बाँकेमा एक पालिका एक फुटबल मैदान: अध्यक्ष शाही

बाँके जिल्ला फुटबल संघका नवनिर्वाचितको पदभार ग्रहण


बाँकेमा प्रत्येक पालिकामा कम्तिमा एउटा फुटबल मैदानका लागि पहल थालिएको छ । बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले त्यसका लागि स्थानीय तहसँग आवश्यक समन्वय गरिएको बताए ।


नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण कार्यक्रममा शनिबार अध्यक्ष शाहीले नेपालगन्ज गोल्डकपको निरन्तरता र महिला गोल्डकपको थालनी घोषणा गर्दै भने, ‘अबको योजनामा हामीसँग अनुकूल केन्द्र हुनेछ, देखिने गरि राम्रा अभियान थालिनेछन् ।’ उनले एन्फामा बाँकेको दरिलो उपस्थिति हुने उद्घोष गर्दै आफु उम्मेदवार हुने संकेत गरे ।

अध्यक्ष शाहीले फुटबलको विकासका निम्ति नयाँ टिमले उर्जाशील भएर काम गर्ने विश्वास दिलाउँदै भने, ‘पछिल्लो समय बिषम परिस्थितिका कारण चाहेर पनि फुटबलको विकासका निम्ति धेरै काम गर्न सकिएन, अबको नयाँ टिमले त्यसलाई पूर्ति गर्नेछ ।’


अध्यक्षको तेस्रो कार्यकालको जिम्मेवारी सम्हालेका शाहीले आफु अब अभिभावक भएर काम गर्न चाहेको जनाउ दिंदै पुस्तान्तरणको संकेत गरे । उनको भनाइ थियो, ‘नयाँ पुस्तालाई आफनो क्षमता देखाएर काम गर्ने यो उत्कृष्ट अवसर हो । अब विगतको जस्तो फुटबलमा हुँदैन । हामी सबै मिलेर फुटबलको विकास गर्ने हो ।’


निर्वाचन अपिल समितिका प्रमुख अधिवक्ता प्रभाकर भट्टराई, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरे र नेपाल खेलकुद पत्रकार मंच बाँकेका अध्यक्ष जयनारायण शाहले बाँके जिल्ला फुटबल संघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

फुटबलको विकासका लागि पत्रकार र फुटबलकर्मी सधै एकै ठाउँमा भएर काम गरेको पत्रकार झलक गैरेले बताए । उनले भने,‘फुटबलको विकासमा भोजराज सहितको टिमको धेरै ठुलो योगदान छ । लगानी छ । बाँकेको फुटबलले सहि नेतृत्व पाएको छ । अब यसले सबैलाई एकताबद्ध गराउँदैं फुटबल विकासमा जोडनु पर्छ ।’ उनले निर्वाचनबाट छुटेकालाई समेटेर अगाडी बढ्न अध्यक्ष शाहीलाई सुझाव पनि
दिए ।


अधिवक्ता भट्टराईले फुटबलले समाजलाई एकताको शुत्रमा बाध्ने काम गरेको भन्दै सानै उमेरदेखि बालबालिकालाई फुटबल खेल्नमा प्रेरित गर्नु पर्ने धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार कमल खत्रीले गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया