अहिले नेपाली राजनीतिको मैदानमा चुनावी लू चल्न थालेको छ । गठबन्धन देखि बिलखबन्धनसम्मका कथाहरु छताछुल्ल भएका छन् । नेपाली राजनीतिमा नीति, सिद्धान्तको अब कुनै भिन्नता रहेन । वर्तमान सत्ताका आसपास रहेका कुनैपनि पार्टीहरुबाट नेपाल सापेक्षता, न्यूनतम जिम्मेदारी र जवाफदेहिता भन्ने कुराको अपेक्षा पनि रहेन ।
पद, पैसा, पावर कै लागि एकले अर्कोलाई सिध्याउनै लागिपर्ने, पार्टी नीति सिद्धान्त वा आर्दश भन्ने तत्व केहि नचाहिने वर्तमान व्यवहारले देखाएको छ । नेपालको राजनीतिमा जतिसुकै कित्ताका वा जतिसुकै नामका पार्टीहरु धरातलमा देखिएता पनि सारमा मात्रै एकै पार्टी हुन भन्ने नाम, काम, कर्म, सिद्धान्त र व्यवहारले सिद्ध गरिसकेकोे छ ।
२००४ सालमा नेपाली काँग्रेस पार्टी स्थापना हुँदा यसले बोकेको बहुलबाद र ब्रिटिशहरुको संसदीय व्यवस्था थियो । २००६ सालमा कम्यूनिष्ट पार्टीको स्थापना गर्दा तत्कालीन ब्रिटिश ब्यवस्थाको बिरोधमा उठेको रसियाको जस्तो अरुको अस्तित्व नै नस्वीकार्ने जबरजस्र्ती व्यवस्था थियो । तत्कालीन विश्वमा चलेका मौलिक शासनहरु इतर चलेका व्यवस्थाहरु यिनै दुइवटा मात्रै थिए ।
नेपालको माटोमा यिनीहरुको विकास भिन्नै हावापानीमा भयो । आदीकाल देखि नै विश्वको केन्द्र रहेको नेपालमा यस्ता व्यवस्थाहरुको सोहि रुपमा विकास सम्भव नै थिएन । तर त्यस्तो व्यवस्थाको फोटोकपि ल्याएर नेपालीलाई मूर्ख बनाउँदै गर्दा नेपालको मौलिकताले ती व्यवस्थाको रंङ्ग मात्रै फेरेन रुप पनि फेरिदियो । पौराणिक कालदेखि नै सहृदयता र सहअस्तित्वमा विकास भएको नेपाली हावामा न त ब्रिटिशवादीहरुको ‘पोलिनेशन’ हुन सक्यो न रसियन समाजवादीहरुको नै ‘पोलिनेशन’भयो ।
यहाँको माटोमा ‘जर्मिनेशन’ हुन नसकेको र तथाकथित ‘जर्मिनेट’ भएको डाँटमा लागेको फूलमा फललाग्ने गरि ‘पोलिनेशन’हुन सकेन । नेपालमा यी दुवै व्यवस्थाका बिभिन्न नाममा डाँठ त लाग्यो तर फल लाग्नै सकेन । बीना फलको डाँठको भारि बोकेर नेपाली जनताहरुलाई अनवरत रुपमा उल्लू बनाइँदै गइयो ।
आफ्नैलाई गाली गरेर, आफ्नै बीऊ मासेर, आफ्नै थिति भत्काएर जबरजस्र्ती ठड्याएको बहुमत र दुईतिहाइका सबै हाँगाबिँगाहरु समयले न घाँस न दाउरा हुने गरि कामै नलाग्ने बनाइदियो । अब त यी राजनीतिक दलका परचुन दोकान हुनुपर्ने कुनै कारण पनि रहेन । चुनावचिन्ह फरक हुनुपर्ने पनि कुनै कारण रहेन । यिनीहरुको मूल एकैठाउँ, जरोकिलो नै विदेश मै भएपछि नेपाली जनतालाई झुक्याउन अलगअलग पार्टीको नाटक गर्नुपर्ने कारण पनि देखिँदैन ।
गलत बीऊको उत्पादनहरुलेआफ्नै माटोसँग विश्वास नगरि, आफैले टेकेको माटोसँग बैमानी गर्दै दशकौं देखि गद्दारी गर्न थाले ।आफैबस्ने दरबार देखि आफ्नै अस्मितालाई लिलामी गरे । छालाको रंगका आधारमा विज्ञता आँकलन गर्ने र मौलिकतालाई गाली गर्नेहरु नै अग्रगमनकारी बनेको प्रचार गरे , पुरस्कृत पनि गरे ।
मेरा मान्छे र हाम्रा मान्छे नै राम्रा मान्छे भन्दै सत्ताको चास्नीमा डुबुल्कीका श्रंँखलाहरु चल्दै गए । नेपाली सत्ता भनेको नै मेरा र नेपाली अस्मिता बिरुद्ध काम गर्नेहरुको पेवा नै हो भन्ठानेहरुको नै एकछत्र राज हुन थाल्यो । हिसाब, पिसाब र निसाप सबै सक्किएको समाज निर्माणको जग बसाइयो ।
आज यस्तै घनचक्करका बीचमा सात सातवटा संविधान बनाएर पनि नेपालले आफ्नो अस्मिता जोगाउँदै मौलिकताको कसीमा उभिन सकेको छैन । एकैदिनमा दशथरि वाचा गर्ने वाचा फेर्ने प्रतिष्पर्धा पार्टी र नेतामा छ । जनताको आधारभूत समृद्धि गौण छ । राज्यको ढुकुटी गरीब जनताका छोराछोरी विदेशी भूमिमा गएर बेचेको श्रमको मोलबाट र विदेशीसँग लिएको ऋणबाट मात्रै टिकेको छ । जनताको भोट लिएर पेरोलबाट तलबभत्ता खाने र विदेशी एनजीओहरुका ऐजेण्डा लागू गर्ने काम यिनै पार्टीहरुले गरिरहेका छन् ।
जनताको करबाट करोडौंका गाडी, अलिशान महल, शानोसौकत जिन्दगी चलेको छ । विदेशी बैंकबाट ऋण काढेर मन्त्री देखि सन्त्रीसम्मको तलबभत्ता र सुविधा थपिएको छ । प्यासाहरुले पानीको थोपासम्म नपाएको चिन्ता छैन तर भ्यूटावर कसले अग्लो बनाउने भन्ने दौड छ ।
काकाकूल काठमाण्डौंबासीमा आशाको मेलम्ची २०४८ साल देखि झण्डै खर्बको नजिक खर्च गरेर आठ नौ पटक उद्घाटन माथि उद्घाटन गर्दा कति खर्च भयो हिसाब छैन, तरपनि पानीको थोपा काठमाण्डौं बासीको भान्सामा खसेको छैन । ज्यालादारी मजदूरहरुसँग समेत असुलेको सामाजिक सुरक्षा कर र पेट्रोलमा असुलेको जलविद्युत कर कसको गोजीमा के कति जम्मा भयो अत्तोपत्तो छैन ।
बाटाहरु काला भएको कुन रंङ्ग हालेर हो त्यसको किटान छैन ।
बन्दै छ भत्किँदै छ भएको छ । वडा देखि केन्द्रसम्म धेरै नेताका निर्माण कम्पनी, खोलानाला कब्जा र ठेक्कापट्टाका भागबण्डा भएका
छन् । सिमेन्ट कम्पनीहरु चले चलेनन् मालिकहरु जानुन तर पहाड भत्काउने देखि बैंक डुबाउने काम पनि चलेकै सुनिन्छ । हिजो क्रान्तिका नाममा लूटिएका झण्डै ९४ वटा बैंक शाखाहरुको हिसाब खोज्न कोहि चाहँदैन ।
लाउडा धमिजा हुँदै वाइड बडीसम्म, सेक्यूरीटिी प्रेस, सुनकाण्ड, एनसेल देखि यति ओम्नी र बालुवाटार जग्गा काण्डसम्म, कोशी गण्डकी महाकाली पञ्चेश्वर र टनकपुर देखि लिम्पियाधुरासम्म छिमेकीलाई चढाएउनेह्रु आजपनि सत्ताको गलियारामा छन् । यीनै पार्टीहरु मिलिमिली खाएको भन्ने कुरा लुकेको छैन ।
२०४६ साल देखि आजसम्म उहि व्यक्ति र उहि प्रबृतिको बोलबाला बाहेक नूतनविनतम् केहि छैन । युवाहरु यस्तैका हरुवाचरुवा झैं पछिपछि लागेको लाग्यै छन् । फेरि जनताले यिनै यस्तै पार्टीहरुबाट हरेक चुनावका बेला आफ्नो कल्याणपत्रको खोजि गरेका छन् ।
आज नेपालको कर्मचारीतन्त्रमा पार्टी छ । उपचारमा पार्टी छ । शिक्षामा पार्टी छ । स्वास्थ्यमा पार्टी छ । न्यायमा पार्टी छ । सुचनासंचारमा पार्टी छ । खेतमा पार्टी छ । गोठमा पार्टी छ । दोकानमा पार्टी छ । उद्योगमा पार्टी छ । योजनामा पार्टी छ । खजनामा पार्टी छ । मन्दिरमा पार्टी छ । क्लबमा पार्टी छ । चेतनामा पार्टी छ । विकासमा पार्टी छ । सँस्कृतिमा पार्टी छ । सरुवाबढुवा देखि देशको कुटनीतिक नियोगमा पार्टी छ । जहाँतहाँ पार्टी कित्ताकाट छ । स्वार्थमा मिल्दा एक पार्टी छ । स्वार्थ बाझ्दा निषेध र धर्मबिहीनताको स्थिति छ । यो पुरै फेहरिस्तमा नेपाल कहिँ कतै यी पार्टीहरुको कुनै प्राथमिकतामा छैन ।
अबपनि नेपाली जनताले चाहेको उनैलाई हो त ? एउटा अनुत्तरित प्रश्नबनेको छ । नेपाल र नेपाली मौलिकता मास्नेहरु, धर्म बेचेर संसार चाहर्नेहरु, बन्दुक देखाएर डकैती नै गरेर सम्पत्ती जोड्नेहरु र उनलाई उछिनेर विदेशीको छाँया र माया पाउँन कुद्नेहरुलाई जिरोबाट हिरो बनाउँदै गर्दा नेपाली जनतामा भ्रम पक्कै भएको हो ।
यी पार्टीहरु र त्यसका नेताहरुलाई बिगत ३३ बर्ष देखि नै जाँची सकेको हो । नेपालको इतिहासमा सबैभन्दा बढि सत्तासीन रहेका राणाहरु थिए त्यसपछि त यिनै काँग्रेस र कम्यूनिष्टहरु भएका छन् । राणाहरुले अँग्रेजसँग साँठगाँठ गरेर नेपाल बचाए तर यिनीहरुले त्यहि अँग्रेजसँग मिलेर नेपाल बेचिरहेका छन् ।
पटकपटक नेपाल र नेपाली हितका लागि भन्दा अन्यमुलुकको हितका लागि काम गरेकोयिनकै पछिल्ला उदाहरणबाट नाङ्गिइसकेको छ । यस्ताबाट यसपटक सत्तामा आउँदा नेपाल र नेपालीको वास्तविक हित रक्षामा लाग्छन् भन्ने कल्पना कसरी गर्नू ? नेपालको धर्मसँस्कार, सँस्कृति, भाषा सभ्यता र नेपाली मौलिकताको रक्षा गर्छन् भन्ने आशा कसरी गर्नू ?
अब त के कनै गर्छन यिनले भनेर जताततै बुरुक्क बुरुक्क किन उफ्रिर्नु ? नेपाली अस्मिता नेपाली मौलिकता मास्ने जुनकुनै एजेण्डामा यिनीहरु तनमनले नै एउटै मोर्चा भएकोबाट अब नेपालमा ब्यवहारत कुनै फरकफरक पार्टी होइन स्वार्थबन्धन पार्टी मात्रै छ । यहि नै विगतको इतिहासको साक्ष्य हो ।
यिनीहरुले पटकपटक सत्तामा उपरखुट्टि लगाउँदा गरेका विगतका कर्म किन यति छिटो नेपालीले बिर्सेको ? कहिले दिल्लीको स्वार्थ, कहिले वाशिङ्गटनको स्वार्थ, कहिले यूरोपियनहरुको स्वार्थ त कहिलेमक्का, भ्याटिकन र यरुशेलमको स्वार्थ बोकेर नेपाली अस्मिता धुजाधुजा पार्ने उनै स्वार्थीजमातबाट हामी नेपालीहरुले फेरि पनि कस्तो आशा गर्ने ? कुन चाहिँ चमत्कारको अपेक्षा गर्ने ? नेपाली अस्मितालाई अझै कतिपटक चीरहरण भएको हेर्ने ? टुटेको आशा र भरोसामा आफ्नो शक्ति किन खेर फाल्ने ?
अब त नेपाल मै जरो र नेपाल मै किलो भएको शुद्ध नेपाली मौलिकता प्रति इमान्दार नेपाली पार्टी खोज्ने बेला भएन र ? विगत ७० बर्ष र पछिल्लो ३३ बर्षमा नगरेको यी पार्टीले के गर्छन् ? भन्ने के आशा राख्ने ? विचार गरौं ।