अन्ततः नेकपा (माओवादी केन्द्र) नेपालगन्जमा सत्ता गठबन्धनबाट बाहिरिएको घोषणा गर्दै एक्लै निर्वाचनमा होमिने भएको छ । चुनावी भागबन्डामा नेतृत्व पाएको काँग्रेस र जसपाले ‘सम्मानजनक अवसर नदिएको’ भन्दै माओवादी गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो ।
२०७४ को स्थानीय तह निर्वाचनामा पाएको मतपरिणम र गठबन्धन दलको हिसाबमा हाम्रो पार्टी दोस्रो स्थानमा हुँदा पनि सम्मानजनक अवसर नदिइएको भन्दै माओवादी नगर अध्यक्ष रतन शाहीले शनिवार पत्रकार सम्मेलन गरि ‘नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनको औचित्य समाप्त भएको’ सार्वजनिक गरेका हुन् । नगर अध्यक्ष रतन शाहीले पत्रकारहरुसँग भने, ‘अपमानित भएर बस्न सक्दैनौं । हामीले मेयर, उपमेयर नभए पनि १५ वडा मागेका थियौं । त्यो माग पनि पूरा गरिएन । त्यसैले उपमहानगरको सन्दर्भमा हामी एक्लै लड्छौं ।’
केन्द्रीय गठबन्धनको मूलमर्मविपरीत नेपालगन्जमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टीले प्रमुख र उपप्रमुख प्राप्त गरेपछि ‘गठबन्धनको मूल स्परिटविपरीत वडाहरुमा एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा जाने’ प्रस्ताव गरेपछि माओवादीले गठबन्धनको औचित्य समाप्त भएको घोषणा गरेको हो ।
‘हामी प्रमुख, उपप्रमुख सहित २३ वटै वडामा उम्मेदवारी दिंदैछौं, माओवादीका नेपालगन्ज नगर कमिटि सदस्य तुलसीमणि केसीले दैनिक नेपालगन्जसँग भने, ‘सिफारिस गरिएका मध्येबाटै आइतवारसम्म सबै उम्मेदवार टुंगो लगाउने प्रक्रिया अगाडी बढिसकेको छ ।’
यससँगै माओवादीले नगर प्रमुख, उपप्रमुखमा कसलाई उठाउने भन्ने गृहकार्यमा लागेको छ । प्रमुखमा यसअघि नविन शर्मा, आदेश अग्रवाल, तेज प्रसाद रेग्मी, नन्दलाल बैश्य र टंक धमलाको नाम सिफारिस गरिएको थियो । बैश्य माओवादी छाडेर राप्रपाबाट चुनावी मैदानमा छन् । उपप्रमुखमा कस्मिरा खातुन, मन्दिरा पाण्डे र मीना डाँगीको नाम सिफारिस गरिएको छ । सम्बद्ध स्रोतका अनुसार, नविन शर्मा र आदेश कुमार अग्रवालबीचबाट एक जनालाई प्रमुख, कस्मिरा खातुनलाई उप–प्रमुख उम्मेदवार बनाउने कसरत भइरहेको छ ।