विचार

मैले फेसबुक र टिकटक हेर्ने क्रममा कतै भेटाएको थिएँ यो कथन – एकलिटर पानीको बोतल सडक छेउछाउमा किन्यो भने बीस रुपैयाँ पर्छ, त्यही बोतल होटल रेष्टुरेण्टमा गयो भने त्यसको मूल्य तीस रुपैयाँ पर्छ । बार र क्याफेमा गयो भने त्यसैको मूल्य पचास रुपैयाँ पर्छ । त्यो भन्दा पनि स्टार होटलमा गयो भने त्यसैको मूल्य एक सय रुपैयाँ पर्दछ ।वस्तु उही हो तर उक्त वस्तु कहाँ र कोसँग छ भन्ने कुराले उसको मूल्य र महत्वलाई निर्धारण गर्दछ । यसबाट प्रष्ट हुन्छ कि सँगत कोसँग छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । साथी को छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । जीवनमा के गर्ने र कता जाने भन्ने कुरा नजीकको मन मिल्ने साथी को छ भन्ने कुराले अद्वितीय भूमिका निर्वाह गर्दछ । अमेरिकी कवि रबर्ट फ्रष्टले भनेका छन् – ‘बिच जङ्गलबाट बाटो छुट्टियो । मैले अलि बेचल्तीको बाटो रोजें । सारा फरक त्यसैले पारिदियो ।’यसरी चल्तीको बाटो रोज्ने कि बेचल्तीको बाटो रोज्ने भन्ने सम्बन्धमा नायक आफै भए पनि पर्दा पछाडिबाट कसैले प्रभाव पारिरहेको हुन्छ । त्यो भनेको मन मिल्ने साथी हो ।

नयाँवर्ष लगायत जीवनको सम्पूर्ण कालखण्ड स्वर्णिम बनाउने हो भने साथी असल हुनु आवश्यक छ । हिजोआजका कतिपय साथीहरु चाहे त्यो केटीसाथी होस् वा केटासाथी, समय दिएन भनेर ब्रेक अपमा पुगेका हुन्छन् । ‘म परीक्षाको तयारीमा खट्नु प¥यो, मेरो जागीरमा अलि बढि व्यस्त हुनु प¥यो, हिजोआज घरमा अलि बाबाआमाको हेरविचार गर्ने काममा खट्नु प¥यो’ भनेर जवाफ दियो भने प्रतिउत्तरमा ‘मभन्दा तिम्रो परीक्षा महत्वपूर्ण भयो हैन ? मभन्दा तिम्रो जागीर ठूलो भयो हैन ?मभन्दा तिम्राकाल कुरेर बसेका बाबाआमा ठूला भए हैन ?’ भन्ने जवाफ आउने गर्दछन् । यसबाट सहजै अनुमान गर्न सकिन्छ कि मित्रता वास्तविकतामा भन्दा भावनामा बगिरहेको छ । मित्रता बेहोसीको बाटो भएर हिडिरहेको छ । यस्तो सम्बन्धले निरन्तरता पाउनु भन्दा बे्रक अप हुनु नै राम्रो हुन्छ । आफ्नो साथीको परीक्षाको बारेमा, रोजीरोटी जुटाउन सहयोग गरेको जागिरको बारेमा र साथीका बुढेसकालका बाबाआमाको बारेमा गम्भीर नहुने साथीसँगको सम्बन्ध यसरी नै अघि बढ्यो भने यो सम्बन्धले जीवनमा दुवैलाई सास्ती र हैरानी दिने कुरा करिव–करिव निश्चितप्राय हुन्छ । विशेष गरी किशोरकिशोरीहरुले नयाँवर्ष मनाउदै गर्दा साथीको बारेमा यस्ता कुराहरुको ख्याल गर्नुपर्ने हुन्छ जसबाट मित्रताको गहिराई, पवित्रता र विशालता मापन गर्न सकिन्छ ।

एकजना साथीले आफ्नो ब्रेक अप भएको प्रेम कहानी सुनाउदै थियो,उसको एउटा केटी साथी थियो । पैसा कमाएर स्वदेश फर्केपछि रमाइलोसँग जीवन बिताउने हिसावले उ बिदेश गयो । घरजग्गा बैङकमा धितो राख्नु प¥यो विदेश जानका लागि । विदेश गएपछि पनि निरन्तर कुराकानी भइरहेको थियो । क्रमशः केटीबाट समय घर्कदै जाने क्रममा ‘तिमी फर्केर आएनौ भने मेरो प्राण भेट्ने छैनौ’भन्ने सम्मका चेतावनी मिसिएका कुराहरु अभिव्यक्त हुन थाले । दिनदिनै जस्तो यो क्रम रोकिनुको सट्टा बढेपछि केटो तीन महिनापछि केटीकै कारणले विदेशबाट फर्केर आयो । घरजग्गा धितो राखेर विदेश गएको छोरा तीनमहिनापछि रित्तो हात घर फर्केपछि घरमा अर्को तनाव सुरु भयो । त्यसकै कारणले दिनदिनै घरमा समेत झैझगडा हुन थाल्यो । यही तनावकै बीचमा केटाको उक्त केटीसँगको सम्बन्ध पनि ब्रेक भयो । केटा घर न घाटको भयो । बल्लतल्ल उसका क्याम्पसका केही राम्रा साथीहरुको सहयोगले उ बरबाद हुनबाट जोगियो ।यसरी एउटा साथीले जीवन बरबाद गर्दैछ भने अरु केही साथीहरुले बरबाद हुनबाट जोगाउदैछन् ।

साथी भनेको अप्ठ्यारोमा पार्ने होइन कि अप्ठ्यारोबाट जोगाउने हुनुपर्दछ । यसको हिसाव किताव दुबैले गर्नु आवश्यक छ । सच्चा मित्रता त कसैबाट केही पाउनका लागि भन्दा पनि आत्मसन्तुष्ठीका लागि गरिनुपर्दछ । मित्रतामा पनि व्यापारमा जस्तै नाफा नोक्सानको हिसाव हुन थाल्यो भने त्यो मित्रता मित्रता नभइ व्यापारमा परिणत हुन्छ । आज धेरै साथीहरुको बीचको मित्रता व्यापार जस्तो भएको छ । यो व्यापाररुपी सम्बन्ध त्यत्ति बेलासम्म टिक्छ जतिबेलासम्म साथी सत्तामा हुन्छ, साथी शक्तिमा हुन्छ र साथी पैसावाल हुन्छ । हामीले हरेक दिन, महिना र वर्ष हुदै समग्र जीवनलाई महत्वको हिसावले अद्वितीय बनाउने हो भने साथी राम्रो हुनु आवश्यक छ । साथी पति, पत्नी, प्रेमी, प्रेमिका जो पनि हुन सक्छ । त्यसले जीवनमा पार्ने प्रभाव सकारात्मक हुनु प¥यो । असम्भव काम पनि उसको प्रेरणाले सहजरुपमा सम्पादन गरेका सुखद क्षणहरु जीवनमा बग्रेल्ती हुनु प¥यो । जीवनको हिसाव किताव गर्दा यस्ता असल मित्रहरुको सहकार्यबाट जीवनमा सिनर्जी उत्पादन भएको हुनुपर्दछ । भन्नुको अर्थ असम्भव काम पनि सम्भव भएका हुनुपर्दछ् । जहाँ दुई दुई जोड्दा चार नभइ पाँच वा त्यो भन्दा बढि पनि हुने गर्दछ । अझ अगाडी बढेर भन्नु पर्दा साथी गोइङ टुगेदर भन्दा पनि माथि उठेर ग्रोइङ टुगेदरको भावनाबाट उद्वेलित हुन सक्नुपर्दछ ।

साथी र नयाँ वर्षको मूल्याङ्कन गर्नका लागि सपना एउटा साधन हो । यो पङ्क्तिकारले भनेको सपना सुतेर देख्ने सपना होइन । मेलै भनेको सपना पनि एपिजे अब्दुल कलामले भनेझै नसुतेर देख्ने सपना हो । मित्रता बिस्तारको आरम्भमै जीवनका यस्ता सपनाहरुको आदानप्रदान हुनु आवश्यक छ । जीवनका सपनाहरु भनेको जीवनका चाहना, प्राथमिकता, लक्ष्य र रुचिका विषयहरु हुन् । साथी त हुने वा बनाउने तर जीवनका सपनाहरुको बीचमा तालमेल मिलेन भने अन्ततः एउटाले अर्कोलाई नसघाउने स्थिति देखा पर्दछ । एउटाको जागीर गर्ने लक्ष्य हुन सक्छ, अर्कोको व्यापार गर्ने लक्ष्य हुन सक्छ । यही कारणबाटै मित्रतामा घाउ लाग्न सक्छ । त्यसैले पनि यस्ता कुराहरु मित्रतापूर्व नै टुङ्ग्याउनु आवश्यक हुन्छ । अहिलेको राजनीतिक अवस्थाले घरघरमा मित्रता होइन कि तिक्तता बढेको अवस्था पनि छ । कुन राजनीतिक आस्थाका मान्छे हुन् भनेर पनि हिसाव गरेर मित्रताका हात फैलाउनु पर्ने हुन्छ । भोली त्यही आस्था मित्रता र पारिवारिक विखण्डनको कारण बन्न सक्छ । वा भनौं मित्रता र पारिवारिक सम्बन्ध जोगाउनका लागि एउटाले आत्मसमर्पण गर्नुपर्ने हुन्छ जुन अन्यन्त पिडादायक हुन सक्छ । यस्तो अवस्थामा समाजले समेत यसैलाई मुद्दा बनाएर साथी र परिवारमा किचलो सिर्जना गर्न सक्छ । किनभने हाम्रो समाज हामीले सोचेजति सकारात्मक छैन ।

जीवनमा सपनामा भिन्नता हुनु भन्दा सपना नै नहुनु झन खतरनाक हुने गर्दछ । कतिपयका त सपना नै केही हुदैनन् । भएपनि पशुको भन्दा माथि हुदैनन्, बस खानेपिने रमाइलो गर्ने । यस्ता मानिसहरु आफू र आफ्ना शुभेच्छुकको निम्ति अन्ततः राम्रा हुदैनन् । यिनीहरु अन्ततः जीवनमा कहाँ पुग्छन् त्यो पनि निश्चित हुदैन । जीवनको सपना भनेको जीवनको योजना हो । अलान लेकिनले भनेझै यदि कुनै व्यक्ति वा मुलुकसँग असल बन्ने योजना वा सपना छैन भने त्यो व्यक्ति वा मुलुक स्वभावैले अगतिलो बनिरहेको हुन्छ । किनभने आज संसारमा जति पनि मानिसहरु कुलत र दुव्र्यसनमा फसेर बरबाद भइरहेका छन् ती मानिसहरुसँग असल हुने योजना वा सपना नभएको कारण त्यसरी खराव भएका हुन् । यसैसँग सम्बन्धित अर्को सत्य भनेको जुन मानिसका आफ्ना सपना र योजनाहरु हुदैनन् त्यस्ता मानिसहरु जीवनमा कहिल्यै पनि मालिक हुन सक्दैनन् । तिनीहरु अरुकै सपनाका भारी बोक्ने भरिया र नोकर भएर जीवन धकेल्छन् । त्यसैले साथी बनाउँदा सपनाहरु मिल्छन् कि मिल्दैनन् र सपनाहरु के कस्ता छन् ? वा सपनाहरु नै केही छैनन् ? आदिजस्ता कुराहरुको सुक्ष्म अध्ययन र समीक्षा गरेर साथी बनाउन उपयुक्त हुन्छ । अन्यथा माछोमाछो भन्दाभन्दै अन्ततः भ्यागुतो हुन्छ जिन्दगी ।

कुन वर्र्ष कसको लागि कति असल वा कमसल भन्ने कुरा सपना वा योजना वा लक्ष्यका आधारमा तुलनात्मक विश्लेषण गरी निधो गर्नुपर्ने हुन्छ । कतिपयको कुनै वर्षमा योजना नै केही छैन भने यो भएन र त्यो भएन वा केही उपलब्धि भएन भनेर पुर्परोमा हात राख्नु अर्को मुर्खता हो । गर्ने लक्ष्य पनि नो सपना पनि नो अनि किन यो भएन र त्यो भएन भन्ने ? सपना र लक्ष्य नै नभएका व्यक्तिलाई जिन्दगीसँग गुनासो गर्ने अधिकार पनि छैन जस्तो लाग्छ मलाई त । यत्तिबेला अठहत्तरको समीक्षा र उनासीको योजना बनाउने बेला हो । जोसँग गतवर्षको योजना थियो त्यस्ता व्यक्तिलाई के कति उपलब्धि हासिल भयो भन्ने कुराको हिसाव गर्न सजिलो पनि होला । यदि गतविगतमा त्यस्ता कुनै योजना थिएनन् र यो वर्षको पनि कुनै योजना पनि बनाउने होइन र कुनै सपना पनि देख्ने होइन भने जिन्दगी भगवान भरोसाको भरमा चल्दै जानेछ र अन्ततः जीवन घर्किदै गएपछि बोध हुनेछ कि गर्नु पर्ने काममा त हातै हालिएनछ बरु नगर्नु पर्ने काममा बिनासित्ती हात हालेर जीवन बरबाद गरिएछ । त्यत्तिबेला बोध भएपनि जीवनको पुनर्योजना बनाउनका लागि समय धेरै अघि दौडिसकेको हुनेछ जसलाई भेटाउन सम्भव हुनेछैन ।

नयाँ वर्षमाहामीलाई शुभेच्छुक र आफन्तहरुले उन्नति र प्रगतिका लागि शुभकामना दिएका छन् । हामीमा अलिकति पनिबिवेक छ भने आफन्त र शुभेच्छुकहरुका शुभकामना र आशिर्वादहरुलाई योजना बनाएर कार्यान्वयन गर्नुपर्दछ ताकि अर्को यसैगरी नयाँ वर्ष आरम्भ हुँदा योजनाका यी–यी कामहरु सम्पन्न गरें भनेर समीक्षा गर्न पाइयोस् । त्यसैले म त भन्छु यो वर्षको योजना बनेको भए कार्यान्वयनतिर जुट्ने बेला हो यो । योजना नै बनेको छैन भने यो हप्ता योजना निर्माणको बेला हो । योजना बनाउँदा आफ्ना कमीकमजोरी र समक्षताहरुको पहिचान गरौं । सक्षमताकोसदुपयोग र विकास एवम् कमीकमजोरीलाई न्यूनिकरण गर्नेगरी योजना निर्माण गरौं । हाम्रो सक्षमताभित्र र योजनाको निर्माण गर्ने चरणहरुभित्र हाम्रा अनन्य साथीहरुको पनि योगदान आवश्यक हुन सक्छ र आवश्यकता अनुसार सहयोग लिनुपर्ने र दिनुपर्ने पनि हुन सक्छ ।यो समय प्रतिबद्धता व्यक्ति गर्ने समय पनि हो । मैले उल्लेख गरेजस्तै यो वर्ष सबैका साथीहरु साँच्चिकै साथीजस्ता असल र सहयोगीहोऊन्, असल साथीहरुको सहयोगले जीवनको योजना निर्माण गरी कार्यान्वयन गरेर जीवनका असम्भव सपनाहरु पनि सम्भव हुने क्रममा सफलता मिल्दै जाओस् । जीवन भगवान भरोसामा होइन कि आफ्नो सपना र साथीबाट प्राप्त मित्रता र प्रेरणाका आधारमा व्यवस्थित र योजनाबद्ध बनोस । यसका लागि सबै–सबैलाई नयाँ वर्ष २०७९ को हार्दिक मङ्गलमय शुभकामना ।

प्रतिक्रिया

प्रतिक्रिया