नयाँ बर्ष, अपेक्षा र आशा

प्रत्येक बर्ष नेपालीहरुले पर्वसँग नयाँ बर्ष पनि हर्षोल्लासले मनाउने गर्दछन् । तर, विगतमा दुई नयाँ बर्ष तथा त्यसका बीचका पर्व उल्लासपूर्ण हुन सकेको थिएन, कोरोना संक्रमणका कारण ।

२०७६ साल चैत्रको सुरुमा त्रासपूर्ण रहेको कोरोनाले दोस्रो लहरमा झन् घातक बन्यो । कोरोनाका कारण पहिलो लहर भन्दा दोस्रो लहरमा धेरैको ज्यान गयो । तर, अवस्था फेरिंदै गयो । कोरोना विरुद्धको पहिलो, दोस्रो र बुष्टर डोज समेत धेरैले लगाएको अवस्था छ । अहिले न्यून कोरोना देखिएपनि ज्यान जाने खालका घटना भएका छैनन् । कोरोनाका कारण सबै क्षेत्र ठप्प प्रायः भए । लामो समय लकडाउन भयो । जसले अर्थतन्त्र धराशयी भयो ।

तर, कोरोना नियन्त्रणमा आएसँगै अहिले अवस्था निकै सहज भैसकेको छ । सबै क्षेत्र सञ्चालनमा मात्रै छैनन् बिस्तारै फष्टाउँन थालेका छन् । खासगरी सबैभन्दा लामो समय प्रभावित पर्यटन क्षेत्र पनि सञ्चालनमा आएको छ ।

नयाँ बर्षले नयाँ आशा जगाएको छ । फेरि त्यो कहालीलाग्दा, अप्ठ्यारा क्षणहरु अब नफकियोस् भन्ने काम आम नेपालीमात्रै नभएर विश्वले गरेको छ ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले आफ्ना पाँच बर्षे कार्यकाल सक्दैछन् । नयाँ व्यवस्थामा आएका जनप्रतिनिधिले सिक्दै काम गर्दै गरे । कोरोनाले पनि जनप्रतिनिधिलाई स्थानीय स्तरमा जोखिमसँग लड्न सिकायो ।

अहिले देश निर्वाचनमय भएको छ । स्थानीय तहको निर्वाचन बैशाख ३० गते घोषणा गरिएको छ । राजनीतिक दल मात्रै होइन आम नागरिक पनि निर्वाचनको उत्साहमा छन् । राजनीतिक दलहरु निर्वाचन केन्द्रित उम्मेदवार र प्रचारप्रसामा व्यस्त छन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवि ओली कोरोनापछिको जनजीवन सामान्य भएकाले नयाँ बर्षबाट नयाँ आशा र अपेक्षा रहेको बताउँछन् । ‘आर्थिक क्षेत्रले अझै पनि विभिन्न समस्या झेलिरहेका छन्, अपेक्षा छ, नयाँ बर्षमा सबै समस्याहरु समाधान हुनेछ’, उनले भने, ‘तरलता अभाव हट्ने, पूँजीगत खर्च बढेर बजारमा पैसा पुग्ने अपेक्षा उद्योगी, व्यवसायीको छ ।’ महासचिव ओली भन्छन्, ‘विद्युतको आन्तरिक उत्पादन, खपत बढेर पेट्रोलियम पदार्थको खपत घटेमा यसले व्यापार घाटा कम हुन्थ्यो, सरकार त्यसतर्फ केन्द्रित होस् भन्ने चाहन्छौं ।’

‘नेपालीहरु जुनसुकै इभेन्ट खुशियाली साटेर मनाउने गर्दछन्, कोरोना नियन्त्रणमा आएकाले अब फेरि उल्लासपूर्ण बनेको छ नयाँ बर्ष’, राजेन्द्र सिग्देल भन्छन्, ‘देशमा बेरोजगारीको अन्त्यका लागि उद्योग, कलकारखाना खुल्ने क्रम बढोस् भन्ने अपेक्षा छ ।’

मिना अधिकारी भने नयाँ बर्षमा मंहगी नियन्त्रणमा आओस् भन्ने कामना गरेको बताउँछिन् । ‘विश्वको कुनै ठाउँमा दुई देश बीच युद्ध हुँदा त्यसको असर भान्सासम्म नै पुगेको छ, महंगीका रुपमा’, उनी भन्छिन्, ‘कोरोनाबाट छुटकरा मिलेको छ, महंगीबाट पनि छुटकरा होस् ।’

‘नयाँ बर्षले राजनीतिक स्थिरता ल्याओस्, हामी स्थानीय तहको नजिक छौं, भव्य र सम्भ रुपमा निर्वाचन सफल होस् भन्ने अपेक्षा छ’, धिरेन्द्र बर्माले भने, ‘राजनीतिक स्थिरता भयो भने देश विकासको गतिमा अगाडि बढ्न सक्छ ।’ (दैनिक नेपालगन्जबाट)

प्रतिक्रिया

प्रतिक्रिया