कस्ले मार्ला खजुरामा बाजी

हाम्रो कामको मूल्यांकन हुन्छ, एमाले

जनता परिवर्तन चाहेका छन्, गठबन्धन

खजुरामा थपिएका ७ हजार ८ सय ४८ नयाँ मतदाता निर्णायक

बाँकेको खजुरा गाउँपालिकामा २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले प्रमुख, उपप्रमुख सहित ५ वटा वडामा विजयी भएको थियो । आठ वटा वडा रहेको नेकपा एमालेले वडा नं. १, २, ४, ६, ७, माओवादी केन्द्रले वडा नं. ३ र नेपाली काँग्रेसले वडा नं. ५, ८ वडामा वडाध्यक्ष जितेको थियो ।

यसपटकको स्थानीय तहमा जनताको अभिमत के होला ? एकातिर दावी र अडकलबाजी जारी छ भने अर्काेतिर आफ्ना पक्षमा मत तान्न राजनीतिक दल अनि स्थानीय तहमा उम्मेदवार बनेकाहरु अभियानमैं छन् । निकै तामझामका साथ खजुरा दलहरुका निर्वाचन केन्द्रीत प्रचारप्रसार चलिरहेका देखिन्छन् । खजुरामा सत्ता केन्द्रीत दलको गठबन्धन र नेकपा एमालेबीचको शक्ति संघर्षको रोचक खेल शुरु भएको छ, परिणाम भने बैशाख ३० गते हुने मतदानबाट निक्र्याेल निश्चित छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा प्रमुख पदका उम्मेदवार किस्मत कुमार कक्षपतिले ८ हजार ७० मत ल्याएर प्रमुख पदमा विजयी भएका थिए भने उपप्रमुख पदमा एमाले नेतृ एकमाया विक ८ हजार २ सय १४ मत ल्याएर विजयी भइन् । विजयी अध्यक्ष र उपाध्यक्ष पदमा १ सय ४४ मतको फरक थियो । प्रमुख र उपप्रमुखले एमालेका प्रतिबद्ध मत निर्वाचनमा पाएको तथ्यांकबाट देखिन्छ । दुई दशक पछि भएको निर्वाचनमा खजुरामा पार्टी प्रति विश्वास गरेर मतदान गरेको देखिन्छ ।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा प्रमुख पदमा माओवादी केन्द्रले निकट्तम प्रतिद्वन्द्वी भएर ६ हजार ८ सय ९२, नेपाली काँग्रेसले ४ हजार ९ सय ५५ मत ल्याएर तेस्रो स्थानमा चित्त बुझाएका थिए । त्यस बाहेकका प्रमुख पदका उम्मेदवारले चार सय मत कटाएका थिएनन् । अहिले उतिबेलै निकटतम प्रतिष्पर्धी भएका डम्बर बिक काँग्रेससमेतको समर्थनमा पुनः मैदानमा छन् ।

आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि नेपाली काँग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका छन् । २०७४ सालको मत हेर्ने हो भने काँग्रेस माओवादीको मत प्रमुख पदमा जोड्दा ११ हजार ८ सय ४६ हुन्छ । जुन नेकपा एमालेका प्रमुख पदका उम्मेदवारले पाएको भन्दा ३ हजार ७ सय ७६ मतले बढी हो । एमालेले युवानेता सुमन मल्ललाई अघि सारेको छ । उनी वडाध्यक्ष थिए ।

बाँकेको खजुरा गाउँपालिकामा स्थानीय तह निर्वाचन भएको २०७४ सालमा २९ हजार ४ सय १६ मतदाता रहेका थिए । जसमा २२ हजार ५ सय ८ मत खसेको थियो भने ५ सय मत पूर्ण रुपमा बदर भएको थियो । आगामी बैशाख ३० को निर्वाचनका लागि खजुरामा ७ हजार ८ सय ४८ मतदाता थपिए र कुल मतदाताको संख्या ३७ हजार २ सय ६४ पुगेको छ ।

आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि गठबन्धनका तर्फबाट जिल्लामै समझदारी भएको खजुरा हो । जहाँ माओवादी केन्द्र र नेपाली काँग्रेसले प्रमुख र उपप्रमुख पद बाँडफाँड गरेका छन् । माओवादीका तर्फबाट प्रमुख पदमा उम्मेदवारी डम्बर विक (तुफान) र उपप्रमुख पदमा काँग्रेसबाट उपप्रमुख पदमा मञ्जु मल्ल उम्मेदवार छिन् ।

नेकपा एमालेबाट प्रमुख पदमा सुमन मल्ल र उपप्रमुख पदमा ताजरुन निशा उम्मेदवारी दिएकी छन् । मल्ल वडा नं. १ का वडाध्यक्ष समेत हुन् । उनले पालिका प्रमुखमा उम्मेदवारी दिएपछि कानुन बमोजिम वडाध्यक्षबाट राजिनामा दिएका छन् । खजुरामा लोकप्रिय रहेका युवा नेता मल्लले वडाध्यक्षको जिम्मेवारीमा रहँदा वडा नं. १ मा मल्लले गरेका कामले उनलाई बलियो प्रतिस्पर्धीका रुपमा उभ्याएको देखिन्छ । गाउँमा बाटो बनाउनेदेखि कोरोनाका बेला आफ्नै खर्चमा आइसोलेसन सञ्चालन गर्नु तथा गाउँमा जनताले बोलाएका बेला तत्काल पुग्ने मल्लको बानीका कारण उनी गाउँपालिकामा लोकप्रिय छन् ।

‘खजुरामा गाउँपालिकामा हामीले गरेका काम एमालेको खजुरामा पुनः विजयी हुने बलियो आधार हो’, नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपति भन्छन्, ‘जनताले एमालेले गरेको काम महसुस गर्नुभएको छ, अपार समर्थनको प्रतिबद्धता पाएका छौं, हामी पुनः जित्नेमा ढुक्क छौं ।’ कक्षपति खजुरा गाउँपालिकाका प्रमुख पनि हुन् । सम्बद्धका अनुसार, कक्षपतिले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिका क्षेत्रमा जनताले महसुस गर्ने गरी काम गरेका छन् ।

‘जनताको घर अगाडिको बाटो बनेको छ, विपन्नले घर पाएका छन्, किसानले अनुदानमा कृषि सामाग्री, मल, बिउ पाएका छन्, गुणस्तरीय शिक्षाको प्रत्याभूति गरेका छौं, खेल पूर्वाधार बनेको छ, प्रतियोगिता आयोजना देखि सपोर्ट काम गरेका छौं, जनताले बोलेका कुरा चाहेका कुरा पूरा गरेका छौं’, अध्यक्ष कक्षपतिले एमाले पुनः जित्ने आधारबारे भने, ‘लकडाउनका बेला खाद्यान्न सुनिश्चित मात्रै गरेनौं बाँकेमा पहिलो डेडिकेटेड कोरोना विशेष अस्पताल खजुरामै सञ्चालन गर्यौं ।’ ‘स्थानीय सरकारले जनताले चाहेको, जनतालाई आवश्यक रहेको काम गर्ने हो, उनीहरुको आवश्यकता बजेटबाट सम्बोधन गर्ने हो र हामीले गरेका छौं, त्यसैले हामीले खजुराबासीको विश्वास जितेका छौं’, अध्यक्ष कक्षपतिले भने, ‘अहिले अन्य पार्टीका रहनु भएका खजुराबासीले पनि हाम्रो काम देखेर एमालेलाई नै भोट दिनुहुनेछ ।’

एमालेबाट अध्यक्ष पदका उम्मेदवार सुमन मल्ल युवा छन् । अहिले थपिएका ७ हजार ८ सय ४८ मतदाता पनि अधिकाँश युवा हुन् । पार्टी सम्बद्ध मात्र नभई अन्य पार्टीका युवा बीच पनि मल्ल लोकप्रिय छन् । मल्लको उम्मेदवारी पनि विभिन्न पार्टी छाडेर युवाहरु एमालेमा समाहित भएका छन् । एमालेले खजुरामा विजयी हुनसक्ने अर्को आधार भनेको समयमै उम्मेदवारी छनोट पनि हो । नेकपा एमाले बाँकेले अन्य पालिकाको उम्मेदवारको टुंगो लगाउनु अघि नै खजुरामा उम्मेदवार सुनिश्चित गरिसकेको थियो । मल्ल आधिकारिक घोषणा अघि देखि नै घरदैलोमा थिए । उनले अन्य पार्टीले भन्दा पहिले नै घरदैलो सुरु मात्र गरेनन् पार्टीको आफ्नो प्रतिबद्धता जनताको घरदैलोसम्म पनि पुर्याइसकेका छन् ।

एमाले र माओवादी केन्द्र अलग हुनु र त्यसपछि एमाले फुट्नुले खजुरामा कुनै असर नपार्ने नेकपा एमाले अध्यक्ष कक्षपति बताउँछन् । ‘केही साथीहरु केही समयका लागि समाजवादी तर्फ हुनुहुन्थ्यो, उहाँहरुलाई हामीले फर्काइसक्यौं, त्यतिमात्रै होइन एउटा लहर नै विभिन्न पार्टी त्यागेर नेकपा एमालेमा प्रवेश गर्ने चल्यो, पार्टीका केही साथी अलग्गिएको क्षतिपूर्ति मात्रै भएको छैन, त्यो भन्दा धेरै साथीहरु एमालेको भिजनसँग सहमत भएर पार्टीमा समाहित भैसक्नु भएको छ’, अध्यक्ष कक्षपतिले भने । हुनपनि नेकपा एकीकृत समाजवादी बन्दा जिल्ला कार्यसमितिदखि वडा तहसम्मका जिम्मेवार नेता नेकपा एमालेमै फर्किइसकेका छन् । एमालेले खजुरामा उपप्रमुखको पदमा मुस्लिम महिलालाई उम्मेदवार बनाएको छ । यसले पार्टीको समावेशितालाई ठोस रुपमा उजागर गरेको एमाले नेता बताउँछन् ।

एमालेको दावीलाई खजुरामा भैरहेको गठबन्धनको घरदैलोले त्यसलाई चिर्ने र गठबन्धनको नेतृत्व स्थापित हुनेमा नेताहरु विश्वस्त छन् । तुफान माओवादीका जिल्ला स्तरीय नेता हुन् । पार्टीमा उनको पहुँच केन्द्रसम्म रहेको छ ।

‘हामी प्रतिबद्धता लिएर जनताका माझ गैरहेका छौं’, खजुरा गाउँपालिकामा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार तुफानले दैनिक नेपालगन्जसँग भने, ‘मतदाता परिवर्तन चाहिरहेका छन्, गठबन्धनले सहजै खजुरामा आफ्नो नेतृत्व स्थापित गर्दछ ।’ जनताको सम्पूर्ण विकासको जिम्मा, कृषि, उद्योगको विकास, पूर्वाधारको विकास, शैक्षिक सुधार गर्ने लगायतका धेरै कुराको जवाफ प्रतिवद्धतापत्रमा रहेको तुफान बनाउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया