महेन्द्र पुस्तकालयले पुनर्जीवन प्राप्त गर्ने आश

तीनदशकपछि बनेको नयाँ समितिले थाल्यो सुधार प्रयास

वि.सं. २००३ सालमा प्रेम पुस्तकालय का नामबाट स्थापित महेन्द्र पुस्तकालयले पुनर्जीवन प्राप्त गर्ने आशा देखापरेको छ ।

महेन्द्र पुस्तकालयका आजीवन सदस्यहरूको मंगलवार भएको भेलाले पूर्व शिक्षक बलराम यादवको अध्यक्षतामा साहित्यकार सनत रेग्मी र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य हरि तिमल्सिना समेत रहेको १२ सदस्यीय महेन्द्र पुस्तकालय सञ्चालन तथा व्यवस्थापन समिति गठन गरी जिम्मेवारी दिएपछि आशा देखा परेको हो ।

शिक्षा समन्वय समितिका प्रमुख रामसुरेश यादवको अध्यक्षतामा जिल्ला समन्वय समितिका संयोजक तथा जिल्ला पुस्तकालय समितिका अध्यक्ष अजय श्रीवास्तवको प्रमुख आतिथ्यमा भएको भेलाले गठन गरेको तदर्थ समितिले विहीवार विभिन्न निर्णय गरेको छ ।

बैठकले पुस्तकालय व्यवस्थित गर्ने, सटरको नउठेको भाडा उठाउने, न्यायिक भाडादर निर्धारित गरी वैधानिक प्रक्रियाबाट भाडा लगाउने, विधान संशोधन र परिमार्जन गरी असार मसान्तभित्र साधारण सभा सम्पन्न गर्ने लगायतका निर्णय गरेका सदस्य तिमिल्सिनाले जानकारी दिए । ‘पुस्तकालयको नियमित सञ्चालन व्यवस्थापन गर्ने जिम्मेवारी पनि दिने निर्णय गरेको छ,’ तिमिल्सिनाले दैनिक नेपालगन्जसँग भने, ‘संस्थालाई पुनर्जीवन दिनेगरि योजना बनाएर अगाडी बढ्दैछौं ।’

२०४८ सालमा कन्हैया लाल टन्डनको अध्यक्षतामा गठित २ बर्से कार्यकाल रहेको समितिले २०५४ पछि साधारणसभा नगरेको र २०७२ सालपछि लेखापरीक्षण समेत नभई अस्तव्यस्त अवस्थामा रहेकोले सबैतिरबाट आलोचना भइरहेको थियो । निकासका लागि अजय टन्डनको संयोजकत्वमा प्रकाश आचार्य, वीरेन्द्र यादवलगायत ५ सदस्यीय समिति गठन गरी जिल्ला समन्वय समितिले अवस्थाको अध्ययन गराई प्रतिवेदन लिएपछि विधान सम्मत रूपमा पुस्तकालय सञ्चालन गर्न न्यायिक कदम चालिएको हो । यसबाट पुस्तकालयको मर्म अनुसार संस्था सञ्चालन हुने बौद्धिक जगतले विश्वास गरेको छ ।

पुस्तकालयका आजीवन सदस्यको भेलाले पुस्तकालयलाई ब्यवस्थित गर्न बलराम यादवको अध्यक्षतामा मंगलबार तदर्थ समिति गठन गरेको हो । २००३ सालमा स्थापना भएको प्रेम पुस्तकालय २०२४ सालमा महेन्द्र पुस्तकालय नामाकरण गरी सञ्चालनमा थियो । सञ्चालक समितिको कार्यकाल २ बर्षको भएपनि ३४ बर्षदेखि सञ्चालक समिति फेरिन नसक्दा समस्या आएपछि नयाँ समिति बनाइएको हो ।

यादवको अध्यक्षतामा बनेको तदर्थ समितिमा पंकजकुमार श्रेष्ठ उपाध्यक्ष, सुदीप भट्टराई सचिव र कृष्णादेवी पाण्डेय कोषाध्यक्ष छन् । सदस्यहरुमा सनत कुमार रेग्मी, हरिप्रसाद तिमिल्सिना, अजय कुमार टण्डन, कृष्ण मुरारी भट्ट, बेचनालाल गुप्त, मो. जमिल सिद्दीकी, सचिदानन्द चौबे र विश्वजीत तिवारी छन् ।

प्रतिक्रिया

प्रतिक्रिया