नरैनापुरका मतदाता भन्छन्, भ्रममा पर्दैनौं, एजेन्डामा मतदान

बैशाख ३० गते स्थानीय तहको निर्वाचन छ । उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । दुई दशकपछि २०७४ सालमा निर्वाचन हुँदा नरैनापुरका विभिन्न खालका राजनीतिको प्रभाव स्थानीय तहको निर्वाचनमा परेको मतदाता बताउँछन् । ‘जनता बीच मनमुटाव सिर्जना गर्ने, एक आपसमा मनभिन्नता सिर्जना गरेर राजनीतिक लाभ लिने लगायतका विषय निर्वाचनका एजेन्डा बने’, नरैनापुरबासी भन्छन्, ‘अब अवस्था फेरिएको छ, हामीले बुझेका छौं, स्थानीय तहमा कस्ता उम्मेदवारलाई चयन गर्नुपर्छ भन्ने ।’

नरैनापुर गाउँपालिकाका मतदाता अहिले उम्मेदवार सँग उनीहरुको एजेण्डाबारे चासो राख्न थालेका छन् । सबै दलका उम्मेदवारले विभिन्न नाता लगाएर भोट माग्दा मतदाताले सोध्न थालेका छन्, ‘जितेपछि के विकास गर्नुहुन्छ ?’

‘नरैनापुर परिवर्तन चाहन्छ र परिवर्तनको एजेन्डा लिएर आउनेलाई मात्रै मतदान गर्छौ’, नरैनापुरका बासिन्दा भन्छौं, ‘क्षणिक लाभ, आग्रह, पूर्वाग्राह, नातावाद अब हेरिने छैन, जसले नरैनापुरको दीर्घकालीन विकास गर्ने एजेन्डा ल्याउँछ, उसैलाई भोट दिन्छौैं, विना एजेन्डा र प्रतिबद्धता भोट माग्न आउनेलाई हामी नकार्छौ ।’

‘गाउँका बासिन्दालाई क्षणिक लाभको प्रलोभन दिएर मत पाउँछु भन्ने सोंच कसैले राख्छ भन्ने त्यो अबको निर्वाचनमा मतदाताले गलत साबित गर्नेछन्’, नरैनापुरका रमेश गोडिया भन्छन्, ‘हामीले पाउने लाभ हामीले तिरेको करबाट हो, हामीलाई क्षणिक होइन दीर्घकालीन रुपमा लाभ पुर्याउने नेता चाहिएको छ, नरैनापुर परिवर्तन चाहन्छ ।’

नरैनापुरका आम मतदाता माझ क्षणिक लाभ आफु निकटलाई बाँढ्ने तर विकासका बजेट खर्च नै नगर्ने, पालिकामा नै नभेटिने जनप्रतिनिधिलाई पूर्ण रुपमा अस्वीकार गरिने बताउँछन् । ‘पालिकाको नेतृत्व लिएर आफु निकटलाई क्षणिक लाभ दिएर मत लिने तर दिर्घकालीन विकासका योजना नबनाउने, आएको बजेट खर्च नै नगर्नेलाई अब स्वीकार गरिनेछैन’, उनीहरु भन्छन् ।
हुनपनि नरैनापुर गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यकालमा आएको बजेट खर्च गर्न नसकेर करोडौं विकास बजेट फर्किएको छ । खर्च भएको रकम पनि नीतिगत नहुँदा हरेक बर्ष बेरुजु थपिंदै गएको छ । ‘बजेट कम भयो भनेर प्रदेश र संघीय सरकारका ढोका पुग्ने तर आएको बजेट विभिन्न बहाना बनाएर खर्च नगर्ने जनप्रतिनिधि हामीलाई चाहिएको छैन’, मतदाता भन्छन्, ‘सस्तो लोकप्रियताका लागि छरिएको बजेटले नरैनापुरका विकास हुने भन्दा अद्योगति तिर लग्छ, सुशासन धरापमा पर्छ ।’

बाबुलाल मौर्य नरैनापुरमा निर्वाचित जनप्रतिनिधिले कति काम गरे, कति बजेट फर्काए, जनताको काम कति गरे जनताले लेखाजोखा राखेको बताउँछन् । ‘विकास बजेट खर्च नगरी फ्रिज गर्ने, खर्च गर्दा कानुनी प्रक्रिया नअपनाउने प्रवृत्तिका जनप्रतिनिधिलाई अब नरैनापुरको जिम्मेवारी मतदाताले दिंदैनन्’, उनले भने, ‘जनतालाई झुक्याउन र दीर्घकालीन विकासको मागबाट मोड्न गरिने वितरणमूखि कार्यक्रमबारे मतदाता जानकार छन् ।’

‘काम नगर्ने कोही पनि नरैनापुरमा दोहोरिंदैनन्, प्रतिबद्धता सहित मत माग्न आएका उम्मेदवारले अब जनताको मत जित्छन्’, बृजलाल यादव भन्छन्, ‘समृद्ध नरैनापुरको सपना बोकेका जनप्रतिनिधिले भोट पाउँछन्, जित्छन् ।’

गिरिवर प्रसाद यादव पनि नरैनापुरबासीले परिवर्तन चाहेको बताउँछन् । उनी नेकपा एमालेले अहिले परिवर्तनको नारा दिएर एजेन्डा सहित घरदैलो गरिरहेकाले जनताको मन जितिरहेको बताउँछन् । ‘एमालेको लोकप्रियता नरैनापुरमा बढ्नुको कारण समृद्ध नरैनापुरको स्पष्ट भिजन, महिलालाई सम्मान गर्दै प्रमुख पदको उम्मेदवार बनाउनु, युवा तथा मुस्लिम उम्मेदवारहरुको सन्तुलन उम्मेदवारीमा कायम गर्नुु हो’, उनी भन्छन् ।

नरैनापुरमा जनता समाजवादी पार्टी, नेपाली काँग्रेस यसअघिको स्थानीय तहको निर्वाचन हेर्ने हो भने बलियो देखिन्छन् । तर, त्यसलाई अब कायम गर्न भने निकै कठिन पर्ने स्थानीय बताउँछन् । ‘निर्वाचन जितेर काम गरेनन्, बरु वितरणमूखि कार्यक्रम गर्दै विकास बजेट खर्चमा वेवास्ता भयो’, स्थानीय भन्छन् । वर्तमान नेतृत्वबाट असन्तुष्ट नरैनापुरबासी जनप्रतिनिधिको कामबाट जनता सन्तुष्ट नभएको र दीर्घकालीन विकास चाहेको आम मतदाता बताउँछन् । ‘स्व. नेता दिनेश चन्द्रले बनाएका योजना, तत्कालीन केपी ओली सरकारले गाउँमा बाटोघाटोका लागि दिएको बजेटबाट भएका केही काम अहिले अन्य पार्टीले आफ्नो भन्दै भजाउन खोज्दैछन्, जनताले त्यो बुझेका छन्’, मतदाता भन्छन् ।

पछिल्ला बर्ष नरैनापुरमा नेकपा एमालेले केन्द्र र जिल्लाका नेता तहका नेता समेत पठाएर नरैनापुरबासीलाई समृद्ध नरैनापुरको एजेन्डा, नरैनापुरको विकास विभिन्न मुद्दा, आवश्यकता र एमालेले नरैनापुरका लागि गर्न चाहेको काम बारे विभिन्न र्याली, सभा गरेर सम्झाएको छ । त्यसैले पनि होला नरैनापुरमा एकै पटक चार हजार बढी स्थानीयले विभिन्न पार्टी छाडेर एमाले प्रवेश गरेका थिए । ‘एमालेले जितेका अन्य स्थानीय तह भन्दा नरैनापुर धेरै पछाडि पर्यो, सही नेतृत्व नहुँदा गाउँ कसरी पछाडि पर्छ भन्ने अब जनताले बुझेका छन् र समृद्ध नरैनापुर एमालेको अभियान हो र जनता त्यसमा सहभागी छन्, साथ दिन्छन्’, नेकपा एमाले नरैनापुर गाउँपालिकाका निर्वाचन परिचालन कमिटिका संयोजक रामकुमार दीक्षित भन्छन्, ‘एमाले बोल्ने मात्रै होइन काम पनि गर्छ भनेर एमालेले जितेका अन्य पालिका पुग्दा नरैनापुरबासीले महसुस गर्नुभएको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया