राजनीतिको रंग सहित धुमधाम ईद

मंगलबार इस्लामिक धर्मावलम्वीहरुको मुख्य पर्व ईदुल फित्र । दुई बर्षपछि पहिलो पटक नेपालगन्जमा भव्य जनसहभागितामा विपी चोक स्थित ईदगाहमा ईदको नमाज पढेर धुमधाम ईद मनाइएको छ ।

कोराना महामारीका कारण अलिनो बन्दै गएको ईद बर्ष इस्लामिक धर्मावलम्वीहरुका लागि खुलेर मनाउने अवसर बन्यो । त्यसमाथि आसन्न स्थानीय तहको निर्वाचनले राजनीतिक जोडघटाउमा लागेका उम्मेदवारहरुका लागि भोट माग्ने अवसर पनि ईद बन्न गयो ।

नेपालगन्ज मुस्लिम बहुल उपमहानगरपालिका हो । जहाँ मुस्लिम समुदायको मत निर्णायक बन्ने गर्दछ । ‘मुस्लिम समुदायले सामान्यतया संगठित भोट बैंक मानिन्छ’, राजनीतिक विश्लेषक ईदको रौनकमा सामाजिक सद्भाव र राजनीतिक स्वार्थ दुवै पूर्ति हुने भएकाले दलका नेताहरु ईदको शुभकामना ईदगाह पुगेको तर्क गर्छन् ।

हुनपनि मंगलबार विहान नै नेपालगन्जका नगर प्रमुख डा. धवल समशेर राणा आफ्ना उम्मेदवार नन्दलाल वैश्यलाई लिएर ईदगाह पुगेका थिए । सँगसँगैजसो नेकपा एमालेका केन्द्रीय सदस्य मो. हारुन र एमालेबाट नगर प्रमुख पदका उम्मेदवार पशुपति दयाल मिश्र ईदको शुभकामना साटासाट गर्दै गरेका देखिए । त्यसैको नजिकै काँग्रेसका नगर सभापति समेत रहेका गठबन्धनबाट मेयर पदका उम्मेदवार प्रशान्त विष्ट समूहमा शुभकामना आदानप्रदानमा व्यस्त थिए ।

ईदगाहमा नमाजका लागि पुगेका प्रतिनिधि सभा सदस्य मो. इस्तियाक राईसँग गला मिलाउन पशुपति दयाल मिश्र पुग्दा छुट्टै रौनक देखिन्थ्यो । विष्ट त्यही युवाहरुका सेलिब्रेटी जस्तै खाँदाले सजिए । वैश्यले मुस्लिम मतदाता रिझाउन ठाउँठाउँमा ब्यानर पोष्टर मात्रै होइन पानीको व्यवस्था पनि गरेका थिए ।

‘सेवई खान हिडेको’, गठबन्धनबाट उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राईलाई केही धार्मिक अगुवासँग रंगशाला अगाडि दैनिक नेपालगन्जले भेटेपछि गरेको जिज्ञासामा जवाफ दिंदै भने, ‘चुनाव प्रसार, प्रसार भन्दा आज ईदको शुभकामनामा व्यस्त छु ।’ राईले त्यसो भनिरहेपनि शुभकामनासँगै चुनावी चर्चाले ईदको रौनकलाई अझ बढाइदिएको समुदायकै अगुवाहरुको स्वीकारोक्ति छ ।

निर्वाचनको उत्साहसँगै ईदको रौनकमा नेपालगन्ज

प्रतिक्रिया

प्रतिक्रिया