कोहलपुरमा चुनावी सरगर्मी: गठबन्धनका बसाइ

कुबेरजंग शाही

बाँकेको कोहलपुर नगरपालिकामा आसन्न स्थानीय निर्वाचनको सरगर्मी बढेको छ । सत्तारुढ गठबन्धनको चुनावी तालमेलको अन्योलता हट्दै गएपछि निर्वाचनको सरगर्मी बढेको हो ।

जिल्लास्तरमा गठबन्धनले पालिका बाँडफाँडको सहमति जुटाउन सकेन । ‘सकेसम्म पालिका तहमा स्थानीय आवश्यकता र अवस्था हेरेर सहमति जुटाएर गठबन्धनमैं निर्वाचनमा जाने, नसके मित्रवत् प्रतिष्पर्धा गर्ने’ गरि जिल्लाबाट बैठक सकेका नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एस, राजमोलगायतको बैठक अब पालिका तहमा बस्न थालेका छन् ।

त्यसक्रममा कोहलपुरमा बसेको गठबन्धनको स्थानीय बैठक विना सहमति टुंगिएको छ । पश्चिम नेपालका २४ जिल्लाको ‘जक्सन’ मानिने कोहलपुर सरकारको नेतृत्व लिन दलभित्रका नेता मात्र होइनन् स्वतन्त्र व्यक्ति पनि आकांक्षीका रुपमा अगाडि बढेका छन् । दलभित्रका आकाँक्षी थामिनसक्नु भएपछि दलहरु दिनहुँ बैठक गरिरहेका छन् । ‘

काँग्रेसले १३ जना प्रमुख र पाँच जनाको उप–प्रमुखमा नाम सिफारिस गरिएको जनाएको छ । नेपाली कांग्रेस कोहलपुर नगर सभापति बिरेन्द्र शाहले दिएको जानकारी अनुसार, भानुभक्त भट्टराई, सन्जु कुमारी चौधरी, बलराम शर्मा, च्रक बहादुर अधिकारी, चिन्तामणि धितालको नाम पार्टीले सिफारिस गरेको छ । त्यस्तै, पूर्ण आचार्य, फुलाराम थारु, राजेन्द्र श्रेष्ठ, निम बहादुर चलाउने ( निरज), भूम भण्डारी, चुडामणि कंडेल, नर बहादुर मल्ल र जागेश्वर थारुको नाम पनि सिफारिस गरिएको सभापति शाहले जानकारी दिए ।

मिना सिग्देल, द्रोपती वली, अन्जना पाण्डे, केश कुमारी वली र संगीता पौडेलको नाम उप–प्रमुखमा सिफारिस गरिएका छन् । सभापति शाह भन्छ्न, ‘कांग्रेस विधान अनुसार नगरपालिकाको मेयर र उपमेयरको टिकट दिने अधिकार प्रदेश संसदीय समितिलाई छ, हामीले दावेदार सबैको नाम पठाएका छौं ।’

२०७४ सालको निर्वाचनमा नेकपा एमालेका लुट बहादुर रावतले ९ हजार सात मत, कांग्रेसका भानुभक्त भट्टराईले आठ हजार ९ सय २४ मत, माओवादीका नरेन्द्र न्यौपानेले ६ हजार दुई सय २१ मत र फोरमका फुलाराम थारुले दुई हजार तीन सय तीन मत प्राप्त गरेका थिए । पार्टी भित्रको आन्तरिक द्वन्द्व मिलाउन नसक्दा कांग्रेस झिनो मतले पराजित बन्न पुगेको भट्टराईको भनाइ छ ।

२०७४ सालको निर्वाचनमा तेस्रो बनेको नेकपा माओवादी केन्द्रले कोहलपुरमा मेयर दाबी कायम राखेको खण्डमा आफुहरु गठबन्धन गरेर जान नसकिने नगर प्रमुखका आकांक्षी निरज चलाउने बताउँछन् । हाल वडाध्यक्ष रहेका चलाउनेले कोहलपुरमा गठबन्धन गर्नुको कुनै आवश्यकता र औचित्य नभएको बताए । कोहलपुर नगरपालिकामा २०७४ को निर्वाचनमा माओवादी केन्द्रले एउटा मात्र वडा जितेको थियो ।

कोहलपुरको नेतृत्व आफ्नो पोल्टामा पार्न यतिबेला दलहरु उम्मेदवार छान्ने देखि लगेर घरदैलो अभियानमा जुटेका छन् । चुनाव नजिकिँदै गर्दा कोहलपुर नगरपालिकाको चुनावी परिणाम आफ्नो पक्षमा पार्न दलहरु मतदाता रिझाउन लागेका हुन् ।

२०४९, २०५४ र २०७४ सालमा भएको निर्वाचनमा कोहलपुर नेतृत्व नेकपा एमालेले गर्दै आएको छ । नेकपा एमाले पहिलेदेखिकै आफ्नो वर्चस्व कायम राख्न रणनीतिक रुपमा लागेको छ । अन्य दल भने एमालेको हातबाट यसपालि कोहलपुर नगरपालिकाको नेतृत्व फुत्क्याउने दाउमा छन् ।

२०७४ स्थानीय तह निर्वाचनमा १९ हजार पाँच सय पाँच महिला र पुरुष १७ हजार आठ सय ३२ गरेर ३७ हजार तीन सय ३७ जना मतदाता थिए । त्यसमध्ये २९ हजार चार सय २२ मत खसेको थियो । आउँदो वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको लागि ५६ हजार सात सय ९७ जना मतदाता छन् ।

प्रतिक्रिया

प्रतिक्रिया