फेरिए खजुराका सडक, भौतिक पूर्वाधार विकासमा फड्को

नेपालमै २० बर्ष पछि स्थानीय तहले जनप्रतिनिधि पाए । संघीय व्यवस्था अनुसार स्थानीय तहलाई बजेट र अधिकार पनि बढ्यो । २०७४ सालमा जनप्रतिनिधि निर्वाचित भएर स्थानीय तहमा पुग्दा आम नागरिकका असीमित आवश्यकता रहेका थिए । असीमित आवश्यकता र सीमित बजेट, जनप्रतिनिधिलाई माग र बजेटको सन्तुलन मिलाउन निकै कठिन भयो ।

दशकौं आफ्नो घर अगाडि कच्चि, हिलाम्मे, जलाम्मे सडक देखेका खजुराबासीले पहिलो माग नै सडक स्तोरन्नतीको गरे । गाउँपालिकाले पनि भौतिक पूर्वाधार त्यसमा पनि सडकलाई प्राथमिकतामा राख्यो । गाउँपालिका होस् वा वडा कार्यालय, धेरै बाटोहरु स्तरोन्नती भए । खजुरा गाउँपालिकाले करिब ८० किलोमिटर बाटो हालसम्म पीसीसी, कोलोपत्रे, गाभेल र स्तरोन्नती गरेको छ, केही अझै स्तरोन्नतीको प्रक्रियामा रहेका छन् ।

‘विकास भनेको सबै क्षेत्र हो, सडक, पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायत । तर, पहिलो आवश्यकता सबैले सडक नै महसुस गर्ने भएकाले पहिलो प्राथमिकता सडक स्तरोन्नतीलाई दिएका हौं’, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति भन्छन्, ‘सडक सँग अन्य क्षेत्रलाई पनि उत्तिकै महत्व दिएर अहिले योजनाहरु कार्यान्वयनमा रहेका छन् ।’

अध्यक्ष कक्षपति वडा वडामा स्वास्थ्य केन्द्र बनाउने, सञ्चालन गर्ने, शिक्षामा आवश्यकता अनुसार बजेट विनियोजन गर्ने, खेलकुदका लागि कार्यक्रमलाई सहयोग गर्ने, खेल पूर्वाधार निर्माण गर्ने लगायतका काम गरेको बताए ।

खजुरा गाउँपालिकामा १५ शैय्याको अस्पताल समेत निर्माणाधिन रहेको छ । ‘१८ करोड इष्टिमेट गरिएको भवन १२ करोडमा ठेक्का लागेको छ’, पालिकाका योजना अधिकृत दिल बहादुर पौडेलले भने, ‘अस्पतालको १ तल्ला भवन ढलान समेत भैसकेको अवस्ूथा छ ।’
शित भण्डार १० करोड लगानीमा खजुरामा निर्माणाधिन अवस्थामा रहेको छ । जसमा ७ करोड भन्दा बढी खर्च भैसकेको छ । ‘पहिलो चरणको स्टक्चर कार्य सकिएको छ, दोस्रो फेजको काम भैरहेको छ’, पालिकाका योजना अधिकृत दिल बहादुर पौडेलले भने । दोस्रो चरण सकिए लगत्तै तेस्रो चरणको काम पनि हुने उनले बताए । त्यसमा सुरक्षा गार्ड भवन, विद्युत व्यवस्थापन, बाटो निर्माण, जेनेरेटर व्यवस्था लगायतका कार्य हुनेछ ।

खजुरामा बनाइन लागेको शित भण्डार १५ सय मेट्रिक टनको हो । शित भण्डार निकै खर्चिलो हुने भएकाले निर्माण पछि खजुरा मात्रै नभएर आसपासका जिल्ला तथा पालिकाका किसानहरुलाई पनि त्यहाँबाट सेवा दिइने योजना खजुरा गाउँपालिकाका रहेको छ । ‘खजुरामा व्यवसायिक कृषिका लागि विभिन्न खालका कार्यक्रम सञ्चालित रहेकाले भण्डारणका लागि शित भण्डार पनि आवश्यक पर्नेछ’, गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले भने । खजुरामा निर्माणाधिन शित भण्डारमा प्याज बाहेकका कृषि वस्तु राख्न मिल्ने छ ।
खजुरा गाउँपालिकाका योजना अधिकृत दिल बहादुर पौडेल शित भण्डार सञ्चालन मितव्यायी र दीर्घकालीन सञ्चालनका लागि संघ, प्रदेश र पालिको लागत सहभागिता हुन सक्ने बताउँछन् । उनी विशिष्टिकृत सहकारी बनाएर शित भण्डार सञ्चालन निकै लाभदायक हुने भएकाले पालिका पनि त्यस अनुसार अघि बढ्ने योजनामा रहेको बताउँछन् ।


योजना अधिकृत पौडेल बाटोघाटो मात्रै नभई विकासले समग्र क्षेत्र ओगट्ने भएकाले पालिकाले सबै क्षेत्रलाई आवश्यकता अनुसार प्राथमिकता दिएको बताउँछन् । ‘खजुरा समृद्धि बनाएका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, आर्थिक अवस्था कमजोर भएकाको उत्थान गर्ने खालका सबै कार्यक्रमले प्राथमिकता दिइनु पर्दछ र पालिकाले दिइरहेको पनि छ’, उनले भने ।

पूर्वाधारमा योजनै योजना

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले वडा नंंं. ३ मा निर्माण भैरहेको बहुउद्देश्यीय सभाहलको कार्य ६५ प्रतिशत भन्दा बढी निर्माण सकिएको बताउँछन् । उनले निर्माणाधिन शित भण्डार सञ्चालनका लागि पी थ्रि मोडेल उचित हुने भएकाले कानुन निर्माण गरी सञ्चालनमा ल्याउने जानकारी दिएका छन् ।

अध्यक्ष कक्षपतिले खजुरा गाउँपालिका वडा नं. ४ इगाउँ नेरा मनकामनादेखि पूर्व एफगाउँ जाने बाटो अन्तिम चरणमा रहेको जानकारी दिए । त्यस्तै वडा नं. ३ बि गाउँ ९० नं. देखि १०५ नम्बर सम्मको बाटो ६५ प्रतिशत भन्दा बढी काम सकिएको अवस्था छ । धनौलीदेखि कपास विकास समिति सम्मको पाइपलाइनको कार्यले तिव्रता लिन नसकेपछि ठेक्का तोडी नयाँ प्रक्रियामा जान पालिकाले निर्णय गरिसकेको छ ।
वडा नं. ५ पारसनाथ योगीको घरदेखि अकरनाथको घरसम्मको पक्की नाली र बाटो ग्राभेल कार्य, लन्द्रीमा झलुंगे (ट्रष्ट) निर्माणको कार्य सम्मन्न भएको छ । के गाउँ ८० नं. चौक देखि ६९ नं. चोक सम्मको बाटो ७५ प्रतिशत बढी सकिएको अवस्थामा छ । त्यस्तै एनआइसी एसिया बैंकदेखि मनकामना जाने सडक नाली निर्माण र बाटो स्तरोन्नती कार्य पनि ६० प्रतिशत सकिइसकेको अवस्थामा छ । गोपाल सिंह आलेको घरदेखि लाल बहादुर रजालीको घरसम्मको बाटो स्तरउन्नती गर्ने कार्य ५० प्रतिशत बढी सकिएको अवस्थामा छ । त्यस्तै, वडा नं. १ मैटहवा स्कुलदेखि छोटी लाइन हुँदै बोर्डरसम्मको बाटो स्तरउन्नती गर्ने कार्य ८० प्रतिशत सकिएको छ । वडा नं. ३ मा १५ शैय्याको अस्पतालका लागि २ करोड २६ लाख रकम निकासा भै काम जारी रहेको अध्यक्ष कक्षपति बताउँछन् ।


ए गाउँ १० नं. देखि ५७ नं.सम्मको बाटो कालोपत्रे गर्ने कार्य ६० प्रतिशत, वडा नं. २ एलगाउँ १ नं. देखि १६ नम्बरसम्मको बाटो कालोपने गर्ने कार्य करिब सकिएको अवस्थामा छ । खजुरा गाउँपालिकाको वडा नं. ३ बि गाउँमा निर्माणाधिन प्रशासनिक भवन करिब ५० प्रतिशत कार्य सकिएको छ । हाल तेस्रो तल्ला ढलान भै थप काम अगाडि बढेको अध्यक्ष कक्षपतिले जानकारी दिनुभयो ।

गत आ.व.बाट चालु आ.व.मा सरेर आएका बाहेक १५ वटा सडक स्तरोन्नती तथा कालोपत्रको कामका लागि ठेक्का भएर अगाडि बढेको गाउँपालिकाले जानकारी दिएको छ । वडा नं. १ राधापुरको बेलडाँडा भारत सीमानादेखि उत्तर जाने बाटो कालोपत्रे, वडा नं. ३ सामुहिक आवासमा शौचालय र आवास निर्माणको थप कार्य, वडा नं. ३ खजुरा बजारको विभिन्न ठाउँको पक्कीबाटो तथा नाली निर्माण कार्य, वडा नं. ३ मा जेष्ठ नागरिकहरुका लागि खुशियाली घरमा टहरो, शौचालय निर्माण, वडा नं. ५ बसन्तपुर हुँदै एलगाउँ जोड्ने बाटो स्तरउन्नती गर्ने कार्य, उढरापुर देखि वडा नं. ६ वडा कार्यालय जाने बाटो, वडा नं. ६ मै वडा कार्यालयको अनुरोध भवन निर्माणका लागि ठेकेदारसँग सम्झौता भई काम बढी सकेको अवस्था छ ।

वडा नं. ५ को वडा कार्यादेखि औद्योगिक ग्राम जाने पुरैना सडक स्तरोन्नती, वडा नं. ४ र वडा नं. ६ को आधारभूत स्वास्थ्य केन्द्रको अधुरो भवन निर्माण र तारबार गर्ने कार्य, बाँके, बर्दिया मुल सडकदेखि सिन्दुरी गाउँ जाने बाटो स्तरोन्नती गर्ने कार्य, वडा नं. ७ वडा कार्यालयदेखि बर्गदी हुँदै मंगलपुर जाने बाटो स्तरोन्नती कार्य, वडा नं. ८ अहिरन टोलदेखि क्रान्तिपुर जाने सडक स्तरोन्नती कार्य, वडा नं. ३ क गाउँदेखि ज्ञानोदय स्कुल जोड्ने अनुरोध सडक स्तरोन्नती कार्य, वडा नं. ८ छडौडेपुरको अमर केसीको घरदेखि खले खड्काको घरसम्मको बाटो कालोपत्रे गर्ने कार्य, वडा नं. २ गौघाट ८७ नं. चोकदेखि पश्चिम बर्मेली टोल जाने बाटो स्तरोन्नती कार्यका लागि ठेक्का भएर सम्झौता भई निर्माण कार्य अगाडि बढेको अध्यक्ष कक्षपतिले जानकारी दिए ।

खजुरा गाउँपालिकाले पूर्वाधार निर्माणका लागि निर्धारित बजेट भन्दा कममा ठेक्का लाग्दा बचत हुने रकम पुनः पूर्वाधारमै खर्च गर्दै आएको छ । अध्यक्ष कक्षपतिका अनुसार, चालु आर्थिक बर्षमा स्वीकृत योजनाहरु ठेक्का भई बचत रकमबाट पुनः सोही स्थानमा भएको योजनाहरुमा थप निर्माण कार्य अगाडि बढाउन पुनः ठेक्का प्रक्रियामा लगेको बताउँछन् ।

खजुराले ठेक्कापछि बचत रकमबाट बेलडाँडा भारत सीमानादेखि उत्तर जाने बाटो कालोपत्रे, बसन्तापुर हुँदै एलगाउँ जाने बाटो स्तरोन्नती, वडा नं. ६ वडा कार्यालय जाने बाटो स्तरोन्नती, वडा नं. ५ मा सडक स्तरोन्नती लगायतका धेरै योजनाहरु अघि बढाएको छ । ‘जुन ठाउँको योजना हो त्यहाँ रकम बचत भए सोही ठाउँमा खर्च गर्नका लागि पुनः योजना बनाएर ठेक्कामा लग्ने गरेका छौं’, अध्यक्ष कक्षपतिले भने ।

प्रतिक्रिया

प्रतिक्रिया