निर्वाचनको उत्साहसँगै ईदको रौनकमा नेपालगन्ज

आज मंगलवार देशभरी निकै हर्षोल्लासका साथ इश्लामिक धर्मालम्बीहरुको पर्व, ईदुलफित्र मनाईदैँछ । ईदुलफित्र हिजरी सम्वतको दशौं महिनाको पहिलो तारीखका दिन मनाइन्छ । मुस्लिम समुदायमा सौव्वाल महिनाको चन्द्रमा हेरिसकेपछि भोलिपल्ट मात्र अर्थात एक सौव्वालका दिन ईद मनाउने मान्यता रहिआएको छ ।

इदको नमाजका लागि चिटिक्क पारिएको नेपालगन्जस्थित इदगाह


मुस्लिम समुदायमा पवित्र रमजानको एक महिना रोजा बसेर सांझपख सौव्वालको चन्द्रमा हेरिसकेपछि तराबीह सकियो र त्यसको भोलि बिहान ईदको नमाज हुने घोषणा गरिन्छ । ईदुलफित्र जसलाई सहज भाषामा ईद पनि भनिन्छ ।


विगतमा विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण संसारभरी नै लकडाउन रहेकोले घरमा ईद मनाए । यसवर्ष इस्लामी पात्रो अनुसार हिजरी सम्वत १४४३ सालमा देश भरी नै हर्षोल्लासका साथ ईदगाहमा नमाज अदा गरी ईद मनाईदैँछ ।
सम्बद्ध जानकारका अनुसार, ईदुलफित्र रोजेदार अर्थात ती व्यक्ति जसले रमजान करीमको एक महिना रोजा बसे तिनीहरुका लागि अल्लाहको तर्फबाट दिइएको ठुलो उपहार हो । यस दिनलाई उत्सवको रुपमा मनाउनका लागि मुस्लिम समुदायले महिनादिन अगावै विभिन्न योजना बनाएका हुन्छन् ।


इस्लामी रितिरिवाज र आदेश अनुसार, यस दिन नुवाइ धुवाई गरी वृद्ध –वृद्धा, वयस्क, बच्चा, महिला पुरुष धनी गरीब सबैले आफ्नो हैसियत अनुसार राम्रो भन्दा राम्रो नंया लुगा जुत्ता चप्पल चुरा गरगहना इत्तर लगाउँछन् । यस दिन पुरुषहरु ईदगाहमा गई ईदुलफित्रको नमाज पढ्ने अनि महिलाहरु घरमा नफल नमाज पढ्छन् ।


ईदको दिन खास परिकारको रुपमा बनाईने सिवई, दहीवडा, छोयला, रोस्टेड, बिर्यानी जस्ता परिकार बनाएर र आफन्त ईष्टमित्र नातागोता साथीभाईहरुलाई घर दावत (भोज) मा बोलाइन्छ आफु पनि उनीहरुकोमा गइन्छ । ईदको दिन विगतका मनमुटाव बिर्सेर एक अर्कालाई अंगालो हालेर ईदुलफित्रको शुभकामना र ईदी स्वरूप हैसियत अनुसार केही दक्षिणा दिइने प्रचलन छ ।

वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनले ईदको साथसाथै चुनावी चहलपहल बढेको छ । निर्वाचनका कारण गाउँसमाजमा निकै रौनक देखिन्छ । कतै कसैले ईदको मुबारकबाद दिदैँछ त कतै कसैलाई जीतको अग्रीम शुभकामना । यही चुनावी माहोल बीच यसपटकको ईद कसरी मनाइदैछ त ? केही प्रतिनिधिमूलक व्यक्तित्वहरुसँग गरिएको कुराकानी संक्षेप आजको अंकमा ।
केन्द्रीय हज समिति पूर्व सदस्य एवं समाजसेवी मेराज अहमद हिमालयले आफ्नो घरपरिवारको लागि ल्याइएको लुगाकपडा लगाएर ईद मनाउने बताए । उनको भनाइ छ, ‘आफुले ईद राम्ररी मनाउनुका साथै गरीबहरुको पनि ईद राम्ररी होस् भनी मैले निकालेको जकातको रकमबाट १०० परिवारलाई खाद्यान्न बाडेको छु । ताकि उनीहरु ईदको दिन पेट भरी राम्रो भोजन खान सकुन् ।’


‘पुरा रमजानको महिना भरी हामी घरमा इबादत गर्छौं रोजा बस्छौं । रोजा र नमाज बारे कुरानपाक जिकिर त छ तर कसरी पढ्ने भनी लेखिएको छैन् । तर जकात कसलाई र कति प्रतिशत निकाल्ने भनी प्रष्ट लेखिएको छ । यस कारण मैले कुरानपाकमा भनिए अनुसार गरीब असहायलाई खाद्यान्न वितरण गरेकोछु जुन कामले मेरो मन एकदमै खुशी र सन्तुष्ट छ कि मेरो जकात रकम वास्तविक हकदार व्यक्ति र परिवारसम्म पुग्न सकेको छ,’ हिमालयले दैनिक नेपालगन्जसँग भने ।

ईदको रौनक चलहपहलका साथै चुनावी प्रचारप्रसार पनि संगसंगै चलाइरहेका २२ वर्षीय युवा फैज हल्वाईले जनता समाजवादी पार्टीले गठबन्धन गरेर जनसमुदाय र दलका पदाधिकारीहरुसंग अन्याय गरेको प्रतिक्रिया दिए ।

‘केन्द्रले आफ्नो नातागोताको पद जोगाउनका लागि गरेको गठबन्धनले महिलाको, युवाको कार्यकर्ताहरुको साथ खेलवाड गरेको छ,’ जसले गर्दा निराश भएर विद्रोही उम्मेदवार भइ मेयर पदका प्रत्याशीको रुपमा मनोनयन दर्ता गराएको जानकारी दिंदै लामो समय देखि जनता समाजवादी पार्टीमा सक्रियता साथ लागेका हल्वाई भन्छन्, ‘अधिकांश उम्मेदवारहरु बिना भिजन बिना कुनै योजना मात्र लगानीका आधारमा टिकट पाएका छन् । मेरो उम्मेदवारी समग्र युवाहरुको लागि अगाडि बढ्न सक्ने बाटो हो ।’


जैसपुरका स्थानीयबासी तथा व्यापारी नुरुल हसन राई यसपटक अधिक खुशीका साथ ईद मनाउदैँ गरेको बताउँछन् । ‘किनकी यसपाली लकडाउन छैन, ईदगाह खुल्ला छ त्यसैले ईदगाहमा नमाज अदा गरी ईद मनाईदैँछ ।’

प्रतिक्रिया

प्रतिक्रिया