बाँके : ‘निर्माण होलिडे’का कारण ७ अर्बका ५ सय बढी योजना प्रभावित

बाँकेमा सरकारी तहबाट हुने पूर्वाधार निर्माणका काम ठप्प भएका छन् । आर्थिक बर्षको अन्त्य आउँदै गर्दा निर्माण व्यवसायीले काम ठप्प पारिदिएपछि बजेट खर्च समेत प्रभावित हुने देखिन्छ । विभिन्न माग राख्दै पूरा गर्न नभए ‘निर्माण होलिडे’ मा जाने चेतावनी दिएका निर्माण व्यवसायीले आइतबारदेखि काम ठप्प पारेका छन् ।

‘हामीले राखेका मागका सम्बन्धमा सरकारले सुनुवाई नगरेकाले बाध्य भएर निर्माण काम रोकेर आन्दोलनमा जानु परेको हो’, निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष सुरेश चन्दले दैनिक नेपालगन्जसँग भने, ‘माग पूरा नहुँदासम्म हाम्रो आन्दोलन जारी रहने छ ।’ उनले भैरहेको अप्रत्याशित मूल्य वृद्धिले निर्माण व्यवसायीले यथास्थितिमा काम गर्न नसक्ने स्पष्ट पारेका छन् ।
निर्माण व्यवसायी संघको आन्दोलनका कारण बाँकेमा मात्रै ७ अर्ब बढीका साना, ठूला ५ सय बढी योजना ठप्प भएका छन् ।
बाँकेका निर्माण व्यवसायीले जिल्ला प्रशासन कार्यालय बाँकेमा दैनिक १ घण्टा आफ्ना माग पूरा गर्न दबाब दिनका लागि धर्ना दिन थालेको छ । ‘धर्ना जारी रहन्छ’, प्रदेशका वरिष्ठ उपाध्यक्ष चन्द भन्छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले यसअघि नै निर्माण व्यवसायीलाई जिल्लाबाट हुनेसक्ने समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै देशव्यापी भएकाले माग यहाँबाट पूरा नहुने देखिएको बताएका थिए ।

हाल निर्माण व्यवसायीको आन्दोलन बाँकेसँगै देशका सबै जिल्लामा जारी रहेको छ । केन्द्रको निर्णय अनुसार नै देशव्यापी आन्दोलन गरिरहेको निर्माण व्यवसायी बताउँछन् ।

निर्माण व्यवसाय निर्माण सामाग्रीको मूल्य बढेपछि काम गर्न नसक्ने अवस्था भएको भन्दै बाँके निर्माण व्यवसायी संघले यसअघि पत्रकार सम्मेलन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएको थियो ।

निर्माण व्यवसायी संघ बाँकेले चैत्र ६ गते जिल्ला दररेट निर्धारण समितिलाई लिखित ज्ञापनपत्र बुझाएपनि सुनुवाई नभएको बताएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघको गत चैत्र १४ गते भएको राष्ट्रिय भेलाबाट पारित निर्णय सरकारलाई बुझाउँदा पनि हालसम्म केही निर्णय नभएको उल्लेख गर्दै निर्माण व्यवसायीले अब उप्रान्त जिल्ला तहमा क्रियाशिल साना व्यवसायीहरुले मूल्य वृद्धि वापतको रकम प्राप्त गर्न नसक्ने र अत्याधिक मूल्य वृद्धिका कारणले गर्दा निर्माण कार्यलाई सुचारु गर्न नसिकने भएकाले माग पूरा नहुँदासम्म निर्माण रोकेर ‘निर्माण होलिडे’ गर्ने निर्णय पारित भएको बताउँछन् ।

गत बैशाख ५ गते बसेको निर्माण व्यवसायी संघ बाँकेको कार्यसमितिको बैठकबाट निर्माण कार्यमा प्रयोग हुने फलामजन्य निर्माण सामाग्रीहरु तथा पेट्रोलियम पदार्थको अप्रत्यासित रुपमा मूल्य वृद्धि हुन गएकाले आ.व. ०७८÷०७९ को जिल्ला दररेटलाई आवश्यक संशोधन गरी नयाँ दररेट निर्माणको माग निर्माण व्यवसायीले गरेका थिए ।

यसअघि निर्माण सामाग्रीको मूल्यवृद्धि, सार्वजनिक खरिद (एघारौं संशोधन) नियमावली २०७८ मा भएका त्रुटि सच्याउन, बीमा सम्बन्धी जारी गरिएको निर्देशिका लगायतका प्रावधान संशोधन तथा खारेज गर्न र एकमुष्ठ म्याद थप लगायतको विषयमा निर्माण व्यवसायी महासंघले राष्ट्रिय भेला आयोजना गरेको थियो ।

निर्माण व्यवसायीहरुले माग गरेको विषय सम्बोधन नभएसम्म विकास निर्माणका काम बन्द गर्ने निर्णय राष्ट्रिय भेलाबाट पारित गरिएको थियो । सोही अनुसार बाँकेमा पनि निर्माण व्यवसायीले प्रेस विज्ञप्ति जारी गरेर निर्माण होलिडे गर्नु पूर्व सञ्चारमाध्यमलाई जानकारी गराएका थिए । व्यवसायीहरुले मूल्यवृद्धि अनुसारको मूल्य समायोजनको माग गर्दैै आएका हुन् ।

पूँजीगत खर्च न्यून भएको, बजारमा तरलता अभाव रहेको अवस्थामा निर्माण होलिडेले अर्थतन्त्रलाई नै नकारात्मक प्रभाव चिन्ता सुरु भएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया