स्थानीय निर्वाचनः शुरु भयो उम्मेदवारी दर्ता

नेपालगन्ज वडा नं. ५ मा वडाध्यक्ष सहित उम्मेदवारी दर्ता गर्न सुर्खेतरोड स्थित मुख्य निर्वाचन कार्यालयमा पुगेका उम्मेदवारहरु । वडा नं. ५ मा जनमत पार्टीबाट मो. मेराज दर्जीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्दैछन् ।

यही वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनको सबै तयारी निर्वाचन कार्यतालिका बमोजिम व्यवस्थित र प्रभावकारी ढङ्गले भइरहेको निर्वाचन आयोगले जनाएको छ । देशका ७५३ वटै स्थानीय तहहरूमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना भई कार्यसञ्चालन र मतदान केन्द्रमा प्रयोग हुने सामग्री पठाउने कार्य निरन्तर भइरहेको आयोगले आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित सबै आयुक्तहरू उपस्थित पत्रकार भेटघाटमा आयोगले गत चैत ४ मा स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार यही वैशाख ११ र १२ गते दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरिएको छ ।

वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनामा जानकारी दिइयो ।

बाँकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार ११ बजेदेखि ४ बजेसम्म राष्ट्रिय जनमुक्ति पार्टी, जनमत पार्टी, नेकपा माक्र्सवादी पुष्पलाल पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, विवेकशिल साझा पार्टीसहित छ पार्टीलाई उम्मेदवारी दर्ता गर्न समय दिएको छ ।

त्यस्तै नेकपा (एमाले), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय सद्भावना पार्टी, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई सोमबार उम्मेदवारी दर्ता गर्ने समय ११ बजेदेखि ३.३० बजेसम्म निर्धारण गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया