पानीको गुणस्तर र स्वच्छतामा जोड

‘मनपरी मुल्य नियन्त्रण गर’

बाँकेका अधिकांश पानी उद्योगहरु मापदण्ड अनुसार संचालन नभएको भन्दै मनपरी मुल्य नियन्त्रणका लागि सरोकारवालालाई ध्यानाकर्षण गराइएको छ ।

नेपालगन्जमा मंगलवार सरोकारवालाहरुबीच गरिएको एक कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य वसन्त गौतमले पानीको मुख्यमा एक रुपता नभएको र खुद्रा बिकेक्राले एमआरपी मुल्य भन्दा बढी मुल्यमा पानी बिक्री बितरण गरेको पाइएकोले यसको रोकथाममा सरोकारवाला निकायले सक्रियता देखाउनु पर्ने बताए ।

अधिवक्तासमेत रहेका गौतमले गुणस्तरिय बस्तु तथा सेवा प्राप्त गर्ने आम उपभोक्ताको अधिकार भएकाले पानी उद्योगीहरुले प्रसोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धि निर्देशिका, २०७४ अनुसार पानीको गुणस्तर र स्वच्छता कायम राख्नु पर्नेमा जोड दिएका थिए ।

खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले पानी उद्योगी लगायतका सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा सहभागीहरुले पानी मानव जातीका लागी अत्यावश्यक र बिकल्प रहित बस्तु भएकाले यसको स्वच्छता र गुणस्तरमा जोड दिए । उनीहरुले मानवको प्रत्यक्ष स्वास्थ्यसंग जोडिएको पीउने पानीको गुणस्तर र स्वच्छतामा जोड दिएका हुन् ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले पानी उद्योगीले नाफा मात्रै नहेरी गुणस्तर र स्वच्छतामा ध्यान दिनु पर्नेमा जोड दिए । ८० प्रतिशत रोग दुषित पानीका कारण लाग्ने भएकाले ब्यवसायीले नाफा मात्र नहेरी आफ्नो परिवारलाई जस्तै पानी चाहिन्छ उपभोक्तालाई पनि त्यस्तै स्वच्छ र गुणस्तरिय पानी उपलब्ध गराउनु पर्ने प्रजिअ खत्रीले बताए ।

खाद्य प्रबिधि गुण नियन्त्रण कार्यालय, नेपालगन्जका खाद्य अनुसन्धान अधिकृत प्रतिक्षा श्रेष्ठले प्रसोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धि निर्देशिका, २०७४ अनिबार्य रूपमा सबै पानी उद्योगले पालना गर्नुपर्ने र खाद्य ऐन २०२३, खाद्य नियमावली २०२७ अनुसार पानीको बोटल र जारमा लेबलिंग नगरेको पाइएमा, त्यस्ता उद्योगहरु कारबाहीमा पर्ने बताइन ।

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौडेलले कुनै पनि हालतमा पानीको मुल्य तोकिएको अधिकतम मूल्य भन्दा बढाएर बिक्री वितरण गर्न नहुने भन्दै त्यसो पाइएमा कारबाहीको चेतावनी दिए ।

कार्यक्रममा पानी संघ बाँकेका अध्यक्ष बिनय श्रेष्ठले सम्पूर्ण पानी उद्योग तथा ब्यबसायीहरुलाई सरकारले एकरूपताका साथ व्यवहार गर्नु पर्ने बताए । अध्यक्ष श्रेष्ठले पानी संघमा आबद्ध उद्योगी र ब्यबसायीहरुको प्रतिनिधित्व गर्दै प्रसोधित पिउने पानीको स्वच्छता र गुणस्तरमा कुनै लापरवाही हुन नदिने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रममा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय बाँकेका खाद्य अनुसन्धान अधिकृतद्वय अमित भूषण सुमन र प्रतिक्षा श्रेष्ठले प्रस्तुत गरेको पानीको गुणस्तर र स्वच्छता र प्रसोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धि निर्देशिका, २०७४ सम्बन्धी दुई छुट्टा छुट्टै कार्यपत्र माथी उपभोक्ता हित संरक्षण मञ्चका बाँके जिल्ला अध्यक्ष समेत रहेका अधिवक्ता बसन्त गौतमले टिप्पणी गरेका थिए । त्यस क्रममा गौतमले कार्यक्रम देखाउनका लागी नभई कार्यान्वयनका लागी भएकाले उपभोक्ताको हितमा ध्यान दिई यसको पालनामा जोड दिएका थिए ।

खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका खाद्य अनुसन्धान अधिकृत अमित भूषण सुमनको अध्यक्षता र सोही कार्यालयका गणेश कुमार रोकाले स्वागत मन्तब्य दिएको कार्यक्रमका सहभागीहरुले पानी उद्योगहरु कानूनले निर्धारण गरेको मापदण्ड अनुसार संचालन हुनु पर्नेमा जोड दिइएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया