किन गरेर निर्माण व्यवसायीले बाँकेमा निर्माण होलिडे

पछिल्लो समय प्रत्येक वस्तु तथा सेवाहरु महंगिदै गएका छन् । खासगरी पेट्रोलियम पदार्थ तथा फलामजन्य निर्माण सामाग्रीहरु मूल्य वृद्धि हुँदै गएको हो । मूल्यवृद्धि तरकारीदेखि लत्ताकपडासम्ममा भएको छ ।

निर्माण सामाग्री तथा पेट्रोलियम पदार्थ महंगिएपछि निर्माण व्यवसायीहरुले ठेक्का रकम वृद्धि हुनुपर्ने माग गर्दै आएका छन् । ठेक्काका बेला निर्धारित रकम भन्दा निकै कममा ठेक्का हाल्ने निर्माण व्यवसायी निर्माण सामाग्रीको मूल्य बढेपछि अहिले समस्यामा छन् । ‘प्रतिस्पर्धामा ठेक्का पाउनका लागि निर्धारित भन्दा निकै कम मूल्यमा ठेक्का हाल्नु पर्दछ, मूल्य बढ्दा नोक्सान व्यहोर्नु पर्ने अवस्था छ’, एक निर्माण व्यवसायीले भने, ‘अस्वस्थ प्रतिस्पर्धा नै गुणस्तरहीन काम र नोक्सानीको कारक बन्दै गएको छ ।’ निर्माण व्यवसायी भन्छन्, ‘ठेक्का पाउनका लागि कममा टेण्डर हाल्ने र पाएपछि लगानी गर्न नसकेको धेरै उदाहरण पाउन सकिन्छ, यसलाई अझै नियमन गर्न सकिएको छैन ।’

निर्माण सामाग्रीको मूल्य बढेपछि काम गर्न नसक्ने अवस्था भएको भन्दै बाँके निर्माण व्यवसायी संघले सोमबार प्रेस विज्ञप्ति प्रकाशन गरेको छ । निर्माण व्यवसायी संघ बाँकेका अध्यक्ष टेक बहादुर खड्काले विज्ञप्तिमा गत चैत्र ६ गते जिल्ला दररेट निर्धारण समितिलाई लिखित ज्ञापनपत्र बुझाएको र हालसम्म केही निर्णय प्राप्त हुन नसकेको जानकारी दिएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघको गत चैत्र १४ गते भएको राष्ट्रिय भेलाबाट पारित निर्णय सरकारलाई बुझाउँदा पनि हालसम्म केही निर्णय नभएको उल्लेख गर्दै विज्ञप्तिमा अब उप्रान्त जिल्ला तहमा क्रियाशिल साना व्यवसायीहरुले मूल्य वृद्धि वापतको रकम प्राप्त गर्न नसक्ने र अत्याधिक मूल्य वृद्धिका कारणले गर्दा निर्माण कार्यलाई सुचारु गर्न नसिकने भएकाले माग पूरा नहुँदासम्म निर्माण रोकेर ‘निर्माण होलिडे’ गर्ने निर्णय पारित गरिएको उल्लेख छ ।

गत बैशाख ५ गते बसेको निर्माण व्यवसायी संघ बाँकेको कार्यसमितिको बैठकबाट निर्माण कार्यमा प्रयोग हुने फलामजन्य निर्माण सामाग्रीहरु तथा पेट्रोलियम पदार्थको अप्रत्यासित रुपमा मूल्य वृद्धि हुन गएकाले आ.व. ०७८÷०७९ को जिल्ला दररेटलाई आवश्यक संशोधन गरी नयाँ दररेट निर्माणको माग निर्माण व्यवसायीले गरेका थिए ।

यसअघि निर्माण सामाग्रीको मूल्यवृद्धि, सार्वजनिक खरिद (एघारौं संशोधन) नियमावली २०७८ मा भएका त्रुटि सच्याउन, बीमा सम्बन्धी जारी गरिएको निर्देशिका लगायतका प्रावधान संशोधन तथा खारेज गर्न र एकमुष्ठ म्याद थप लगायतको विषयमा निर्माण व्यवसायी महासंघले राष्ट्रिय भेला आयोजना गरेको थियो । निर्माण व्यवसायीहरुले माग गरेको विषय सम्बोधन नभएसम्म विकास निर्माणका काम बन्द गर्ने निर्णय राष्ट्रिय भेलाबाट पारित गरिएको थियो । सोही अनुसार बाँकेमा पनि निर्माण व्यवसायीले प्रेस विज्ञप्ति जारी गरेर निर्माण होलिडेको जानकारी गराएका हुन् । व्यवसायीहरुले मूल्यवृद्धि अनुसारको मूल्य समायोजनको माग गर्दैै आएका थिए ।

पूँजीगत खर्च न्यून भएको, बजारमा तरलता अभाव रहेको अवस्थामा निर्माण होलिडेले अर्थतन्त्रलाई नै नकारात्मक प्रभाव पार्ने अर्थविज्ञहरु बताउँछन् । ‘विकास, निर्माणका काम रोकिने हो भने द्रुत गतिमा विकास खर्च हुने समयमा त्यसले अर्को आर्थिक संकट निम्त्याउन सक्छ’, उनीहरु भन्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया