सभ्य र सुन्दर नगर बनाउने चुनावी सफरमा छु’–प्रशान्त विष्ट

२०३५ सालमा नेपालगन्जमा जन्मिएका प्रशान्त विष्टको विद्यालय शिक्षा जय बागेश्वरी बोर्डिङ्ग स्कुलबाट शुरु भयो । महेन्द्र माविबाट २०५१ सालमा एसएलसी द्वितीय श्रेणीमा उत्तीर्ण गरे । माध्यामिक तह पढ्दै गर्दा नेविसंघको विद्यालय इकाई सचिव भए । २०५४ सालमा महेन्द्र बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा उनले प्रविणता प्रमाणपत्र पास गरे, २०५५ सालमा उनले व्यवस्थापन संकायमै स्नातक तह अध्ययन सुरु गरे । २०५९ सालमा अनेरास्ववियु र नेविसंघको गठबन्धन गरेर चुनाव लड्दा उनी स्ववियु उपसभापतिमा निर्वाचित भए । २०६१ सालमा उनी स्वतन्त्र विद्यार्थी युनियनमा नेविसंघबाट उपसभापति भए ।

२०६३ सालमा नेविसंघ बाँकेको अध्यक्ष भए । २०६८ सालमा नेपाली काँग्रेसको नेपालगन्ज नगर सभापति पदमा निर्वाचित भए । २०७३ सालमा उपमहानगरपालिका भयो विष्ट सर्बसम्मत नेपालगन्ज उपमहानगरपालिका नगर सभापतिमा भए ।
पछिल्लो पटक २०७८ मा काँग्रेसको १४ औं महाधिवेशनबाट नेपालगन्ज नगर सभापतिमा तेस्रो कार्यकालका लागी निर्वाचित भए । विद्यार्थी फाँटबाट पार्टीको मुलधारमा अघि बढेका विष्ट २०७९ को स्थानीय तहमा नेपाली कांग्रेसबाट सिफारिसमा परेका एक–से– एक भेट्रानलाई पाखा लगाउँदै १४ जनाबाट पहिलो भए । संयोग भन्ने वा विष्टको भाग्य, नेपालगन्जमै सत्ता गठबन्धनका तर्फबाट नेपालगन्ज उप महानगरपालिका प्रमुख (मेयर)को उम्मेदवार रहेका कांग्रेस युवा नेता विष्टसँग चुनाव केन्द्रत दैनिक नेपालगन्जका लागी बसन्त कुमार उपाध्यायले गरेको कुराकानीको सारसंक्षेपः

टिकट लिन लागी (चलनचल्तीको भाषामा ) कतिको सेटिङ्ग गर्नुभयो नि ?
– त्यस्तो होइन, बजारमा हल्ला र हाइपोथेसिका कुरा धेरै आए होलान । पार्टीको विधि प्रकृया छ उम्मेद्वार छनोट गर्ने त्यही प्रक्रियाबाट मलाई पार्टीले मेरो मुल्यांकन गरेर उम्मेद्वार बनाएको हो ।

नेपालगन्जलाई हेर्ने तपाईको नजर के हो ?
– म यहाँको स्थायी बासिन्दा हुँ । यहाँको भूगोल,यहाँको भेषभुषा,परम्परा,भाषा,धर्म र रितिरिवाजको म एउटा प्रतिनिधि हुँ यही भावलाई म नेपालगन्ज मान्दछु । समग्रमा म नेपालगन्जीया हुँ, हामी सबै साथ अघि बढौं भन्ने मान्यता बोकेको मान्छे हुँ ।

चुनाव जित्ने तपाईका आधार के के हुन ?
– पहिलो कुरा त म जनताको मत नै आधार मान्छु । म सबे क्षेत्रका सबै तप्काका त्यति मात्रै नभएर सबै वर्गका जनताको सहज पहुँचमा रहने ब्यक्ति हुँ । निरन्तर पार्टीको सिपाही भएर काम गरेको छु । अर्को कुरा हाम्रो गठबन्धन माथि पनि थप विश्वास छ ।

मतदाता साथमा छन कि तपाईका कार्यकर्ताहरु मात्रै साथमा दौडेका हुन् ?
–महत्वपुर्ण प्रश्न राख्नुभयो । म यति भन्छु अहिले त नेता र कार्यकर्ता नै साथमा छन् तर ३० गते मतदाताको अत्यधिक साथ मिल्दैछ ।


साँच्चि तपाईका मुख्य एजेण्डा के हुन नगर समृद्ध बनाउने ?
– ब्याख्या गर्नलाई अरु कुनै बेला गरौंला, हाम्रो ’५ बर्ष ५ संकल्प’ मा प्रष्ट लेखेका छौं । समग्रमा भन्दा म नेपालगन्जलाई सभ्य र सुन्दर नगर बनाउने चुनावी राजनीतिक सफरमा छु ।

नेपालगन्जको विकास निर्माण मुख्य लक्ष्य हो कि शहर ब्यवस्थापन के हो ?
– विकास निरन्तर अघि बढ्दै जाने पो हो । बदलिंदो संसारमा विकास आबश्यकताले थप हुँदै जाने प्रक्रिया हो । म शहर ब्यवस्थापन र शहरिकरणलाई सिस्टममा राख्ने छु ।

मेयरले त मच्छड नियन्त्रण गर्न समेत सक्दैनन् भन्ने टिप्पणीमा यहाँको भनाइ के छ ?
– घत लाग्दो प्रश्न राख्नु भयो । म वातावरणीय प्रभाव सँगै स्वच्छ वातावरणका लागी हरित शहर कार्यक्रम अघि बढाउनेछु । मच्छड नियण्त्रणमा म विज्ञहरुसँगको छलफलबाट के गर्दा उपयुक्त हुन्छ त्यो पाटोमा अबश्य निर्णय लिनेछु ।

प्रतिक्रिया

प्रतिक्रिया