नेपालगन्जमा कांग्रेसको ‘संकल्प पत्र’ : पाँच वर्ष, पाँच संकल्प

आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर नेपाली काँग्रेसले नेपालगन्ज उपमहानगरपालिकामा आफ्ना उम्मेदवारको ‘संकल्प पत्र’ सार्वजनिक गरेको छ ।


बुधबार नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौर, केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, जिल्ला सभापति नारायणप्रसाद गौडेल, प्रदेशमन्त्री सुरेन्द्र बहादुर हमाल, नेकपा (एकिकृत समाजवादी)का केन्द्रिय सदस्य अशोक कोइराला, नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहागरपालिकाका उपाध्यक्ष तारा खत्री, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष जगदिश ढकाल सहितले ‘पाँच वर्ष, पाँच संकल्प’ भन्ने मुल नाराका साथ चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।


नगर प्रमुख पदमा प्रशान्त बिष्ट, उपप्रमुख पदमा कमरुद्दीन राईलाई उम्मेदवार बनाएको गठबन्धनले काँग्रेसले तयार गरेको ‘संकल्प पत्र’लाई स्वामित्व लिएपनि समन्वय नगरिएकोप्रति असन्तुष्टि भने जनाए । ‘समन्वय गरेर बनाउन सकेको भए अझै राम्रो बनाउन सकिन्थ्यो,’ काँग्रेसबाहेक गठबन्धनका नेताहरुको भनाइ थियो । संकल्पपत्रको मस्यौदामा नेतृत्व गरिरहेका काँग्रेस नेता, वरिष्ठ पत्रकार हेमन्त कर्माचार्यले भने ‘गठबन्धनका साझेदार दलहरुसँगको समन्वयमा संकल्पपत्र तयार गरिएको बताए । ‘यी पुरा गर्न सकिने सपना हुन्,’ उनले कार्यक्रममा भने ।

हरित नगरलाई प्राथमिकतामा राखेको काँग्रेसले नेपालगन्जलाई सद्भावको शहर बनाउने भनेको छ । ‘त्यो चाहिं म र कमरुद्दिन राईले जितेपछिमात्रै सम्भव छ,’ उम्मेदवार विष्टले आफ्ना संकल्प सार्वजनिक गरेपछि भने । रिंङरोड सहितको सडक सञ्जाल र पुर्वाधार, सेवा र सुशासन तथा सामाजिक न्याय सहितको रुपान्तरणलाई संकल्पपत्रमा प्राथमिकता दिइएको छ ।


काँग्रेसले नेपालगन्जलाई शैक्षिक हवका रुपमा विकास गर्न आवश्यक सहजीकरण गर्ने र सिकाई केन्द्र स्थापना गरी विषयगत शिक्षकहरुको त्रैमासिक भेला आयोजना गर्ने भनेको छ । आधारभूत स्वास्थ्य सेवा, आयुर्वेद र वैकल्पिक चिकित्सा, मानसिक स्वास्थ्य लगायत निरोधात्मक, प्रवद्र्धधनात्मक, उपचारात्मक र पुनस्र्थापनात्मक सेवालाई एकीकृत रुपमा सञ्चालन गर्न योजना बनाउने कुरालाई पनि काँग्रेसले समेटेको छ । वित्तीय व्यवस्थापन, उद्यमशीलता र रोजगारी, सामाजिक सुरक्षा ः कोखदेखि शोकसम्म, पर्यटन, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण, फोहरमैला व्यवस्थापन तथा सरसफाई, विपद व्यवस्थापन, सामाजिक न्याय र समावेशीता, भाषा, साहित्य, कला र संस्कृति, खेलकुद र सूचना तथा सञ्चारलाई संकल्पपत्रमा समेटिएको छ ।

कृषि बीमामा साना किसानलाई ५० प्रतिशत र मझौला तथा ठुला किसानलाई ७५ प्रतिशत अनुदान दिनेमा जोड दिएको काँग्रेसले ‘उपमहानगरपालिकामा वस्तुगत तथ्यको आधारमा करको आधार मूल्यांकन तथा निर्धारण गरिने’ भनेको छ ।
पर्यटनको बिषयलाई पनि उठान गरेको संकल्प पत्रले स्थापित तथा उदियमान गन्तब्यहरुको पहिचान, सहज र सुलभ पहँुचका लागि गुणस्तरीय पुर्वाधार विकास, विस्तार र स्तरोन्नती गर्ने भनेको छ । स्थानीय ज्ञान, जैविक विविधता, सीप, वातावरणीय सेवा प्रवाहको सम्भावना आदीको पहिचान गरी सूचीकृत गर्ने कुरालाई पनि संकल्प पत्रले प्राथमिकतामा राखेको छ । ‘मेरा प्रतिबद्धता एकएक पुरा हुन्छन्,’ विष्टले भने ।


गठबन्धनबाट उपप्रमुख पदका उम्मेदवार कमरुद्धिन राईले आफुहरु विरुद्ध विपक्षीले भ्रम फैलाईरहेको खुलाए ।
कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंरले पाँच दलीय गठबन्धन अपेक्षित रुपमा सफल नभएपनि जति ठाउँमा सम्भव हुन्छ, सफल बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिए । ‘जुन ढंगले गठबन्धन हुनुपर्ने थियो, त्यो ढंगले हुन सकेन, यदी हामीले ब्यवस्थित तरिकाले गठबन्धन गर्न सकेको भए गठबन्धन दलहरुलाई बढी उपलब्धी हुने थियो, तर त्यो हुन सकेन,’ राठौरले भने, ‘हाम्रै पार्टीभित्र धेरै ब्यवस्थापन गर्न समस्या भएका कारण नेपालगन्ज उपमहानगरपालिकाको वडा तहमा गठबन्धन हुन सकेन ।’
कार्यक्रम गठबन्धनको नेपालगन्ज उपमहानगरपालिका निर्वाचन परिचालन समिति संयोजक डा. सुरेशकुमार कनोडियाको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया