आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । देशभरसँगसँगै बाँकेमा पनि निर्वाचन लक्षित सुरक्षा योजना अन्तर्गत विभिन्न कार्यहरु भैरहेको छ । त्यसक्रममा जिल्ला प्रशासन कार्यालय बाँकेले गत चैत्र १६ गते बाँकेमा जनताले लाइसेन्स लिएर राखेका हतियार नजिकको प्रहरी इकाइ तथा जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाउन निर्देशन जारी गर्यो । प्रशासनले चैत्र मसान्तसम्म हतियार बुझाउन सूचना जारी गरेपनि बाँकेमा त्यसको बेवास्ता भएको छ ।
निर्वाचनका बेला जनतासँग रहेका हतियार सुरक्षा प्रशासनको टाउको दुखाइ बनेको छ । यद्यपि, सुरक्षा अधिकारीहरु यसअघिका निर्वाचनमा हतियारको दुरुपयोग भएको नपाइएकाले हतियार संकलनमा खासै चासो राखेको पाइँदैन । उनीहरु बर्षौ अघि अनुमति लिएर राखिएका हतियार काम नलाग्ने अवस्थामा रहेको अनुमान गर्दछन् । सुरक्षा अधिकारीहरु अझै हतियार बुझाउन ल्याए सूचना अनुसार म्याद सकिएपनि संकलन गरिने बताउँछन् । ‘हतियार बुझाउन ल्याए सुरक्षित राखेर निर्वाचन पछि फिर्ता दिइनेछ’, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले भने ।
बाँकेबाट ५ सय ५५ जनाले हतियार राख्नका लागि अनुमति लिएको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिनु भएको छ । ५ सय ५५ जनासँग करिब १ हजारको हाराहारीमा हतियार रहेको अनुमान छ ।
बाँकेमा ठूलो परिणाममा लाइसेन्स वाला हतियार रहेको अनुमान गरिएपनि ७ वटा मात्रै हतियार संकलन भएको बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिएका छन् । ‘प्रहरी इकाइमा सात वटा मात्रै हतियार जम्मा भएको छ’, न्यौपानेले भने । प्रहरीमा बुझाइएका हतियार एकनाले बाह्रबोर हो ।
प्रशासनको निर्देशन अटेरी गरेर हतियार नबुझाइए पनि प्रशासनले हतियार बुझाउनका लागि म्याद नथपेर ल्याए बुझ्ने बताएको छ । ‘अब रेकर्ड हेरेर सम्पर्क गरेर हतियार बुझाउन भन्नेछौं’, प्रमुख जिल्ला अधिकारी खत्रीले भने, ‘चेकजाँच सूरु भएपछि थप हतियार आउनेछ ।’
जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रक्रिया अगाडि बढाएर इजाजत लिइएपनि हतियार नविकरण अन्य जिल्लामा पनि गर्न सकिनेछ । प्रशासनसँग कति हतियार बाँके मार्फत इजाजत लिएर बाहिरी जिल्ला गए भन्ने तथ्यांक रहेको छैन ।
यसपटक मात्रै होइन यसअघि २०७४ सालका निर्वाचनमा पनि निर्वाचनका बेला हतियार माग्दा न्यून मात्रामा हतियार प्रहरीमा जम्मा भएका थिए । अहिले त झन् इजाजतको तुलनामा नगन्य मात्रामा हतियार प्रहरीसम्म पुगेको छ ।
२०७४ सालमा प्रशासनको तथ्यांक अनुसार, बाँकेमा ३ सय भरुवा बन्दुक र ५ सय ३४ वटा बाराबोर रहेको थियो । जिल्लामा पेस्तोल ७ वटा, बाराबोर एक नाले १७७, २ नाले २४१, राइफल ८८, एरगन ३, ३२ बोर ३ थान रहेको थियो । जसमा सर्टगन २ थान, १६ बोर राइफल ४ थान सहित बाँकेमा ८ सय ३४ वटा हतियार थिए । त्यसपछि पनि प्रत्येक बर्ष हतियार इजाजत नविकरण तथा नयाँ हतियारको अनुमति लिने क्रम रहेको छ । अन्य जिल्लाबाट यहाँ आउने र यहाँबाट अन्य जिल्लामा जाने क्रम पनि रहेको प्रशासनका अधिकारी बताउँछन् ।
खासगरी सीमावर्ती जिल्लामा इजाजतवाला भन्दा अवैध हतियार चिन्ताको विषय बन्दै आएको छ ।
भारतबाट भित्रिने यस्ता अवैध हतियार र नेपालमै उत्पादित साना–घरेलु हतियार सुरक्षा चुनौती बन्दै गएको पाइएको छ । विभिन्न स्थानमा भएको आपराधिक क्रियाकलापमा साना हतियार त्यसमा पनि कटुवा पेस्तोलको प्रयोग हुने गरेको छ । मानिसहरुलाई धम्क्याउन, चोरी शिकारी गर्नका लागि अवैध हतियार भित्र्याउने गरिन्छ ।
बाँकेमा विगत तीन बर्षको अवधीको हातहतियार तथा खरखजाना मुद्दा बढ्दो क्रममा रहेको पाइन्छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, बाँकेमा अवैध हातहतियार सम्बन्धी मुद्दा आ.व. ०७५/०७६ मा ५ वटा, आ.व. ०७६/०७७ मा ५ र आ.व. ०७७/०७८ मा बढेर १४ पुगेको छ । प्रहरीले आफ्नो सुरक्षा संयन्त्र परिचालन गरेर बेलाबखत अवैध हतियार सहित मानिस पक्राउ गर्ने गरेको छ ।
बाँकेमा अपराधिक घटना घटाउने मानसिकताले हतियार भित्र्याउने गरेको पाइन्छ । चालु आर्थिक बर्षको साउनमा जिल्ला प्रहरी कार्यालय बाँकेले एक÷एक थान बन्दुक र पेस्तोल सहित एक व्यक्तिलाई पक्राउ गरेको छ । नरैनापुर गाउँपालिका वडा नं. ६ स्थित छोटेलाल राढले हतियार बिक्री गरिरहेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनलाई भरुवा बन्दुक र पेस्तोल सहित पक्राउ गरेको थियो ।
चालु आर्थिक बर्षको ६ महिनामा तीन पटक बाँके प्रहरीले हतियार बरामद गरेको छ । हतियार सहितको डकैती, डुडुवा गाउँपालिका चेकजाँचका क्रममा अटोमेटिक पेस्तोल, गोली नौ थान बरामद बाँके प्रहरीले गरेको थियो ।
गत आ.व.मा १ सय ६५ नविकरण
१ लाख ७७ हजार ६ सय ८८ राजश्व संकलन
गत आर्थिक बर्ष २०७७÷०७८ मा बाँकेमा १ सय ६५ वटा हातहतियार नविकरण भएको जिल्ला प्रशासन कार्यालय बाँकेको तथ्यांक रहेको छ । लाइसेन्स लिएर हतियार लिएकाले हतियारको नविकरण अनिवार्य रहेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, १८ जना हातहतियार नामसारी गत आ.व.मा गरेका छन् । प्रशासनले हतियारको इजाजत नविकरणबाट गत आ.व.मा १ लाख ७७ हजार ६ सय ८८ राजश्व संकलन गरेको छ ।