहेको छ ।
बाँकेको डुडुवा गाउँपालिकामा १७ हजार ९ सय ९ मत खसेको प्रारम्भिक अनुमान रहेको छ । त्यहाँ २२ हजार २ सय ५५ मतदाता रहेका थिए ।

बाँकेको राप्तीसोनारी गाउँपालिकामा ३१ हजार ४ सय ६६ मत खसेको प्रारम्भिक अनुमान छ । त्यहाँ ४४ हजार ८ सय १२ जना मतदाता रहेका थिए ।

नेपालगन्ज उपमहानगरपालिकामा शुक्रबार अबेर रातीसम्म मतपेटिका मतगणना स्थलसम्म ल्याउने क्रम जारी थियो । बाँकेका मुख्य निर्वाचन अधिकारी खडानन्द तिवारीले नेपालगन्जको खसेको मतको तथ्यांक लिने क्रम जारी रहेको अबेर राती जानकारी दिएका थिए ।
बाँकेको खजुरामा पनि एकीन तथ्यांक नआएपछि शुक्रबार अबेर राती नै मतगणनाका विषयमा सर्वदलीय बैठक बोलाइएको थियो ।
बाँकेका निर्वाचन अधिकारीहरुले मतगणनाको पूर्व तयारी रहेपनि जनशक्ति, सर्वदलीय बैठक लगायतलाई मध्यनजर राती वा विहान गन्ने एकीन भैनसकेको समाचार तयार पार्दासम्म निर्वाचन अधिकारीहरुले बताएका थिए ।

निर्वाचन आयोगका अनुसार, बाँकेका आठ स्थानीय तहमा ३ लाख २९ हजार ४ सय ७३ जना मतदाता रहेका छन् । बाँकेका आठ स्थानीय तहमा १ सय ३६ मतदान स्थल र ३ सय ७९ मतदान केन्द्र रहेका छन् । बाँकेका १ सय ३६ मतदान केन्द्र रहेका छन् । निर्वाचन प्रयोजनका लागि ४ हजार सुरक्षाकर्मी सहित २ हजार २ सय कर्मचारी खटिएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकामा १ सय १७ पदको लागि ७ सय ७२ जना, कोहलपुर नगरपालिकामा ३ सय ९३ जना, जानकी गाउँपालिकामा अब १ सय ८२ जना, खजुरा गाउँपालिकामा अब १ सय ८७ जना, डुडुवा गाउँपालिकामा अब १ सय ७२ जना, नरैनापुर गाउँपालिकामा १ सय ८३ जना, राप्तीसोनारी गाउँपालिकामा १ सय ८७ जना, बैजनाथ गाउँपालिकामा १ सय ८४ जना उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया