साइकल खेलमा बाँके जिल्लाबाट सशक्त प्रतिनिधित्व हुन थालेको छ । त्यसक्रममा चितवनको भरतपुरमा भएको प्रज्ञा स्मृति साइकल म्याराथनमा बाँकेका खेलाडीहरुले राम्रो प्रदर्शन गरेका छन् ।
बाँके जिल्ला साइकल संघका अध्यक्ष गगनसिंह थापाका अनुसार, फिमेल इलाइट ग्रुपमा रुपा चौधरीले १० औं स्थान प्राप्त गर्न सफल भएकी छन् । उत्कृष्ट १० मा पुरस्कृत उनीसँगै मेल मास्टर ग्रुपको प्रतिस्पर्धामा सहभागी देव बोहोरा ५ औं स्थान ल्याउन सफल भए । अर्का प्रतिष्पर्धी जङ्गु थारु ६ औं स्थान प्राप्त गर्दा दीपक मल्लले १५ स्थानमा आफूलाई उभ्याए । ‘हाम्रो लागि राम्रो शुरुवात हो,’ अध्यक्ष थापाले दैनिक नेपालगन्जसँग भने, ‘अब सुधार गर्दै लैजाने हो ।’
‘पहिलो पटक यति ठूलो प्रतिस्पर्धामा भाग लिंदा धेरै कुरा बुझ्नु नै मेरो लागि उपलब्धि थियो,’ पूर्ण रुपमा साइकलको जर्सी र उच्चकोटिको एमटीबीमा सजिएका खेलाडीको अगाडी साधारण खालको एमटीबीका साथ प्रतिस्पर्धामा भाग लिएको अवस्थामा रुपालाई उद्धृत गर्दै संघका अध्यक्ष थापाले दैनिक नेपालगन्जसँग भने, ‘आउँदा दिनमा कसरी खेल्नु पर्दो रहेछ भन्ने कुरा सिकेकी रुपाका लागि स्थान गौण रहेको अनुभूत गर्न सकिन्छ ।’
३५ जना प्रतिष्पर्धीले भाग लिएको मेल इलाइट ग्रुपमा एपी एफका सुरज रानामगरले निर्धारित दूरी १ घण्टा ५६ मिनेट २० सेकेण्डमा पार गर्दै प्रथम स्थान हात पारे भने नेपाली सेनाका हिमाल टमटाले निर्धारित दूरी १ घण्टा ५६ मिनेट ३२ सेकेण्डमा पार गर्दै दोस्रो स्थान हात पारेका छन् । त्यसैगरी गण्डकीमा हिकमत विक ले १ घण्टा ५६ मिनेट ४० सेकेण्डमा पार गर्दै तेस्रो स्थान प्राप्त गरेका छन् ।
पहिलो पटक यति ठूलो प्रतिस्पर्धामा भाग लिंदा धेरै कुरा बुझ्नु नै मेरो लागि उपलब्धि थियो
रुपा चौधरी
फिमेल इलाइट ग्रुपमा १० औं स्थान प्राप्त गर्न सफल
शीर्ष १० स्थान सम्मका प्रतिस्पर्धीलाई पुरस्कारको रहेको उक्त प्रतिस्पर्धामा क्रममा लक्षमण मल्ल, अजय पण्डित क्षेत्री, सुरेश भुजेल, राजेश मगर, कुमार तामाङ, किरण लिम्बू अच्युत कृष्ण खरेलले उत्कृष्ट १० स्थान ल्याएका थिए ।
त्यसै गरी वुमन इलाइट ग्रुपमा नेपाली सेनाको उषा खनाल प्रथम, नुवाकोटकी लक्ष्मी मगर दोस्रो र धादिङकी सोनी गुरुङ तेस्रो स्थान प्राप्त गर्दा बाँकेकी रुपा चौधरीले १० औं स्थानमा चित्त बुझाएको छिन् । ६५ किलोमिटरको उक्त प्रतियोगितामा मेल इलाइट, वुमन इलाइट, मेन मास्टर, मेन ग्रान्ड मास्टर, मेन चितवन स्पेसल, वुमन चितवन स्पेसल गरी ६ क्याटेगोरीका प्रतिस्पर्धाहरु भएका थिए । ४५ हजार रुपिया देखि २० हजारसम्मको नगद राशी रहेको उक्त प्रतियोगिताको उद्घाटन नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले गरेका थिए ।