एमाले उम्मेदवारले भने, ‘नरैनापुरमा उदाउँछ सुर्य’

युवा सँगै अनुभवी र महिलालाई प्रमुखदेखि वडासम्मको उम्मेदवार बनाएर एमालेले उम्मेवारीमा समावेशितामा ध्यान पुर्याएको छ ।

बाँकेको नरैनापुर गाउँपालिकामा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवारले नरैनापुरमा अब सुर्य उदाउने बताएका छन् । नेपालगन्जन्यूजसँगको कुराकानीका क्रममा एमालेबाट वडाध्यक्ष पदका सबै उम्मेदवारहरुले नरैनापुरमा एमाले प्रति बढ्दो जनलहरले पुरै स्थानीय तहमा विजयी हुने विश्वास व्यक्त गरे ।

‘जनता नरैनापुर परिवर्तन भएर विकासको गतिमा दु्रत रुपमा अघि बढोस् भन्ने आम जनतामा उत्कट चाहना छ’, नरैनापुर गाउँपालिका वडा नं. ५ बाट वडाध्यक्ष पदका उम्मेदवार विनय दीक्षितले भने, ‘एमाले नारा नै समृद्ध बनाउने भन्ने रहेको छ, यसले जनताको चाहना र एमालेको उद्देश्य मिल्दा जनताको एमाले प्रति विश्वास बढ्दै गएको पाइन्छ ।’

नरैनापुर जस्तै अन्य पालिकाहरु विकासको गतिमा अगाडि बढ्दा पनि नरैनापुर अपेक्षित गतिमा अगाडि बढ्न नसक्नुको कारण सही नेतृत्व नपाउनु भएको वडाध्यक्ष पदका उम्मेदवार बताउँछन् । ‘पार्टीले विगतमा विभिन्न सभा, र्याली आयोजना गरेर जनतालाई विकासका एजेन्डा सुनाएपछि एमाले तर्फ हजारौं जना प्रवेश गरिसकेका छन्, प्रवेश गर्नेमा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता समेत रहेका छन्’, नेकपा एमाले नरैनापुर गाउँपालिका निर्वाचन परिचालन कमिटिका संयोजक राम कुमार दीक्षित भन्छन्, ‘यसपटक पालिकामा एमालेको निकै राम्रो महोल बनेको छ ।’

वडा नं. ५ बाट वडाध्यक्ष पदका उम्मेदवार विनय दीक्षित नरैनापुरलाई समृद्ध बनाउनका लागि गर्नुपर्ने कामको ‘थुप्रो’ नै रहेको बताउँछन् । ‘शिक्षा, स्वास्थ्य, पूर्वाधार सबै क्षेत्रमा आमूल परिवर्तनका लागि योजनाबद्ध ढंगले अगाडि बढ्नु पर्दछ’, उनले भने ।

नरैनापुर गाउँपालिका वडा नं. १ बाट अध्यक्ष पदका उम्मेदवार मोलहे शेष वडा नं. १ मा जनाधार राम्रो भएको बताउँछन् । ‘एमालेसँग भिजन छ, हामी त्यही भिजन लिएर मतदाता माझ पुगेका छौं’, उनले भने, ‘पटकपटक परिवर्तन भयो देशमा तर नरैनापुरले अन्य पालिका जस्तो अपेक्षित रुपमा अघि बढ्न सकेन, अब एमाले स्थापित भयो भने पक्कै परिवर्तन हुन्छ भन्ने विश्वास स्थानीयबासीमा पाएका छौं ।’ उनले स्थानीयलाई एमाले नै किन रोज्ने भन्ने बारे बुझाउँदै मत माग्ने गरेको बताए ।

वडा नं. ६ बाट वडाध्यक्ष पदका उम्मेदवार हुन् शालिकराम यादव । ६२ बर्षीय उनी २०४७ सालदेखि राजनीतिमा सक्रिय छन् । ‘मुख्य सडक त बन्यो तर भित्री बाटोहरु धेरै बनाउन छ’, उनले भने, ‘शिक्षामा पालिका कमजोर छ, खेतीलाई आधुनिकीकरण गरेर व्यवसायीकरण गर्नुछ ।’ ‘वडामा के आवश्यक छ र हामीले जितेमा के गर्छौ भन्ने आम मतदातालाई बुझाउन सफल भैरहेका छौं’, उनले भने, ‘अन्य पार्टीको जिम्मेवार पदमा रहेकाले पनि हामीलाई विश्वास गरेर मतदानको प्रतिबद्धता गर्नुभएको छ, हाम्रै पार्टीको पनि जनाधार बढिरहेको छ ।’


वडा नं. २ का वडाध्यक्ष पदमा उम्मेदवार सफिरुल मैसर खान पनि वडामा एमालेको जनाधार राम्रो भएको बताउँछन् । ‘जनताले विकासकै नाममा हामीलाई भोट दिंदै हुनुहुन्छ’, उनले भने ।

वडा नं. ३ का वडाध्यक्ष ताज मोहम्मद खाँ गाउँमा अझै बाटो नपुगेको बताउँदैं विजयी भएमा पहिलो प्राथमिकता बाटो र शिक्षा तर्फ केन्द्रित गर्ने बताउँछन् । उनले युवाहरु आफ्नो साथमा रहेको उल्लेख गर्दै जनता माझ पार्टी लोकप्रिय हुँदै गएको बताए ।

नेकपा एमाले बाँकेले यसपटक नरैनापुर जित्न योजनाबद्ध ढंगले लागेको छ । ‘निर्वाचन जित्ने आधार त्यहाँको विकासको स्पष्ट भिजन हो, जुन हाम्रा प्रतिबद्धतामा आएका छन्’, एमाले बाँके इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य सुर्य ढकालले भने, ‘नरैनापुरलाई प्राथमिकता दिंदै पार्टीका स्थानीय देखि केन्द्रीय तहसम्मका नेता, कार्यकर्ता त्यहाँ केन्द्रित भएका छौं ।’

नरैनापुर गाउँपालिकामा बुधबार देखि नै व्यवस्थित रुपमा घरदैलो सुरु गरिएको छ । पार्टीले ६ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ । जसमा संयोजक पार्टी नेता रामकुमार दिक्षीत र सह संयोजक विराट चौधरी रहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया