विचार

कुनै पनि गतिविधि सञ्चालन हुँदा सो गतिविधि कहाँ, कुन प्रक्रियाद्धारा, कसरी र कहिले सम्पन्न भयो भनी गहनतम रूपमा अवलोकन र विश्लेषण गर्नु नै पर्यवेक्षण हो । निर्वाचन प्रक्रिया विधिसम्मत् ढङ्गबाट सञ्चालन भएको छ, छैन भन्ने विषयमा तालिम प्राप्त पर्यवेक्षकद्धारा स्वतन्त्र एवं निष्पक्ष रुपमा स्थलगत अध्ययन–अवलोकन गर्ने कार्यलाई निर्वाचन पर्यवेक्षण भनिन्छ ।

निर्वाचनको पर्यवेक्षण निर्वाचनका सहभागीहरूमा निर्वाचन प्रक्रियाका बारेमा विश्वास जगाउन गरिन्छ । यसै गरि मतदाताहरूलाई निर्वाचन निष्पक्ष हुन्छ भन्ने वातावरणको विश्वसनीयता दिलाउन, दलहरूको निर्वाचन अभियान, सञ्चार माध्यमहरूको भूमिका र सरकारी पक्षबाट स्रोत साधनको दुरूपयोग भए नभएको बारे मूल्याङ्कन गर्न, नागरिकहरूको राजनीतिक व्यवस्था र दलहरू प्रतिको सम्मानलाई दृष्टिगत गरी लोकतान्त्रिक व्यवस्थामा हुन सक्ने सुधारका अवसरहरूको पहिचान गर्न, भविष्यमा निर्वाचन प्रक्रियामा गरिनुपर्ने सुधारहरूबारे निर्वाचन व्यवस्थापन गर्ने निकायहरुलाई सुझाव दिन, निर्वाचनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता बढाउन, लोकतान्त्रिक राजनीतिक पद्धतिलाई संस्थागत गर्न, स्वतन्त्र, निष्पक्ष एवं निर्भयताका साथ मतदानको वातावरण बनाउन, राष्ट्रियस्तरमा जनविश्वसनियता र वैद्यता कायम गर्न, निर्वाचनको नतिजालाई अन्तर्राष्ट्रिय मान्यता र वैद्यता सुनिश्चित गर्न, विगतका राजनीतिक तिक्ततालाई मेलमिलापमा रूपान्तरण गर्न, निर्वाचनको क्रममा हुनसक्ने आपराधिक÷अवाञ्छित क्रियाकलाप निरुत्साहित गर्न, सरकारी साधन÷स्रोतको दुरुपयोगलाई निरुत्साहित गर्न, निर्वाचनमा सम्भाव्य अनियमितता रोक्न, मतदाता र राजनीतिक दललाई निर्वाचनको स्वतन्त्रतामा भरोसा प्रदान गर्नका लागी पर्यबेक्षकहरुले निर्वाचन पर्यबेक्षण गर्ने गरिन्छ ।

आगामी बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचन पर्यवेक्षण गर्नु वर्तमान समयमा चुनौती र अवसर दुवै हुन् । नियोकको पर्यवेक्षणमा लामो अनुभव र अभ्यस्तता भएता पनि गणतन्त्रको स्थापना पछिको दोश्रो पर्यबेक्षण भएकाले अघिल्लो निर्वाचन पर्यबेक्षणबाट धेरै कुराको सिकाई भएको छ । यस पटकको निर्वाचन पर्यवेक्षण विगतका पर्यवेक्षणको तुलनामा कतिपय ढंगले पृथक, बैज्ञानिक एवं प्रमाणजन्य बनाउन जरुरी छ । बिगतको निर्वाचन पर्यवेक्षणका क्रममा परम्परागत अभ्यासका अलवा निम्न तीन वटा विधिहरू अवलम्वन गरिएको थियो । जसमा द्वन्द्व–संवेदनशिल निर्वाचन पर्यवेक्षण (हानी–नोक्सान रहित विधी), निर्वाचन जोखिम व्यवस्थापन (पूर्व–सावधानी अवलम्वन विधि) र पर्यवेक्षण कल सेन्टर (स्थलगत जीवन्त सूचना संकलन विधि) मुख्य थिए । अवको स्थानिय तहको निर्वाचनलाई स्वच्छ, निश्पक्ष, मर्यादित र धाधलीरहित तवर निश्पक्ष रुपमा सम्पन्न गराउनमा निर्वाचन पर्यबेक्षणको मुख्य भुमिका भएकाले यी कुरामा राखी निर्वाचन पर्यबेक्षण गरिनु पर्दछ ।

पर्यवेक्षकहरूले सम्पूर्ण निर्वाचन प्रक्रियाको जस्तै निर्वाचन व्यवस्थापन र सञ्चालनका सन्दर्भमा सुरक्षा, मतदाता नामावली संकलन परीक्षण, मतदानशिक्षा, निर्वाचन अभियान, संचार माध्यम, मतदान कार्य, मतगणना र परिणाम घोषणा आदिको सम्पूर्ण कार्यको पर्यवेक्षण गर्न सक्छन् । पर्यवेक्षकहरू आफै निर्वाचन प्रक्रियामा संलग्न भै कार्य गर्दैनन् तर निर्वाचनका सम्पूर्ण कार्यको पर्यवेक्षण गरी निर्वाचनको स्वतन्त्रता कायम गर्न ठोस सुझाव सहितको प्रतिवेदन दिने काम गर्दछन ।

आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई राजनैतिक दलहरुले प्रतिष्ठाको बिषय बनाएका छन् । निर्वाचन जित्नका लागी राजनीतिक दलहरुले गठबन्धन तालमेल र चुनावी रणनीतिक बनाई रहेका छन् । यस सन्दर्भमा निर्वाचन जित्नका लागी जे पनि गर्न सक्ने कुरालाई बेलैमा रोक्न र स्वच्छ निश्पक्ष र भयरिहत एवं बिश्वनिय वातावरणमा निर्वाचन सम्पन्न गर्नमा निर्वाचन पर्यबेक्षणले महत्वपुर्ण भुमिका खेल्न सक्ने भएकाले यसका लागी निर्वाचन पर्यबेक्षकहरु बेलैमा तम्तयारी रहन जरुरी छ । स्थानिय तहको निर्वाचनमा स्थानिय तवरमा हुने अनुचित चलखेल रोक्न स्थानिय तवरमा पर्यबेक्षकहरु खटाई पर्यबेक्षण गर्न सकेमा सम्भावित अनियमित कार्य रोक्नमा समेत मद्धत गर्दछ ।


निर्वाचन पर्यवेक्षकले पालना गर्नुपर्ने आचरण

पर्यवेक्षक परिचयपत्र सबैले देख्ने गरी लगाउनु पर्दछ । मतदानकेन्द्र लगायतका निर्वाचन प्रक्रियामा संलग्न सबै निकायहरूमा जाँदा पर्यवेक्षकले शिष्टाचारको पालना गर्नु पर्दछ । पर्यबेक्षकले आफूलाई अनुमति प्राप्त क्षेत्रको मात्र पर्यवेक्षण गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगको सम्मान र प्रतिष्ठामा आँच आउने कुनै कार्य गर्न हुदैन । स्वतन्त्र, निष्पक्ष, तटस्थ एवम् वस्तुनिष्ठ ढङ्गले निर्वाचन पर्यवेक्षण गर्नुपर्दछ । कुनै राजनीतिक दल वा उम्मेदवार प्रति झुकाव वा पूर्वाग्रह राख्नु हुदैन । निर्वाचनका सरोकारवालाहरूलाई आक्षेप लगाउने किसिमको व्यवहार गर्नु, गराउनु हुदैन । कुनै राजनैतिक दल वा उम्मेदवारको समर्थन वा विरोध हुने गरी पर्यवेक्षकहरूले चिन्ह, व्याच लगाउन वा अन्य कुनै माध्यमद्वारा प्रचार–प्रसार वा प्रदर्शन गर्न गराउन हुदैन । निर्वाचन कार्यमा खटिएका कर्मचारीहरूलाई सल्लाह दिन, सूचना प्रदान गर्न र कानूनको व्याख्या गर्न हुदैन । मतदान केन्द्रमा उठेको विवाद समाधान गर्न, निर्वाचन परिणाम प्रमाणित गर्न वा प्रमाण लाग्ने किसिमले वक्तव्य प्रकाशन गर्न गराउन हुदैन । कुनै मतदान केन्द्रमा मतदान भईरहेको समयमा मतदान कार्यलाई असर पर्ने किसिमको कुनै सूचना प्रवाह गर्न वा वक्तव्य दिन वा अवाञ्छित क्रियाकलाप गर्न गराउन हुदैन । निर्वाचन कार्यमा खटिएका कर्मचारीहरूको कर्तव्य पालनामा असर पार्ने गरी कुनै किसिमको बाधा अड्चन उत्पन्न हुने कुनै कार्य गर्न गराउन हुदैन । मतदान केन्द्रभित्र मतदान अधिकृतको अनुमति लिएर तोकिएको अवधिभित्र मात्र पर्यवेक्षण गर्नुपर्दछ । सुरक्षा संवेदनशीलताको कारण निषेध गरिएका स्थान र मतदान केन्द्रहरूको पर्यवेक्षण गर्नु हुदैन । पर्यवेक्षणमा जाँदा मतदान अधिकृतबाट अनुमति लिएर कामसँग सम्बन्धित उपकरण मात्र प्रयोग गर्नुपर्दछ । आवश्यक भएमा मतदातासँग सामान्य जानकारी लिन बाहेक मतदाताको गोप्यता भङ्ग हुने वा मतदानको स्वच्छता र निष्पक्षतामा आँच आउने एवम् मतदान कार्य वा क्षेत्रमा वाधा उत्पन्न हुने किसिमबाट कुनै कार्य गर्न हुदैन । निर्वाचन अधिकृत वा मतदान अधिकृतले स्वीकृति दिएमा बाहेक मतदानकेन्द्र लगायतका निर्वाचन प्रक्रियाको तस्वीर खिच्न हुदैन । तर निर्वाचन अधिकृत वा मतदान अधिकृतवाट स्वीकृत पाएको अवस्थामा तस्विर खिच्दा मतदाताले मत सङ्केत गरेको तस्विर खिच्न हुदैन । निर्वाचन अधिकृत वा निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम घोषणा गर्नुअघि उम्मेदवार विजयी भएको सूचना सम्प्रेषण गर्नु गराउनु हुदैन ।

निर्वाचन पर्यबेक्षकले ब्यवसायिक आचारण बिपरित कार्य गरेमा निर्वाचन आयोगबाट जारी गरिएका नियम, निर्देशिका, निर्देशनहरूको उल्लघंन गरेमा निर्वाचन पर्यवेक्षण अनुमति पत्र खारेज हुन्छ । निर्वाचनमा कुनै उम्मेदवार वा राजनीतिक दलप्रति झुकाव देखिने व्यवहार प्रस्तुत गरेमा, आयोगबाट निर्वाचनमा खटिएका कर्मचारीहरूको कत्र्तव्य पालनमा कुनै व्यवधान खडा गरेको पाइएमा, निर्वाचन पर्यवेक्षण सम्वन्धी आचार संहितामा उल्लेख भएका अन्य प्रावधानहरूको उल्लङ्घन गरेमा पनि पर्यबेक्षकको पर्यबेक्षण अनुपति पत्र खारेज हुन सक्दछ ।

गत निर्वाचनमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले नेपालमा पहिलो पटक निर्वाचन पर्यवेक्षण सूचना संकलन, सम्प्रेषण र प्रवाहको निम्ति ‘कल सेन्टर’स्थापनाको अभ्यास विगत स्थानीय तह निर्वाचन पर्यवेक्षणको सन्दर्भमा आरम्भ गरेको थियो । आसन्न निर्वाचनमा समेत केन्द्रीयस्तरमा कल सेन्टर मार्फत प्रत्यक्ष सुचना संकलन गर्दा तत्काल देशका बिभिन्न भागमा के कसरी निर्वाचन भईरहेको छ भन्ने बारेमा तथ्य संकलन र जानकारी हासिल गर्न सकिन्छ । मतदानको दिन निर्वाचनस्थल तथा केन्द्रमा खटिएका पर्यवेक्षकहरूसँग प्रत्यक्ष एवं जीवन्त सम्पर्क कायम गरी ताजा सूचना संकलन गर्नमा यसले मद्धत गर्दछ ।

कल सेन्टरमा तालिम प्राप्त व्यक्तिहरूले सूचना संकलन गर्ने, अभिलेखिकरण गर्ने लगायत निर्वाचन स्थलमा उल्लेखनीय घटनाहरू भए पर्यवेक्षकहरूले कल सेन्टरमा अवस्थित चौविस घन्टे सेवा सहितको टेलिफोन लाइनमा सोझै फोन सम्पर्क गर्ने व्यवस्था गरिएको गर्दा त्यो बढी प्रभावकारी बन्न सक्दछ ।

निर्वाचन पर्यबेक्षक न्यायाधीश होईनन । उनीहरु निर्वाचन पर्यबेक्षण गर्ने बहानामा जे पनि गर्न पाउदैनन । उनीहरुले पनि निर्वाचन ऐन, नियम र ब्यशायिक मर्यादा र आचारण पालना गर्नु पर्ने हुन्छ । उनीहरु प्रहरी होईनन भने स्वयमसेवक र कुनै बिषयमा निर्णय दिन सक्ने अख्तियारवाला ब्यक्तिहरु पनि होईनन । तर निर्वाचनको स्वच्छता भए नभएको हेर्ने काम भने निर्वाचक पर्यबेक्षकले पक्कै गर्दछन ।
अतः निर्वाचनलाई निश्पक्ष स्वतन्त्र र बिश्वसनिय निर्वाचन पर्यबेक्षकको भुमिका महत्वपुर्ण हुने भएकाले उनीहरुको काममा सहयोग गर्नु सबै सरोकारवाला निकायको दायित्व र जिम्मेवारी पनि हो । निर्वाचन पर्यवेक्षकका काममले स्वच्छ निश्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नमा निर्वाचन आयोग लगायतका सरोकारवाला निकायलाई मद्दत नै गर्ने भएकाले निर्वाचन पर्यबेक्षणमा खटिने संघ सस्था र ब्यक्तिसंग आवश्यक समन्वय र सहकार्य गर्न जरुरी छ । (लेखक राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकमा आवद्ध छन् ।)

प्रतिक्रिया

प्रतिक्रिया