बाँकेमा कहाँ हुँदैछ मतगणना ? आज रातीबाटै गणना तयारी

बाँकेमा मतगणनाका लागि तयारी सकिएको छ । बाँकेका स्थानीय तहका निर्वाचन अधिकारीहरुले मतगणना पछिका प्रक्रिया छिटो सकिएमा रातीदेखि नै मतगणनाका लागि तयारी अवस्थामा रहेको जानकारी दिएका छन् ।

‘मतदान सकिएपछि मतपेटिका मतगणना स्थल पुर्याउने, त्यसपछि विभिन्न प्रक्रिया पूरा गर्नुका साथै उम्मेदवार तथा दलसँग छलफल गरेर गणना सुरु गर्ने तयारीमा छौं, बाँकेका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिएका छन्, ‘राती सुरु भएपछि गणनाले भने अर्को दिनबाट मात्रै तिब्रता पाउने सम्भावना छ ।’

मतगणना आज राती सुरु नभए भोलि शनिबार विहानै बाटै गर्ने निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् । मतगणना स्थलमा तार जाली लगाउने, बत्तिको व्यवस्थापन गर्ने तथा सिसिक्यामेरा लगाउने, जानकारी दिन माइकको व्यवस्था गर्ने कार्य सकिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको मतगणना भेरी प्राविधिक शिक्षालयको हलमा गरिने मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिएका छन् ।

कोहलपुरमा मतगणना कोहलपुर नगरपालिकाको सभाहलमा गरिने निर्वाचन अधिकारी तिर्थराज भट्टले जानकारी दिएका छन् । ‘मतदान स्थल, मतदान केन्द्र तथा मतगणना स्थलको सबै तयारी पूरा भएको छ’, निर्वाचन अधिकारी भट्टले भने ।
खजुरा गाउँपालिकामा कपास विकास समितिको हलमा मतगणना गरिने भएको छ । त्यसका लागि सबै तयारी पूरा भैसकेको निर्वाचन अधिकारी लोक बहादुर सुनारले जानकारी दिएका छन् । ‘खजुरामा कुनै समस्या छैन, सबै कार्य सहमतिमै गरिनेछ’, उनले दैनिक नेपालगन्जसँग भने ।

बाँकेमा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश खडानन्द तिवारी र निर्वाचन अधिकृतहरु कोहलपुर नगरपालिकामा जिल्ला अदालतका श्रेस्तेदार तिर्थराज भट्ट, खजुरा गाउँपालिकामा जिल्ला समन्वय समितिका लोक बहादुर सुनार, जिल्ला न्यायाधीवक्ता बासुदेव शर्मालाई जानकी गाउँपालिका, उपन्यायाधिवक्ता नविन कुमार भट्टलाई डुडुवा गाउँपालिका, उपन्यायाधीवक्ता रेशम आचार्यलाई नरैनापुर गाउँपालिका, बैजनाथ गाउँपालिकामा उपन्यायाधीवक्ता टेक बहादुर थापा र सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीले राप्तीसोनारी गाउँपालिकामा जिम्मेवारी सम्हालेका छन् ।

जानकी गाउँपालिकाको मतगणना गाउँपालिकाको सभा हलमा गर्ने व्यवस्था गरिएको छ । ‘मगणनाका लागि आवश्यक व्यवस्थापनको काम सकिएको छ’, बासुदेव शर्माले दैनिक नेपालगन्जसँग भने ।

डुडुवा गाउँपालिकाका मतगणना बनकट्टी त्रिमावि बनाइएको निर्वाचन अधिकारी नविन कुमार भट्टले जानकारी दिएका छन् ।
नरैनापुुर गाउँपालिका मतगणना स्थल गोदाना प्रा.वि. मा विद्यालयमा बनाएको जानकारी दिंदै तयारीका कुनै कमी नरहेको निर्वाचन अधिकारी रेशम आचार्यले बताएका छन् । ‘मतदान केन्द्रहरु व्यवस्थित बनाएका छौं’, उनले दैनिक नेपालगन्जसँग भने, ‘मतगणना स्थलको पूर्वाधारको काम पनि सकेका छौं ।’

बैजनाथ गाउँपालिका मतगणना स्थल प्रभात मावि जिगाउँमा बनाइएको निर्वाचन अधिकारी टेक बहादुर थापाले जानकारी दिएका छन् ।
राप्तीसोनारी गाउँपालिकामा मतगणना स्थल राप्तीसोनारी गाउँपालिकाको अगैया स्थित प्रशासनिक भवनमा बनाएको जानकारी दिंदै निर्वाचन अधिकारी टोपेन्द्र बहादुर केसीले पूर्व तयारी राम्रो भएको बताएका छन् ।

मतदान केन्द्रमा त्रिपाल

जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशमा ठूलो झरीको सम्भावना व्यक्त नगरेपनि थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का बर्षाको सम्भावना देखाएको छ ।


बाँकेका स्थानीय तहका निर्वाचन अधिकारीहरुले बर्षा भैहालेमा मतदातालाई जोगाउनका लागि त्रिपालको व्यवस्था गरिएको जानकारी दिएका छन् । ‘बर्षा भैहालेमा असर त पर्छ नै तर पनि सम्भव भएसम्म त्रिपाल र टेन्टको व्यवस्था गरिएको छ’, उनीहरु भन्छन् ।


निर्वाचन अधिकारीहरुले केही ठाउँमा मतदान केन्द्र फराकिलो नहुँदा एकै पटक मतदाता आएमा भीड व्यवस्थापन गाह्रो हुनसक्ने अनुमान गरेर सुरक्षाकर्मीसँग समन्वय गरिरहेको बताएका छन् ।

मतदाताहरुलाई बर्षा भए अथवा चर्को घाम रहे लाइनमा बसेर मतदान गर्न भने गाह्रो पर्ने देखिन्छ । बिहीबार नेपालगन्जको अधिकतम तापक्रम ३९ डिग्री नाघेको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार, साँझ नेपालगन्जको अधिकतम तापक्रम ३६.६ र न्यूनतम तापक्रम २५.२ डिग्री सेल्सियस रहेको छ । पछिल्लो २४ घण्टामा नेपालगन्जमा ४१.६ मिलिमिटर बर्षा भएको थियो ।

मतदान केन्द्रभित्र फोटो खिच्न नपाइने
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रमा जाँदा ध्यान दिनुपर्ने पक्षबारे स्पष्ट गरेको छ ।

स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले गरेका व्यवस्थाका आधारमा आयोगले मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक एवं दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था रहेको छ । तर मादकपदार्थ सेवन गरेको व्यक्ति मतदाता भए तापनि मतदान अधिकृतबाट मतदान केन्द्रमा प्रवेश गर्न दिइने छैन ।

त्यस्तै मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएको मतदाता वा अन्य कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाइ, लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हातहतियार, नमूना मतपत्रलगायतका कागजात, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा सङ्केत जनिने कुनै वस्तु लैजान नपाइने आयोगले जानकारी दिएको छ ।

‘उपरोक्त बमोजिमका कुनै कार्य कहीँकतैबाट भएमा कानूनबमोजिम कारबाही हुने हुँदा मतदान कार्यलाई स्वच्छ, सहज र व्यवस्थित ढङ्गले सञ्चालनमा सहयोग गर्न सबै मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सबै सरोकारवालालाई आयोग हार्दिक अपिल गर्दछ,’ निर्वाचन आयोगको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया