आज बुर्काभित्र/ बुर्काबाहिर स्तम्भमा हामी मचस्लिम समुदायले मनाउने ईदुलफित्रको बारेमा चर्चा गर्नेछौं । ईदुलफित्रलाई सानोमा ईद पनि भनिन्छ । खास गरी पवित्र रमजानको महिनामा एक महिना सम्म रोजा बसेर अनि ईद मनाईने गरिन्छ । यो मुस्लिम समुदायको महान पर्व मध्येको एक हो । पवित्र रमजानलाई शराआई हिसाबले मुख्यतया तीन भागमा बाडिएको छ पहिलो रहमतको असरा (भाग), दोस्रो मगफिरतको असरा र तेस्रो अनि अन्तिम नर्कबाट मुक्तीको असरा । इस्लामी शरीयत अनुसार यी तीनै असराका आफ्नै महत्व रहेकाछन् तथापि अन्तिम असरालाई विशेष असरा भनिएको छ । इस्लामी मान्यता अनुसार यो असरामा लैलतुलकद्र जुन रातमा गरिने इबादत हजार रातमा महिनाहरु भन्दा उत्कृष्ट हुन्छ । लैलतुलकद्रको रातमा नै कुरानपाक अवतरण भयो ।यसै असरामा अलबिदा जुमा (अन्तिम शुक्रबार)पर्छ । यही असरामा ऐतिकाफ (इस्लामिक सेल्फ क्वारेन्टाईन) बसिन्छ । अनि अन्तिम दिन अर्थात २९ वा ३० तारीखमा सांझपख ईदको चन्द्रमा यही असरमा देखिन्छ । 

पवित्र रमजानमा एक महिना रोजा बसिसकेपछि ईदुलफित्र मनाईन्छ । ईदुलफित्रको पर्वमा सम्पूर्ण मुस्लिम समुदाय नँया लुगाकपडा लगाउछन् , मिठो परिकार बनाएर खान्छन् र साथीभाई इष्टमित्रलाई पनि आफ्नो ईदको खुशीयालीमा सामेल गर्छन् । ईदको लागि मुसलमानहरु बजारबाट आफ्नो हैसियत अनुसार सबभन्दा राम्रो लुगाकपडा लिएर आउँछन् । सबभन्दा राम्रो जुत्ता चप्पल ल्याउंछन् । फित्रा दान गर्छन् । गरीब असहायहरुको मद्दत गर्छन् ।

जसरी हरेक पर्वको आ आफ्नो महत्व र मनाईने कारण हुन्छ । त्यस्तै आखिर ईदुलफित्रको महत्व के छ यो किन मनाईन्छ भन्ने धेरैलाई उत्सुकता छ होला । ईदुलफित्र रोजेदारहरुको लागि अल्लाहको तर्फबाट उपहार हो । पवित्र रमजान सकिएपछि चन्द्रमा हेरेर भोलिपल्ट जब मुस्लिमहरु ईदको नमाज पढ्न जान्छन् । तब अल्लाहले दूतहरुलाई फरमाउनुहुन्छ कि “तिमीहरु साक्षी छौ मैले यिनका सारा पाप माफ गरिदिए ।” पैगम्बरे इस्लामले आफ्ना उम्मतका लागि खुशियालीको दिनलाई ईदको नाम अता गर्नुभयो । अब भन्नुहोला ईद भनेकै के हो त ईद चाहिं ओद शब्दबाट आएको छ । बारम्बार वा फेरिफेरि फर्केर आउनुलाई ओद भनिन्छ । अर्थात ईद भनेको त्यो खुशियाली जुन बारम्बार वा फेरिफेरि फर्केर आउने खुशी हो । पैगम्बरे इस्लामले यो कुराको ग्यारेन्टी दिनुभयो कि “दुख फर्केर आओस् न आओस् तर ऐ मेरो उम्मत तिम्रो लागि ईद अर्थात खुशी अवश्य नै फेरिफेरि बारम्बार फर्केर आउनेछ ।”

इस्लाममा कुनै दिन यस्तो छैन् कि भनिएको होस् कि दुख फर्केर आओस् तर इस्लाममा ईद छ जुन तिम्रा लागि खुशीको रुपमा अवश्य नै बारम्बार फर्केर आईरहनेछ । केवल ईदुलफित्रलाई मात्र ईद भनिएको छैन् बकराईद अर्थात ईदुलअज्हालाई पनि ईद भनिएको छ । ईदुलफित्र र ईदुलअज्हालाई मात्र ईद भनिएको छैन् , मोहम्मद जयन्तीलाई ईदमिलादुन्नबी भनेर ईद भनिएको छ । मानिसले सोच्दो होलान् कि मुसलमानहरुका लागि वर्ष तीन पटक मात्र ईद वा खुशी फर्केर आउनेछ । तर पैगम्बरे इस्लामले फरमाउनुभयो कि “हरेक जुमा (शुक्रबार) मोमिनीनका लागि ईदको दिन हो ।” मुसलमानका लागि वर्षमा तीन पटक मात्र खुशी फर्केर आउदैन् मुसलमानका लागि त हरेक सप्ताहमा खुशी फर्केर आइरहनेछ ।

ईदको दिन रिसाउने दिन होईन् । ईदको दिन कसैलाई गाली गलौच गर्ने दिन होईन् । ईदको दिन कसैलाई चोट पुर्याउने दिन होईन् । ईदको दिन त खुशी मनाउने दिन हो । यो दिन त स्वंय ईश्वरले खुशीको व्यक्त गर्नुहुन्छ र आफ्ना बन्दा(भक्त) हरुसंग फरमाउनुभयो कि “ऐ पापीहरु आज तिम्रो पापलाई हेर्दैन् ईदको दिन दिएकोछु त ईदको सद्के सारा पापहरु क्षमा गरिदिन्छु । सारा गुनाहहरुको मगफिरत गरिदिन्छु ।” ईदको दिन जब ईदको नमाज पढेर मुसलमानहरु आफ्नो घर तर्फ फर्किन्छन् तब अल्लाहले यसरी भव्यतापूर्ण ईदी अता गर्नुहुन्छ र फरमाउनुहुन्छ “ऐ दूतहरु गएर ऐलान गरिदेऊ यिनीहरु पापबाट यसरी मुक्त भइसकेकाछन् कि भर्खरै आमाको गर्भबाट जन्मेकाछन् । जे कुरा माग्नेछन् अता गर्नेछु जे माग्छन् दिन्छु । साथै फरमाउनुहुन्छ कि तिम्रा रोजाहरु स्वीकार गरे । तिम्रा नमाजहरु स्वीकार गरे । तिम्रा तराबीह स्वीकार गरे । तिम्रा दान स्वीकार गरे ।” मात्र यति कुरा छ कि अल्लाहसंग डराउदैं गर । यो फिकिर गर्नु आवश्यक छैन् कि मैले एक महिना रोजा बसें स्वीकार हुन्छ कि हुदैंन् । मैले एक महिना नमाज र तराबीह पढे स्वीकार हुन्छ कि हुदैँन् । मैले एक महिना तश्वीह बढे स्वीकार हुन्छ कि हुदैँन् । मैले एक महिना कुरानपाक पढे स्वीकार हुन्छ कि हुदैंन् । मैले जकात दिए दान गरे स्वीकार हुन्छ कि हुदैंन् । जब अल्लाहले रोजा नमाज, जकात, इबादत, तराबीह अदा गर्ने तौफीक दिएका छन् भने स्वीकार पनि अवश्य गर्नेछन् । तर उसको रहमत उसको अता माथि विश्वास त गर्नुस् । अरे जब तपाईको नाम रोजेदारहरुको लिस्टमा लेखिदिएकोछ भने यो भन्दा बढ्ता जमानत अरु के हुनेछ र इबादत, रोजा, नमाज, तराबीह, जकात र दान आदि स्वीकार हुने नै छ भनी । तर उससंग डराउदैँ गर्नुस् । अल्लाहले ईदको खुशी अता गर्नु भएकोछ ईद दिन खुशी मनाउनुस् । ईदको दिन खुशी बाड्नुस् । गरीबगुरबा र अनाथहरुलाई मद्दत गर्नुस् । जुन खुशीमा कुनै गरीब सामेल हुदैंन् त्यो खुशी कयामतको दिन अजाब बन्नेछ । ईदको दिन आफन्त ,नातादार,इष्टमित्र र साथीभाईलाई जम्मा गर्नुस् उनीहरुमाथि खर्च गर्नुस् । जब अल्लाहले ईदको दिन यति दिनेगर्छन् भने हामीले किन कन्जुसी गर्ने ।

यदि कोही कुनै आशा लिएर हामी कहाँ आउँछ हामी उसको त्यो आशा पुरा गर्न सक्छौं भने हामीले उसको आशा पुरा गर्नुपर्छ । यस बारेमा एउटा हदीस शरीफ छ कि “जसले कसैको आशा तोड्दछ अल्लाहले उसको आशा तोडिदिनुहुन्छ । उसका आमाल (नेक कार्य) हरु नष्ट गरिदिन्छ ।” यस कारण जो कोही आश लिएर आओस् यदि सकिन्छ भने उसको आशा पुरा गरिदिनुपर्छ उसलाई सहयोग गरेर ।

ईद नँया नँया महँगा लुगा कपडा लगाउनु होईन् । ईद मात्र ईत्र लगाएर लुगा सुगन्धित बनाउनु होईन् । ईद मात्र मिठो मिठो परिकार बनाएर आफै खानु होईन् । ईद आँखाहरुमा सुरमा लगाउनु होईन् । ईदको दिन जति महंगो लुगा लगाए पनि केही समय पश्चात मैलो भइ नै हाल्नेछ । शरीरमा लगाएको ईत्र केही बेरमा पसिनाको दुर्गन्धले दुर्गन्धित भइहाल्नेछ । जति ब्रान्डेड जुत्ता लगाए पनि च्यातिनेछ । मिठो परिकार केही समय पछि पचिहाल्नेछ ।
तर ईदको दिन कसैको आशा पुरा गर्नुहुन्छ  चाहे आमा हुन्, बुवा हुन्, दाईभाई हुन् , दिदीबैनी हुन्, नातदार हुन् साथीभाई हुन् छिमेकी हुन् यिनलाई सहयोग गरिदिएर उनीहरुलाई खुशी बनाउनुहुन्छ । भने संसारमा पनि खुशी रहनुहुनेछ र मृत्यु पश्चात पनि यसको अजर प्राप्त भइरहनेछ ।

तर बिडम्बना आज हामी ब्रान्डेड लुगा, महंगा जुत्ता खोज्न त शहर शहर नै चहार्ने गर्छौं । ईदमा आफ्नो लागि कमसल सरसामान न होस् भनी बलियो टिकाऊ सामानमा खूब ध्यान दिन्छौं । तर आफ्नो वरपर रहेका ती व्यक्ति ती परिवारलाई खोज्दैनौं जो वास्तवमा हाम्रो खुशीलाई बढाउन सक्छन् । हामी आफ्ना ती नाता र सम्बन्धलाई ध्यान दिदैनौं जुन हाम्रो लापरवाहीका कारण उहिलै टुटिसकेछन् । यस कारण ईद मनाउदैँ हुनुहुन्छ भने अरुको ईदलाई राम्रो बनाउन आफु सक्दो प्रयास गरौं ।

प्रतिक्रिया

प्रतिक्रिया