स्थानीय तह निर्वाचनः एमालेले किन फर्कायो सिफारिस ?

नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर वडास्तरबाट आएका उम्मेदवार सिफारिस फर्काइदिएको छ । एमाले बाँकेको मंगलबार बसेको जिल्ला कमिटिको पूर्ण बैठकले ‘सर्वसम्मत बाहेकका सबै निर्णयहरु सम्बन्धित तहमै फर्काइदिएको’ हो ।

जिल्ला स्थित केन्द्रीय सदस्यहरु, जिल्ला इन्चार्ज, सहइन्चार्ज लगायतको उपस्थितिमा भएको बैठकले सर्वसम्मत आएका निर्णयहरुलाई भने अगाडि बढाउने भएको छ । ‘तीन दिनभित्र सर्वसम्मत निर्णय गरेर पठाउन सम्बन्धित तहमै सिफारिसलाई पुनर्विचारका लागि फर्काएका हौं’, एमाले बाँकेका सचिव रत्न खत्रीले दैनिक नेपालगन्जसँग भने, ‘हामीलाई विश्वास छ, पार्टी कमिटिबाट बृहत छलफल र समझदारीबाट सर्वसम्मत सिफारिस आउनेछ ।’

पार्टी अध्यक्ष किस्मत कुमार कक्षपतिको अध्यक्षतामा बसेको बैठकमा सबै जसो वडा हुँदै पालिका तहबाट आएका निर्णयहरु अवलोकन गरेपछि पुनर्विचारका लागि तत्तत् कमिटिमै पठाउने निर्णय गरिएको एमालेको भनाइ छ । ‘सर्वसम्मत आएका निर्णयहरुलाई भने पदाधिकारी बैठकले आवश्यक प्रक्रियामा अगाडि बढाएको छ’, जिल्ला सचिव खत्रीले दैनिक नेपालगन्जसँग भने, ‘दिनभर बसेको जिल्ला कमिटिको पूर्ण बैठकले पदाधिकारीलाई अख्तियार प्रदान गरेपछि आवश्यक निर्णयहरु लिइएको हो ।’

त्यसक्रममा एमालेले नेपालगन्ज नगर कमिटिबाट सिफारिस भई आएको निर्णयलाई अनुमोदन गर्दै प्रदेश कमिटिमा उम्मेदवार सिफारिस गरेको छ । पार्टी सचिव खत्रीले दिएको जानकारी अनुसार, पशुपति दयाल मिश्रलाई नगर प्रमुख र शान्ति ढकाललाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय प्रक्रिया अगाडि बढाउँदै प्रदेश कमिटिमा सिफारिस गरिएको हो । ‘प्रदेश कमिटिले छिट्टै निर्णय लिएर केन्द्रमा पठाउनु पर्ने भएकाले नेपालगन्जको हकमा निर्णय गरिसकिएको छ’, खत्रीले भने ।

प्रतिक्रिया

प्रतिक्रिया