के. आर. शर्मा
नेपालको नाम लिने बित्तिकै नेपालीको छाति गर्वले फुल्ने गर्दछ | किनकी वैदिक सनातन कालदेखि नै यो देश स्वतन्त्र रहेको ईतिहास हामीमाझ रहेको छ | पश्चिम नेपालका ४ जिल्लाहरू बाँके, वर्दिया, कैलाली र कंचनपुरलाई नयाँ मुलुक भनेर पनि चिनिइन्छ | यही नयाँ मुलुक भित्र पर्ने नेपालगन्ज नगर पुरानो शहर हो | राजधानी काठमाण्डौबाट करिब ६०० किलोमिटर पश्चिममा रहेको यो शहर नेपालकै प्राचीन औद्योगिक नगरको रूपमा परिचित छ | समुद्री सतहबाट १६५ मिटरको उचाईमा रहेको यो शहर ८०°१७’२४” पूर्वदेखि ८०°४८’००” पूर्वी देशान्तर र २७°३०’३६” उत्तरदेखि २८°१२’००” उत्तरी आक्षांश बिचमा रहेको छ | सन् १८६१ पछि निर्माण भएको यो शहर वि. सं. २०१७ सालमा नेपालगन्ज नगरपालिकाको नामबाट स्थापना भई २०१९ सालमा नेपालगन्ज नगरपञ्चायतको रूपमा स्थापना भएको हो | नेपाल सरकारको मिति २०७३ फागुन २७ गतेको निर्णय अनुसार २३ वटा वडामा विभक्त भई नेपालगन्ज उपमहानगर पालिकाको रूपमा खडा भएको हो | जसको क्षेत्रफल ८५.९४ वर्ग कि. मि. रहेको छ |
नेपालगन्ज उपमहानगर पालिकाको बजेटलाई हेर्दा आर्थिक वर्ष २०७८/०७९ को लागि नवौं नगरसभामा पेश गरिएको प्रस्तावित आय व्ययमा कुल आम्दानी लगभग डेढ अर्ब अर्थात् रू. १,५४,७७,११,३६२/४८ पैसा रहेको छ | यसैगरी नगरपालिकाको आफ्नै संचालन खर्च रू. २८,०९,०२,०००/- अर्थात लगभग २८ करोड रहेको छ भने विषयगत शाखाको लागि विनियोजित रकम रू. ४,८१,५०,२८०/- अर्थात लगभग ५ करोड रहेको छ |
नगरको आम्दानीको स्रोत हेर्दा दुई प्रकारको रहेको पाईन्छ | एउटा बाँडफाँड गर्न नपाइने जसमा केन्द्र र प्रदेश सरकारबाट प्राप्त शसर्त अनुदानहरू र समपुरक अनुदानहरू रहेका छन् जुन रकम रू. ६८,२३,४१,०००/- रहेको छ भने दोस्रो हो बाँडफाँड गर्न पाईने जसमा वित्तिय समानिकरण ( केन्द्र र प्रदेश सरकारको) अनि राजश्व बाँडफाँड र मालपोतका साथै आफ्नै आन्तरिक आय रू. १४,०७,००,०००/- गरि जम्मा रू. ८६,५३,७०,३६२/४८ पैसा रहेको छ |
यसरी कुल आम्दानी रू. १,५४,७७,११,३६२/४८ पैसा बाट शसर्त अनुदान, पालिका संचालन खर्च र शाखाहरूको बजेट घटाउँदा बाँकी रहने रकम रू. ५३,६३,१८,०८२/४८ पैसा अर्थात् लगभग ५४ करोड रहन्छ | यही रकमबाट पालिकाले के के गर्न सक्छ त ? पालिकाको जनसंख्या २०६८ अनुसार १,३८,९५१ थियो भने हालको तथ्यांक अझै आइपुगेको पाइएन् |
यी आँकडालाई हेर्दा करिब डेढ लाख जनसंख्यालाई आधा अर्बको बजेटले कति सुविधा प्राप्त होला ? आसन्न स्थानीय निर्वाचनमा रहेका करिब डेढ दर्जन प्रमुखका उम्मेदवारहरूले स्मार्ट सिटीको कुरा ल्याएका छन् | के यो सम्भव छ ? त्यसैले गफका पुलिन्दाको पछि नबहकिनु नै श्रेयकर छ | यति थोरै रकमले शहरलाई व्यवस्थित बनाउनु भनेको चुनौतिपूर्ण कुरा हो |
हालका नगर पिता डा. धवल शमसेर राणाको अघिल्लो कार्यकालको आधारमा पिलर खडा हुन यसपटक सकेन | नराम्रो काम खासै नभए पनि अघिल्लो कार्यकालको जस्तै राम्रा कामहरू पनि त्यति भएनन् | पालिकालाई विकाशमा अघि बढाउन खासै नसके पनि पछाडि चाहीं जान दिएनन् | त्यसैले विकाशमा अगाडि बढाउन पालिकाको आम्दानी बढाउन आवश्यक छ |
पालिकाका आम्दानीका स्रोत मुख्य तिनवटा छन् | ती हुन् केन्द्र सरकार, प्रदेश सरकार र आन्तरिक आम्दानी | माथिल्ला सरकारहरू बाट नियमित रकम बाहेक थप रकम विनियोजित गराउन ती सरकारहरूमा पहुँच पुग्नु आवश्यक हुन्छ | जुन हालका प्रमुखमा कमि देखिएकोले स्रोत बढ्न सकेन | त्यसैले अबको निर्वाचनमा यस्तो व्यक्तित्वलाई छनौट गर्न आवश्यक छ जसले नगरको आम्दानीको स्रोत करको वृद्धि धेरै नगरेरै गर्न सकोस् | यस्तो व्यक्तित्वलाई सघाउने विद्वत वर्गको पनि उत्तिकै आवश्यकता पर्दछ | यस्तो व्यक्ति दूरदृष्टीयुक्त उर्जाशिल र कठिन परिस्थितीसँग जुध्न सक्ने क्षमतावान तथा अनुभवि एवंम् कर्तव्यनिष्ठ हुन आवश्यक छ |
त्यसैले पालिकाको लागि उपयुक्त नेता छान्न सकेनौं भने नगरको विकाशमा “व्याक गियर” लाग्न सक्छ |
आन्तरिक आम्दानी बढाउन शिक्षा, स्वास्थ्य, कला-संगित तथा संस्कृति, पर्यटन प्रवर्धन, रोजगारका अवसर, कृषिलाई प्राथमिकतामा राखेर भौतिक संरचनागत विकाशलाई अगाडि बढाउन सकिन्छ | यसकालागि निम्न उपाय अवलम्वन गर्न सकिन्छ |
१) शिक्षा:- प्रत्येक वडामा हाललाई एउटा निजी विद्यालयलाई त्यहाँको ऐलानी प्रति जग्गा थोरै रकम (भाडा) मा लिजमा दिई संचालन गर्न अनुमति दिने | त्यसको सट्टामा विद्यार्थीबाट लिईने शुल्क कम गर्न लगाउने | यसले गर्दा ऐलानी जग्गाको सदुपयोग हुनुका साथै पालिकालाई केही आम्दानी पनि हुन्छ र विद्यार्थी शुल्क पनि केही कम हुन्छ | निश्चित कार्यबिधी तर्जुमा गरि सबैजसो निजी विद्यालयलाई यो सुविधा प्रदान गरि विद्यार्थी शुल्क कम गर्ने योजना बनाउने | यसरी बढेको आम्दानीबाट सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर उकास्न प्रत्येक २ वटा मा. वि. मा एकजना पर्यवेक्षक शिक्षक आधा- आधा काम गर्ने गरि व्यवस्था गर्ने | यसरी प. शि. नियुक्त गर्दा पूर्व मा. वि. द्वितिय श्रेणी या सो माथिका कुशल प्रशासकहरूलाई नियुक्त गर्ने | विद्यालयमा छात्राको भर्ना दर बढाउन उनिहरूको महिनाका ‘विशेष दिन’ मा आईपर्ने समस्याहरूकालागि हाललाई ‘छात्रा विद्यालय’ र पछि क्रमश: सबै विद्यालयमा Customised Vending Machine प्रयोग गरि प्याडको उपलब्धता प्रदान गर्न सकिन्छ |
२) स्वास्थ्य :- पालिकाले एउटा पूर्ण डिजिटलाईज्ड प्रयोगशालाको स्थापना गरि सुगर, थाइराइ लगायत अन्य रोगका परिक्षण सुलभ दरमा गर्ने | जसमा पालिकाका वासिन्दालाई लागत खर्च मै सेवा प्रवाह गर्ने र घुम्ति टोलिको व्यवस्था गरि प्रत्येक वडाका जेष्ठ नागरिकलाई महिनामा कम्तिमा एकपटक निशुल्क सेवा प्रदान गर्ने | यसैगरि पालिकाको आफ्नै फार्मेसी संचालन गर्ने | जसबाट जेष्ठ नागरिकलाई निशुल्क औषधी वितरण गर्ने र अन्य व्यक्तिहरूलाई सुलभ दरमा बिक्रि वितरण गर्ने | यी दुई कार्यबाट स्वास्थ्यमा ठुलो फड्को मारी प्रत्येक वडामा स्वास्थ्य केन्द्र व्यवस्थित तवरबाट संचालन गर्न सकिन्छ | यी कार्यले बजारको मूल्यवृध्दि र अनावश्यक मूल्य असन्तुलनलाई नियन्त्रण गर्न समेत सकिन्छ |
३) कला- साहित्य र संगित :- हाम्रा यहाँका मौलिक कला संस्कृतिको संरक्षण गर्नु पालिकाको धर्म हो | त्यसैले एउटा संग्राहलय बनाएर राख्न सकेमा र विभिन्न ठाउँमा रहेका संगित प्रशिक्षण भवनको यथोचित प्रयोग गर्न सकेमा नेपालगन्जको मौलिकता रहिरहने छ |
४) पर्यटन :- पर्यटन नै यस्तो क्षेत्र हो जसबाट विदेशी मुद्राको समेत कमाई हुन्छ | प्रत्येक वडामा कम्तिमा १ वर्ग कि. मि.को एउटा तालको निर्माण र भईरहेका ताल तलैयाहरूको संरक्षण गरि ‘वोटिंग जोन’ लगायत हरित बाटिका निर्माण गर्न सकेमा पालिकाको आम्दानी बढ्ने मात्रै नभएर नगरको तापक्रम समेत केही मात्रामा नियन्त्रण हुनुका साथै जमिन मुनिको पानीको स्रोतको समेत संरक्षण हुने छ | प्रत्येक ठूला बाटोको सकेसम्म दुवैतिर नभए कम्तिमा बिचमा भएपनि रूख बुट्यान रोपि green city को अवधारणा लागू गर्न आवश्यक देखिन्छ | सबै वडामा children park र शहरमा कम्तिमा एउटा ठूलो पार्क निर्माण गर्न सक्नु पर्छ | नगर भित्रका सबै विद्यालयहरूमा मंसिर या फागुनमा ३ दिनको “picnic holiday” को व्यवस्था लागू गरि पर्यटन प्रवर्धन गरिने कुरालाई आत्मसात गरिनु पर्दछ |
५) वातावरण संरक्षण :- प्रत्येक वडामा निर्माण भएका तालहरूको बहुउपयोगी हुनेछन् | यी तालहरूले नगरको तापक्रम नियन्त्रण गर्नुका साथै यहाँ चल्ने “लु” लाई समेत मत्थर पार्नेछन् | ‘ एक घर एक रूख’ को अवधारणा लागू गरि घर नक्शा पास गर्दा कडाईका साथ नियमन गर्न जरूरी छ | फोहोर मैलाको उचित व्यवस्थापन गरि “फोहोरबाट मोहोर” भन्ने उक्तिलाई चरितार्थ गर्नु पर्दछ | जल चक्र, वायु चक्र लगायतलाई उचित व्यवस्थापन गर्न सकेमा पालिकाको आम्दानी समेत बढ्छ |
६) वस्ती व्यवस्थापन :- सबै घरमा कम्तिमा एम्वुलेन्स पुग्न सक्ने गरि सडक संजाल बनाउनु पर्दछ | व्यवस्थित वस्ति विकाशको अवधारणा अनुसार कम्तिमा यो ५ वर्षमा २ वटा व्यवस्थित आवास क्षेत्रको विकाश गरिनु पर्दछ र क्रमैसँग बढाउँदै जानु पर्दछ |
७) रोजगारी प्रवर्धन :- निश्चित रकमको अक्षयकोष राखी युवाहरूलाई स्वरोजगारको लागि तालिम र आवश्यक परामर्श दिन रोजगार बैंकको शुरूआत गर्न सकिन्छ | माथिका कार्य सम्पन्न गर्नका लागि समेत विभिन्न रोजगारी सिर्जना हुनेछन् | यी लगायत खेलकुद, मनोरन्जनबाट समेत पालिकाले आम्दानी बढाउन सक्छ | अहिलेको परिस्थिती हेर्दा करिब आधा दर्जन मेयरका उम्मेदवार रहे ता पनि समग्र नगरको विकाशका लागि योग्य, क्षमतावान, अनुभवि र दृढसंकल्पि व्यक्तिलाई यही बैशाख ३० गते नगर पिताको रूपमा चयन गर्नु पर्दछ | यो भन्दा अगाडिका चुनावको विश्लेषण गर्दा २०-२५% मत बाहेक अरू लगभग ७५% मत दलतिरै रहेको पाईन्छ | यो मत पनि ठुला दलहरू तिरै खस्ने गरेकोले मुख्य गरेर त्रिकोणात्मक प्रतिस्पर्धा हुने निश्चित छ | ठूला दलहरूमा गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेका नेपाली काँग्रेसका प्रशान्त बिष्टको पोल्टामा पुरानो मत जोड्दा धेरै देखिन्छ जसको कारण उनि सहज विजयको नजिक छन् | तर विज्ञहरू त्यो मान्न तयार छैनन् र भन्छन अध्यावधिक मतदान वा निर्वाचन भनेकै ५ वर्षमा हुने परिवर्तित मतगणना हो | राजनीतिमा गणित जस्तो २ र २ जोडेर ४ हुने हुँदैन | यहाँ त कहिले ५ हुन्छ भने कहिले ३ पनि भैदिन्छ | त्यसकारण उनको जित सोचे जति सहज छैन् |
हालका मेयरको विरासत धान्न केही समय अगाडिसम्म माओवादी केन्द्रमा रहेका र उम्मेदवारी दर्ताको केहीदिन अघि मात्र राप्रपामा प्रवेश गरेका नन्दलाल वैश्य पनि गरुंगा उम्मेदवार हुन् | त्रिभुवन चोक तथा बजार क्षेत्रमा गतिलो प्रभाव जमाएका र डा. राणाको आशिर्वाद समेत रहेका तथा माओवादीले मेयरको दावा गरिरहे पनि गठबन्धनका कारण उसले मेयर नपाए पछि केही असन्तुष्ट मत समेत उनले पाउने अनुमान लगाउँदा उनको मत पनि राम्रै रहने छ |
त्यसैगरि अर्का वलिया उम्मेदवार हुन नेकपा ( एमाले) का पशुपति दयाल मिश्र | उनको पकड बजार क्षेत्रमा अलि कम रहेको तथा साविक हिरमिनियाको अध्यक्ष भएकोले त्यता र बजार क्षेत्र बाहिर राम्रो रहेको र आँफूसँगै एमालेमा प्रवेश गराएका हजारौंको संख्याका मतदाता नै उनका दरिला आधार हुन् | उनि पनि मंसिरमा मात्र विधिवत रूपमा एमालेमा प्रवेश गरेका हुन् | त्यती मात्र नभई दयालु स्वभावका उनि सबैलाई समभाव राख्ने हुँदा ठुलै मतभार रहने आँकल गर्नसकिन्छ |
माथि भनिएका र नेपालगन्जवासीले चाहेको विकाशको मुल फुटाई स्मार्ट सिटीको आधारशिला तयार गर्न दूरदृष्टि र क्षमताका साथै केन्द्र र प्रदेश सरकारसँग बजेट विनियोजन गराई ल्याउन सक्ने ल्याकत राख्ने नेताको आवश्यकता पर्दछ | यस्तो ओज डा. राणामा हुँदा हुँदै पनि सानो पार्टी र थोरै वडा मात्र जितेकोले तथा केन्द्र सरकारसँगको पहूँचको कमिका कारण दोस्रो कार्यकाल पहिलेको तुलनामा अब्बल हुन सकेन |
पहूँचको कुरा गर्ने हो भने गठबन्धनका उम्मेदवार बिष्टको पार्टी ठूलो र सरकारमा जाने सम्भावना रहेको र अहिले सरकार मै रहेको दल भए पनि उनको पहूँच केन्द्रका धेरै र ठूला नेताहरूसँग त्यति छैन् | राप्रपाका उम्मेदवार वैश्यको पहूँच राम्रो भए पनि उनको पार्टी सानो र सरकार मै पुग्ने नपुग्ने ठेगान नभएकोले नेपालगन्जको विकाशको काम फत्ते गर्न गरो छ | पहूँचको हिसाबले मिश्र एक उपयुक्त पात्र हुन किनकी उनको पहूँच एमालेका अध्यक्ष के. पि. शर्मा वलीसँग सिधै रहेको छ | यो पार्टी सरकारमा जाने ल्याकत राख्ने पार्टी पनि हो | सांगठनिक हिसाबले नेपाली काँग्रेश ‘क्याडर वेश’ पार्टी होईन | यसकारण पनि उनको कार्यकाल समन्यायीक हुन नसक्ने धेरैको आँकलन छ | वैश्यको स्कुलिंग केही हदसम्म ‘क्याडर वेश’ भएपनि हालको पार्टी सनातनी राजतन्त्रवादी पार्टी हो | यस्तो अवस्थामा उनि मेयर भएमा कार्यकाल धेरै अप्ठेरो परिस्थितिमा रहन सक्छ | त्यसैगरी नेपाली काँग्रेसको राजनीतिक यात्रामा रहेका मिश्र विभिन्न चरण पार गर्दै ‘क्याडर वेश’ पार्टीमा आएका छन् | एमालेको नीतिमा जितेका मेयर राणाको कालको सम्झना गर्नेहरूको झल्को मेटाउन एमालेकै नीतिमा मिश्र हुन सक्छन् |
युवाले बनाउँछ देश र हाम्रो पालिका भनेर धेरैले भन्दछन त्यसकारण पनि युवा पुस्ताका प्रशान्त बिष्ट जुन विद्यार्थी राजनीतिबाट उदाएका हुन उनि युवामाझ प्रिय छन् र धेरै युवाहरूले उनको जितको कामना गरेका छन ् | वैश्य व्यापारिक पृष्ठभूमीका नेता भएकाले उनको पक्षमा धेरै व्यापारीहरू रहेका छन् | त्यसैगरी पशुपति दयाल मिश्र पहिल्यै देखि सामाजिक कार्यमा रहेकोले समाजमा उनको राम्रो छवि रहँदा रहँदै पनि हिजोको मधेश आन्दोलनमा बेलामा पारीबाट वारी ढुङ्गा हानेको आरोप टड्कारो रूपमा उठेको छु | यसमा भने वुद्धिजीविहरूको तर्क के छ भने त्यो घट्ना त्यसबेलाको परिस्थिति जन्य घटना हो त्यो तत्कालीन आन्दोलनको परिस्थिति हो | यसकारण परिस्थिति जन्य घटनालाई सम्पूर्ण राजनीतिसँग जोडेर हेर्न हुँदैन् | मधेस आन्दोलनका बेलामा धेरै विषय थिए । तत्कालीन आन्दोलन खास पार्टीको मात्रै थिएन । तत्कालीन आन्दोलनमा संलग्न अहिले विभिन्न पार्टीमा समावेश छन् ।
नेपालगन्ज उपमहा नगरपालिका भनेको विभिधतायुक्त पालिका हो | सबैलाई मिलाएर लैजान एक कुशल संगठक र अनुभवि नेता चहिन्छ | त्यसको लागि बिष्टमा कार्यकारी पदको अनुभव स्थानीय तहमा प्रतिनिधी नहुँदा पार्टीको प्रतिनिधी भएर काम गरेको अनुभव मात्र छ | जबकी वैश्य यस मानेमा धेरै अनुभवि छन् | किनकी उनले विभिन्न संघ संस्था प्रमुख र उद्योग वाणिज्य संघको प्रमुख भएर पनि काम गरि कुशल संगठकको रूपमा अनुभव संगालेका छन् | त्यसैगरी मिश्र पनि कुशल संगठक र अनुभवि नेता हुन उनले तत्कालीन हिरमिनियाको अध्यक्ष तथा बाँके जिबिस सभापति भएर समेत कार्य सम्पादन गरिसकेका छन् |
यी कुरालाई मनन गर्दा अबको निर्वाचनमा सक्षम , सबल र उर्जावान नेतृत्व छान्न सक्नु नेपालगन्जवासीको जिम्मेवारी हो | त्यसमा हामी सबै सफल हुने छौं | (लेखक प्राध्यापक शाखा बाँकेका सचिब हुन् |)