प्रतिबद्धतासँगै खजुरामा गठबन्धन उम्मेदवारको संयुक्त प्रचार

प्रतिबद्धता सार्वजनिक गरेसँगै बाँकेको खजुरामा गठबन्धन उम्मेदवारको संयुक्त प्रचार प्रसार तिव्र पारिएको छ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले खजुराका विभिन्न वडामा प्रचार प्रसारलाई तिब्रता दिएका हुन् ।  


उक्त गठबन्धनका तर्फबाट खजुरा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओदवादी केन्द्रबाट डम्बर विक ‘तुफान’, नेपाली कांग्रेसका तर्फबाट उपाध्यक्षमा मञ्जु मल्ल उम्मेदवार छन् । निर्वाचन मिति नजिकिएसँगै गठबन्धनका उम्मेदवारको प्रचार प्रसार अगाडी बढेको हो ।  


घरदैलो अभियानमा नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता, सर्बसाधारण लगायतको उत्साहजनक सहभागिता हुने गरेको छ । घरदैलो अभियानका क्रममा गठबन्धनका उम्मेदवारले जनताका समस्या टिपोट गर्दै निर्वाचित भएपछि पुरा गर्ने प्रतिवद्धता जनाइरहेका छन् ।


खजुरा गाउँपालिकामा कांग्रेस र माओवादीबीच गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा होमिएका हुन् । खजुरा गाउँपालिकामा नेपाली कांग्रेस र माओवादीले ८ वडा मध्ये ४ वडामा गठबन्धन गरेका छन् । वडा नम्बर १ र ३ मा कांग्रेसले वडा अध्यक्ष तथा २ र ४ नम्बर वडामा माओवादी केन्द्रले वडाअध्यक्षको उम्मेदवार भागबण्डा गरेका छन् । अन्य ४ वडामा भने एकल प्रतिस्पर्धा रहेको छ ।

गठबन्धनका तर्फबाट संयुक्त निर्वाचन परिचालन कमिटी समेत गठन गरेर चुनावी गतिविधी अगाडी बढाइएको छ । जसको संयोजकमा राजकुमार बिक र सहसंयोजकमा रामजी शर्मा छन् । ।


यस्तै सदस्यमा कांग्रेस र माओबादी केन्द्रका खजुरा गाउँ कमिटि, वडा कमिटि एव भातृ संगठन र शुभेच्छुक संघका सम्पूर्ण पदाधिकारीलाई सदस्यमा राखिएको छ । यसैगरी सचिवालय संयोजकमा दीपबहादुर थापा र सह–संयोजकमा शरद पोखरेल छन् ।

यसअघि सोमवारनै, खजुरामा नेपाली कांग्रेस र नेकपा माओवादीले स्थानीय तहको निर्वाचनका लागि संयुक्त प्रतिवद्धतापत्र सार्वजनिक गरे ।
‘विकासको प्रमुख आधार, एक व्यक्ति एक रोजगार, हामी विकासको पक्षमा बोल्छौं, जे बोल्छौं, समाजका लागि गर्र्छौं’ भन्ने मूल भावनालाई आत्मसाथ गर्दै तयार पारिएको घोषणापत्रमा खजुरा गाउँपालिकाका सबै वडाका समस्याहरुको खोजी गरी ती समस्याहरुको समाधान गर्ने उद्देश्यका साथ अल्पकालीन र दीर्घकालीनरूपमा गरिने कार्ययोजनालाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।

सार्वजनिक गरिएको घोषणापत्रमा कक्षा १२ सम्म निःशुल्क शिक्षा, उच्च शिक्षामा छात्रवृत्तिदेखि लिएर खजुरामा युवाहरुका लागि स्वरोजगार कार्यक्रम, गाउँपालिकामा खरको छानोरहित सुरक्षित आवास, अधिकार सम्पन्न कृषि प्राधिकरण स्थापना गरी आधुनिक कृषि प्रणालीमा जोड दिने उल्लेख गरिएको छ ।

यसैगरी पालिकाको विकासका लागि भौतिक पूर्वाधार प्राधिकरण स्थापना गरेर विकास निर्माणको कार्यलाई अगाडि बढाउने, भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्ने, खेलकुद विकास बोर्ड, कृषि व्यवसायमा आत्मनिर्भर कृषकहरुलाई कृषि कार्य गर्नको लागि निःशुल्क विद्युत मिटरको व्यवस्था गर्ने लगायतका योजनाहरु घोषणापत्रमा समेटिएको छ ।

खजुरामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री किशोरसिंह राठौर, गठबन्धनको तर्फबाट अध्यक्ष पदका उम्मेदवार डम्बर विक तुफान, उपाध्यक्षका उम्मेदवार मञ्जु मल्ल र निर्वाचन परिचालन कमिटीका संयोजक राजकुमार विकले संयुक्तरुपमा घोषणापत्र सार्वजनिक गरेका हुन्।

अध्यक्ष पदका उम्मेदवार तुफानले घोषणापत्रमा उल्लेख गरिएका प्रतिवद्धताले जितिसकेपछि नयाँ ढंगबाट लागू गराउन जिम्मेवार बोध गराउने बताउनुभयो । उहाँले जनताको सम्पूर्ण विकासको जिम्मा, कृषि, उद्योगको विकास, पूर्वाधारको विकास, शैक्षिक सुधार गर्ने लगायतका धेरै कुराको जवाफ प्रतिवद्धतापत्रमा रहेको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया