आसन्न निर्वाचनलाई लिएर बनेको सत्तारुढ गठबन्धनको गाँठो बाँकेमा बल्झिएको छ । आपसी स्वार्थ बाँझिदा बनेको गाँठो फुकाउन दुई सातादेखिको प्रयास अन्ततः असफल भएपछि गठबन्धनको गाँठो बल्झिएको हो ।
दक्षिण पूर्वी बाँकेमा राम्रो उपस्थिति बनाएको गठबन्धनको एउटा दल, जनता समाजवादी पार्टी ९जसपा०ले शुरुका दिनमै नेपालगन्जसहित कम्तिमा चार पालिकामा दावी गरेपछि गठबन्धनमा गाँठो परेको थियो । जसपा जिल्ला अध्यक्ष कमरुद्दिन राई नेपालगन्जको प्रमुखमै उम्मेदवार भएर जनतामाझ भोट मागिरहँदा बसेका अन्य दलको निरन्तरका बैठकले जसपाबाहेक पनि गठबन्धनका लागि गरेको प्रयास सफल हुन नसकेको हो ।
‘काँग्रेस अब गठबन्धनमा अल्झिएर बस्दैन,’ शनिवार बसेको जिल्ला पार्टी पदाधिकारीको बैठकपछि गठबन्धन संयन्त्रका संयोजकसमेत रहेका काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले दैनिक नेपालगन्जसँग भने, ‘गठबन्धनको झमेला सकियो, अब निर्वाचन तयारीमा सबैतिरबाट जुट्ने निर्णय भएको छ ।’
पार्टी स्रोतका अनुसार, केन्द्रले पठाएको परिपत्र अनुसार भागबण्डामा कुरा नमिलेपछि ‘आवश्यकता र अवस्था अनुसार स्थानीय तहमै मिल्न सक्ने’ गरी वडा वा पालिकास्तरमा ‘गठबन्धनको झमेला’ पठाइएको हो । ‘केन्द्रले अर्को परिपत्र गरेन भने बाँकेमा पाँचदलीय गठबन्धनबाट निर्वाचनामा जाने सम्भावना सकियो,’ एक काँग्रेस नेताले भने ।
जसपाले सशर्त गठबन्धनमा जाने भनेपछि कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादी एकीकृतलगायतका दल पछिल्लो तीन दिनदेखि निरन्तर छलफलमा थिए । काँग्रेस–जसपाले नेपालगन्ज नछाड्ने, काँग्रेस–माओवादी कोहलपुरलाई समातिरहँदा बाँकेमा गठबन्धनको गाँठो बलियो गरि कस्सिंदै गएको सम्बद्ध नेताहरुको भनाइ छ । ‘त्यो गाँठोमा कोको च्यापिने हुन भन्न सकिन्न,’ केन्द्रको हस्तक्षेप सम्भावना औल्याउँदै ति नेताले दैनिक नेपालगन्जसँग भने, ‘माओवादी र एसलाई बलियो बनाउन काँग्रेस आफ्नो घर भत्काउँदैन ।’
माओवादी केन्द्रका जिल्ला संयोजक डम्बर बिक ९तुफान०ले भने गठबन्धन टुटिसकेको नभै स्थानीय तहमा छलफल परामर्शका लागि समय दिइएको बताउँछन् । ‘हामी छलफलमै छौं, गठबन्धन हुन्छ, ढुक्क हुनुस्,’ उनको दावी छ ।
नेकपा एसका केन्द्रीय सदस्य अशोक कोइरालाले पनि गठबन्धन टुट्नै नहुने बताए । ‘यो आवश्यकता र बाध्यताको गठबन्धन हो,’ कोइरालाले भने, ‘जिल्लामा सबै ठाउँ गठबन्धन हुन्छ, यहाँबाट मिल्न नसके प्रदेशले निर्णय गर्छ ।’
२०७४ सालमा जुन पार्टीले जितेको छ त्यहाँ त्यही पार्टीलाई दिने गठबन्धनको मापदण्ड छ । एमाले वा अरु पार्टीले जितेको ठाउँमा निकटतम प्रतिस्पर्धी पार्टीलाई दिने मापदण्ड बनाइएको छ । बाँकेमा माओवादीले एउटै पालिका जित्न सकेन । बाँकेमा चार पालिकामा एमालेले जितेको छ भने दुई वटा गाउँपालिकामा कांग्रेस, नेपालगन्जमा राप्रपाले प्रमुख जितेको हो । जसपा ९तत्कालिन फोरम० ले नरैनापुर जितेको थियो । ‘मापदण्डमै जाउँ भन्दापनि माओवादी र जसपाले मानेनन्,’ काँग्रेस नेताको भनाइ छ, ‘अनि हामी उनका लागि लत्रिएर जाने रु’ कांग्रेसले नेपालगन्ज, कोहलपुर, राप्तीसोनारी र डुडुवा कुनै हालतमा नछाड्ने बताएपछि अरु पार्टी सशंकित बनेको बताउँछन् ।
अबस्था र आवश्यकतामा गठबन्धन
नेपाली कांग्रेस बाँकेले स्थानीय अवस्था र आवश्यकता अनुसार चुनावी तालमेलको निर्णय गर्ने अधिकार मातहतका निकायलाई दिने निर्णय गरेको जनाएको छ । शनिवार बसेको पदाधिकारी बैठकले आफ्ना मातहतका निकायलाई स्थानीय अवस्था र आवश्यकता हेरेर निर्णय लिन निर्देशन दिएको पार्टी प्रबक्ता डिल्ली गिरीले बताए ।
नेपाली कांग्रेस केन्द्रको परिपत्र र पाँच दलीय सत्ता गठबन्धनको निर्णय अनुरुप बाँकेमा जिल्लास्तरीय गठबन्धन दलको बैठक निरन्तर बसेको थियो । सभापति नारायण प्रसाद गौडेलले चैत २० गतेदेखि बैशाख २ गतेसम्म निरन्तर बसेको सत्ता गठबन्धनको बैठकमा तालमेलबारे बृहतरुपमा छलफल गरेर गठबन्धनभित्रका पार्टीहरु स्थानीय अवस्था र आवश्यकताका आधारमा आपसी तालमेल गरेर निर्वाचनमा जाने र तालमेल गरेर जाँदा मित्रवत व्यवहार गर्ने सर्वसम्मत निर्णय गरेको बताए ।
सोही निर्णय अनुसार पार्टीको पदाधिकारी बैठकले मातहतका निकायलाई निर्देशन दिएको प्रबक्ता गिरीले बताए । ‘पार्टीको पदाधिकारी बैठकको निर्णय अनुसार प्रतिनिधिसभा क्षेत्रीय समितिहरुलाई मातहतमा रहेका निकायहरुलाई यथाशक्य छिटो जानकारी गराई सोही निर्णय अनुसार कार्य गर्न निर्देशन दिइएको छ,’ प्रबक्ता गिरीले सञ्चारमाध्यमसँग भने ।
ढुक्क हुनुस्, गठबन्धन हुन्छ
जिल्लास्थित सत्ता गठबन्धनको संयन्त्रमा समस्या आएपछि नेकपा माओवादी केन्द्रले जिल्ला भरि स्थानीय कमिटीहरुमा छलफल चलाएको छ । माओवादी केन्द्रका जिल्ला संयोजक डम्बर विक ९तुफान० ले गठबन्धन भंग भएको नभइ स्थानीय तहसम्म छलफलका लागि खुल्ला गरिएको दावी गरे ।
‘ढुक्क हुनुस्, गठबन्धन हुन्छ, हामी त्यसैको तल्लो तहसम्म तयारीमा लागिरहेका छौं,’ माओवादी नेता तुफानले दैनिक नेपालगन्जसँग भने, ‘५÷७ गतेसम्म एउटा निर्णयमा पुग्छौं ।’ उनले गठबन्धन जिल्लाको आवश्यकता भन्दा राष्ट्रिय आवश्यकता र योजनामा भएकाले नहुने भन्ने शंकै नगर्न जोड दिए ।
केन्द्रले पठाएको परिपत्रमा ०७४ सालमा जितेको ठाउँमा त्यही दललाई दिने र अन्य ठाउँमा मतभारका आधारमा भागबण्डा गर्ने थियो । त्यसअनुसार बाँकेमा माओवादी केन्द्रले खजुरा गाउँपालिका पाउने निश्चित थियो । सोही अनुसार पालिकास्तरमा समेत सहमति बनेको बताइएपनि पछिल्लो अवस्थाले अन्योलता बढाएको छ । नेकपा एमालेले जित्दा खजुरामा माओवादी दोस्रो भएको थियो । ‘सहमति अनुसारनै हुन्छ,’ आफै प्रमुखका दावेदार तुफानले खजुराबारे खुलेरै भन्दै आएका छन् ।
खजुरासँगै माओवादीले कोहलपुर नगरपालिकामा बढी जोड गरिरहेको छ । सबैभन्दा हलो अड्किएको कोहलपुरमा नरेन्द्र न्यौपाने निर्वाचन अभियानमा कुदिसकेका छन् । न्यौपानेका लागि कोहलपुर छाड्नै नसक्ने अडानमा माओवादी केन्द्रबाटै निर्देशित छ । ‘भरतपुरपछि माओवादीको जोड भनेकै कोहलपुर हो,’ पार्टीं नेता भन्छन्, ‘सोही अनुसार यो पाँचै वर्ष न्यौपानेले आवश्यक चुनाव तयारीमा कसरत गरेका छन् ।’ न्यौपानेले आफु जित्ने कुरामा ढुक्क रहेको पनि बताउँर्दै आएका छन् । ‘हामी एक्लै भएपनि कोहलपुर छाडिन्न,’ न्यौपानेले भन्दै आएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका र राप्तीसोनारी गाउँपालिकामा पनि माओवादीले दावी गरेपनि कोहलपुर र खजुरा पाए माओवादीमा समस्या नभएको पार्टी सम्बद्ध नेताको भनाइ छ । काँग्रेस भने माओवादीलाई खजुराबाहेक दिन नसक्ने अडानमा देखिन्छ ।
गठबन्धन बाध्यता हो, हुन्छ
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अशोक कोइरालाले बाँकेमा पाँचदलीय गठबन्धनको सम्भावना नटरेको बताएका छन् । ‘सरकारमा सहभागी दलहरूबीच गठबन्धन नगरि सुखै छैन,’ कोइरालाले दैनिक नेपालगन्जसँग भने, ‘साथीहरु अध्ययन गर्दै होलान्, गठबन्धन कुनै एउटा दलको रहर होइन आवश्यकता र बाध्यता हो ।’
स्थानीय तहमा माग दावी बढ्दै जाँदा सहमति जुटन नसकेकाले समय लागेको दावी नेता कोइरालाको छ । प्रदेश गठबन्धन संयन्त्रका सदस्य समेत रहेका एसका केन्द्रीय सदस्य कोइरालाले जिल्लाबाट गठबन्धन बन्न नसके प्रदेशले निर्णय लिने बताए ।
‘प्रदेशले प्रष्टसँग गठबन्धन गरेर जाने कुराको निर्देश गरेको छ,’ कोइरालाले बाँकेले मात्रै निर्णय फेर्न नसक्ने तर्क गर्दै भने, ‘स्थानीय आवश्यकता र अवस्थाका आधारमा गठमबन्धन गरेर जान्छौं भन्ने कुरा अवसरवादी कुरा हुन्, मापदण्ड बनेको छ, सबै ठाउँमा गठबन्धन हुन्छ ।’
नेकपा एसलाई जित्नलाई मात्रै काँग्रेस किन गठबन्धनमा बसिदिनुपर्ने रु दैनिक नेपालगन्जको प्रश्नमा नेता कोइरालाले अहिलेको राजनीतिक अवस्थामा आफ्नो पार्टी महत्वपूर्ण भूमिकामा रहेको उल्लेख गर्दै भने, ‘हामीलाई कम आँक्नु भएन, एक्लै जित्न कति सकिन्छ, हराउने र कस्लाई जिताउने भन्ने निर्णायक मत हामीसँग छन् ।’
नेकपा एसले बाँकेको बैजनाथमा प्रमुख तथा कोहलपुर, खजुरा र नरैनापुरमा उपप्रमुखसहितका जनप्रतिनिधिमा उम्मेदवारी दावी गरेको छ । ‘काँग्रेसले गठबन्धन नगर्नेनै भन्छ भने, यही अवस्थामा बाँकी दलहरु गठबन्धन गरेर जान पनि सकिन्छ,’ कोइरालाले आफ्नो पार्टी नीति खुलाउँदै भने, ‘एउटा पालिका, एउटा वडा भन्ने हुन्न, गठबन्धन हुन्छ भने जिल्ला भरिनै हुन्छ ।’