बाँकेका राजनीतिक दलहरुले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आचारसंहिता पूर्ण रुपमा पालना गर्ने बताएका छन् । स्थानीय तह निर्वाचन ०७९ लाई स्वतन्त्र, निष्पक्ष र भय रहित बनाउन बाँके स्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूले प्रतिबद्धता गरेका हुन् ।
डिसिएको सहयोगमा इन्सेक नेपालगन्ज, राष्ट्रिय मानव अधिकार आयोग, नेपालगन्ज, र एफडब्लुएलडिको आयोजनामा बिहीबार नेपालगन्जमा आयोजित आयोजित स्थानीय तहको निवार्चनलाई स्वतन्त्र, निष्पक्ष र भय रहित बनाउन सरोकारवालाहरूको प्रतिबद्धता कार्यक्रममा राजनीतिक दल, सुरक्षा निकाय, विभिन्न संघ, संस्थाका प्रतिनिधि बीच निर्वाचन र आचारसंहिताबारे बृहत छलफल पछि आचारसंहिता पालनाको प्रतिबद्धता व्यक्त गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भय रहित बनाउन सर्बदलीय बैठकहरू भइरहेको बताउदै राजनीतिक दलहरूसँग पनि आचार संहिताका विषयमा छलफल भइरहेको बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख झङकरबहादुर रावलले स्थानीय निर्वाचनलाई भय रहित बनाउन सबै पार्टीका कार्यकताहरू जिम्मेवार हुनुपर्ने बताए ।
इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन राजनीतिक दलहरूको दायित्व, कर्तव्य र प्रतिवद्धता लिनको लागि कार्यक्रमको आयोजना गरिएको बताउँदै निर्वाचन आचार संहिताको अक्षरश पालना गरे निर्वाचन स्वच्छ, निष्पक्ष र भय रहित हुने कुरामा जोड दिए ।
‘बहसमा सीमित नहोस् आचारसंहिता’
पैसा नभए चुनाव नै लड्न नसकिने अवस्थाको अन्त्य गर्नुपर्दछ ः महिला नेतृ
आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भैसकेको छ । राजनीतिक दलहरु निर्वाचनमा होमिइसकेका छन् । सम्भावित उम्मेदवारले दलदेखि आम मतदातासम्म आफ्नो पक्षमा पार्न लबिङ्ग गरिरहेका छन् ।
बाँकेमा निर्वाचन सभ्य, भयरहित र निष्पक्ष हुनुपर्छ र त्यसमा सरोकारवालाहरुको प्रतिबद्धता आवश्यक रहेको महसुस गरेर मंगलबार इन्सेक नेपालगन्ज, डिसिए, मानवअधिकार आयोग नेपालगन्ज, एफडब्लुएलडीले संयुक्त रुपमा मंगलबार नेपालगन्जमा आयोजित स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भय रहित बनाउन सरोकारवालाहरुको प्रतिबद्धता कार्यक्रममा बोल्दै विभिन्न क्षेत्रका व्यक्तिहरुले अचारसंहिताको पालना फलत काजगी हुनेमा चिन्ता व्यक्त गरे । ‘औपचारिक कार्यक्रममा सबैले प्रतिबद्धता गर्ने पछि आफैले आचारसंहिता लत्याउन काम हुनु हुँदैन’, राजनीतिक दलका प्रतिनिधिले भने, ‘जिल्लामा निर्वाचन निष्पक्ष बनाउन दल सहित सबै सरोकारवालाको इमान्दारितापूर्वक आचारसंहिता पालना आवश्यक रहेको छ ।’
आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता ल्याएको छ । उक्त अचारसंहिता छिट्टै कार्यान्वयनमा आउने छ ।
कार्यक्रममा बोल्दै अधिकारकर्मी सिद्धराज पनेरुले विगतका निर्वाचनमा बालबालिकाको प्रयोग भएको, विद्यालयमा राजनीतिक दलका कार्यक्रम हुने गरेको भन्दै चिन्ता व्यक्त गरे । ‘अबको निर्वाचनमा राजनीतिक दल बालबालिकाको प्रयोग नगर्ने, विद्यालयको प्रयोग नगर्ने, संघ, संस्थाका कार्यालय राजनीतिक दलको निर्वाचन प्रचारको प्रयोजनका लागि प्रयोग नगर्ने प्रतिबद्धता गर्नु पर्दछ ।’
पनेरुले विद्यालय र बालबालिकाको निर्वाचनमा प्रयोगको प्रश्न उठाएपछि सहभागी बाँकेका राजनीतिक दलहरुले बालबालिका र विद्यार्थीको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका थिए ।
अधिकारकर्मी प्रभात कुमार ठकुरीले निर्वाचन निकै खर्चिलो हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले निर्वाचन सस्तो बनाउन आयोगले जारी गरेको आचारसंहित दलहरुले पालना गर्ने तर्फ ध्यानाकर्षण गराए ।
मैमुना सिद्दिकीले निर्वाचन प्रचारप्रसार स्वच्छ हुनुपर्ने दलहरुलाई ध्यानाकर्षण गराइन् । महिला नेतृ रेखा गुप्ताले निर्वाचनका बेला रातभर समेत प्रचारप्रसार हुने गरेको बताउँदै निर्वाचन आयोग र प्रशासनले प्रचारप्रसारको सीमा निर्धारण गर्नुपर्ने बताएका थिए ।
पत्रकार अछरी पोखरेलले निर्वाचन खर्चिलो हुँदा महिला उम्मेदवारहरु पछाडि हट्नु पर्ने अवस्था रहेकाले निर्वाचन आचारसंहितामा उल्लेख भए अनुसार भन्दा बढी खर्च हुन नदिन अनुगमन र प्रतिबद्धताको आवश्यक रहेको बताइन् । ‘चुनावमा पैसा बाडिन्छ, त्यसलाई सुरक्षा प्रशासनले रोक्न सक्नुपर्दछ’, उनले भनिन् ।
जसपा नेतृ रमारानी वैश्यले मतदान केन्द्रमा हुलहुज्जत हुने, मतदाता प्रभावित तथा दुःख दिने कार्य हुने भएकाले निर्वाचन आयोग, सुरक्षा प्रशासनले त्यसतर्फ ध्यान दिनुपर्ने बताइन् । ‘मतदाता कसलाई भोट दिने भन्नेमा स्वतन्त्र छन्, उनीहरुलाई अनावश्यक दबाब दिएर प्रभावित गर्न हुँदैन’, उनले भनिन् । उनले निर्वाचनका बेला मतदान स्थलभन्दा १ सय मिटर पर मात्रै दलका टेन्ट राख्न दिन आग्रह गरिन् । बैश्यले आफ्नो पार्टीका तर्फबाट निर्वाचन आचारसंहिता पालनाको प्रतिबद्धता समेत जनाएकी थिइन् ।
राप्रपा नेतृ इन्दिरा शाहीले आफु पनि उम्मेदवारको दौडेमा रहेकाले उम्मेदवारी दिए आचारसंहिता पूर्ण रुपमा पालना गर्ने बताइन् । शाहीले अत्याधिक गर्मीका बेला रहेकाले मतदातालाई भोट हाल्ने बेला घामबाट जोगाउन टेन्टको व्यवस्था गर्न आग्रह गरिन् ।
राप्रपा बाँके अध्यक्ष नरेन्द्र पौडेलले पार्टीको तर्फबाट आचारसंहिता पालनाको प्रतिबद्धता व्यक्त गर्दै सबैले आचारसंहिता पालनाको प्रतिबद्धता र कार्यान्वयनको आवश्यकता रहेको बताए । पौडेलले राप्रपा भ्रष्टाचार विरोधी भएको उल्लेख गर्दै बालअधिकार, महिला अधिकारको सम्मान गर्ने प्रतिबद्धता जनाएका थिए ।
‘महंगो, तडकभडकको निर्वाचनबाट हामी पनि परेशान भएको अवस्था छ’, राप्रपा बाँके अध्यक्ष पौडेलले भने, ‘हाम्री निर्वाचन आचारसंहितामा उल्लेख बमोजिम नै खर्च गर्ने प्रतिबद्धता गर्दछौं ।’ उनले बाँके मात्रै नभएर अचारसंहिताका सन्दर्भमा प्रदेश र संघ तहका पार्टी नेतृत्व सँग समेत छलफल गर्ने पौडेलले बताएका थिए । ‘पैसाकै कारण कसैले चुनाव जित्नु हुँदैन, पैसाकै भरमा चुनाव जित्नेले कस्तो काम गर्लान्’, उनले भने, ‘यसतर्फ मतदाता पनि सजग हुनुपर्दछ ।’ अध्यक्ष पौडेलले भड्किलो निर्वाचन दीर्घकालीन रुपमा नोक्सान पुर्याउने बताए ।
एमाले नेतृ विजया धितालले आचारसंहितामा बोल्ने र पालना नगर्ने हो भने छलफलको कुनै अर्थ नहुने बताएकी थिइन् । आचारसंहिताको पालना दलले मात्रै नभई अन्य सरोकारवाला पक्षहरुले पनि गर्नुपर्ने उनको भनाइ थियो ।
नेकपा एकीकृत समाजवादी नेतृ भगवती अधिकारीले पार्टीले टिकट दिंदाबाट नै अचारसंहिता उल्लंघन गर्ने बाटो तर्फ डोर्याउने गरेको आशय व्यक्त गरिन् । ‘पैसा हुनेलाई मात्रै टिकट दिन प्रवृत्ति सबै पार्टीमा रहेको छ’, उनले भनिन्, ‘त्यस्तो हुनु हुँदैन ।’
काँग्रेस नेतृृ नारयणी रुपाखेतीले चुनाव लड्न पुर्खौली सम्पत्ति बेच्नु पर्ने अवस्था रहेको बताइन् । उनले निर्वाचनमा बढ्दो खर्च प्रति व्यङ्ग्य गर्दै भनिन्, ‘अहिले त बैंकले लोन समेत दिन छाडेको छ ।’ ‘राजनीतिक दलले न आफ्ना कार्यसमितिमा ३३ प्रतिशत महिला पुर्याएका छन् न त जनप्रतिनिधि तर्फ नै’, उनले भनिन् । ‘राजनीतिक दलको झोला बोक्यो टिकट दिने बेलामा पैसा हुनेले पाउँछन्, यो प्रवृत्ति परिवर्तन हुनुपर्दछ, यसले नै आचारसंहिता उल्लंघन बढाउने गरेको हो’, उनले भनिन् ।
काँग्रेस नेता डा. सुरेश कुमार कनोडियाले देखासिकीमै पनि आचारसंहिता उल्लंघन हुने गरेको सुनाए । यसअघि नेपालगन्ज नगर प्रमुखको उम्मेदवार समेत रहेका डा. कनोडियाले आफ्नो कार्यक्रममा कार्यकर्ता अर्को पार्टीको टिसर्ट लगाएर आउन थालेपछि बाध्य भएर टिसर्ट छापेर बाँढ्नु परेको सुनाए । ‘कसैलाई अनाहक पैसा खर्च गर्ने रहर हुँदैन, आचारसंहिता उल्लंघन हुने बित्तिकै त्यसलाई रोकिदिने हो भने धेरै राम्रो हुन्थ्यो, निर्वाचन खर्च बढ्थेन’, डा. कनोडियाले भने । ‘निर्वाचन सिष्टमले खर्च बढ्यो, सिष्टम नमान्दा खर्च बढ्यो’, उनले भने, ‘अब सबैलाई अचारसंहिता बारे जानकारी दिनु पर्यो र कडाईका साथ लागु गराउनु पर्यो ।’ डा. कनोडियाले निर्वाचन आचारसंहिता पालनाको प्रतिबद्धता समेत कार्यक्रममा गरेका थिए ।
माओवादी नेतृ मञ्जु रोकायले पैसा हुनेलाई मात्रै पार्टीले टिकट दिंदा निर्वाचन भड्किलो, खर्चिलो हुँदै गएको बताइन् ।
आचारसंहिता उल्लंघनमा कारवाही गर्छौ ः प्रहरी उपरीक्षक अधिकारी
बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले निर्वाचन अचारसंहितालाई कडाईका साथ लागु गर्ने बताए । ‘अचारसंहिता कडाईका साथ लागु हुन्छ, त्यसमा सबैको साथ र सहयोग आवश्यक छ’, प्रहरी उपरीक्षक अधिकारीले भने, ‘कानुन विपरित कार्य गर्ने सबैलाई कानुन बमोजिम समान व्यवहार गर्ने छौं ।’
वर्तमान देशको आर्थिक अवस्थाप्रति चिन्ता समेत व्यक्त गरेका प्रहरी उपरीक्षक अधिकारीले निर्वाचनका बेला आचारसंहिता विपरित हुने गरी खर्च नगर्न आग्रह समेत गरे । उनले राजनीतिक दलहरुलाई निर्वाचनका बेला अनैतिक दबाब नदिन समेत आग्रह गरेका थिए ।
‘अचारसंहिता कानुन बमोजिम कार्यान्वयन हुन्छ, कसैलाई पनि कारवाही गर्नुपर्ने स्थिति राजनीतिक दलले सिर्जना गर्नुहुन्न भन्ने विश्वास छ’, प्रहरी उपरीक्षक अधिकारीले भने, ‘आफुले पनि अचारसंहिता पालना गर्नुस्, अरुलाई पनि गर्न सुझाव दिनुस्, अटेरी गर्नेलाई कानुन बमोजिम हुन्छ नै ।’
नेकपा एमाले बाँकेका सचिव रत्न खत्रीले निर्वाचनका क्रममा प्रचारप्रसारका कार्यक्रम दलहरु बीच नजुधाउन आग्रह गरे । उनले दलका कार्यक्रम एकै ठाउँमा जुध्दा हुनसक्ने अप्रिय घटनाप्रति राजनीतिक दलहरुलाई ध्यानाकर्षण गराए । ‘अचारसंहिताको पक्षमा सबै दल उभिने हो भने निर्वाचन खर्च निकै कम हुन्छ’, उनले भने, ‘त्यसका लागि दलहरु बीच प्रतिबद्धता र त्यसको कार्यान्वयनको आवश्यकता रहेको छ ।’ सचिव खत्रीले एमाले बाँकेमा निर्वाचन निष्पक्ष र भय रहित बनाउनका लागि सहयोग गर्न तयार रहेको बताए ।
अधिवक्ता विश्वजित तिवारीले कसैको पनि घरमा विना अनुमति राजनीतिक प्रचारप्रसार सामाग्री नटासिदिन अनुरोध गरे । उनले चोक र चौराह ब्यानर र पोष्टरले फोहोर हुने गरेको तर्फ ध्यानाकर्षण गराउँदै राजनीतिक दललाई प्रचारप्रसार सामाग्री लगाउँदा उचित व्यवस्थापन गर्न आग्रह गरे ।
नेपाली काँग्रेस बाँकेका सचिव सुधांसु कोइरालाले निर्वाचन प्रक्रिया स्वतन्त्र हुनुपर्ने र त्यसलाई स्वतन्त्र, निष्पक्ष बनाउन आआफ्नो ठाउँबाट आग्रह, पूर्वाग्रह विना भूमिका खेल्नु पर्ने बताए । ‘आचारसंहिता बनाएर मात्रै हुँदैन त्यसको कार्यान्वयन पनि गराउनु पर्दछ’, उनले भने । बाँकेका निर्वाचनको अघिल्लो रातलाई भनिने ‘कत्लकी रात’को अन्त्य हुनु पर्ने बताए । निर्वाचनका अघिल्लो दिन मतदाता प्रभावित गर्न पैसा बाँढिने कार्य बन्द हुनुपर्छ, बन्द गराउनु पर्दछ’, उनले भने ।
माओवादी केन्द्रका नेता डिल्ली बरालले अचारसंहिता पालनामा आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै वर्तमान निर्वाचनको सिष्टमकै कारण आचारसंहिता उल्लंघन हुने गरेको बताए । आफ्नो पार्टीले त्यसैले पूर्ण समानुपातिक निर्वाचनको माग गरेको उल्लेख गर्दै उनले अचारसंहिता लेखेर र जपेर भन्दा पनि कार्यान्वयनले सार्थकता पाउने बताए ।
जनमोर्चा नेता जगदीश ढकालले विगतका निर्वाचनमा आचारसंहिता उल्लंघनकर्तालाई कुनै कारवाही नभएकाले अबको निर्वाचनमा पनि दोहोरिन सक्नेप्रति प्रशासनको ध्यानाकर्षण गराए । जसपा नेता हिक्मत विकले आचारसंहिता उल्लंघन दलबाटै हुने भएकाले दलहरुले नै नियन्त्रण गर्न आवश्यक रहेको बताएका थिए । उनले टिकट पाएपछि आचारसंहिता उल्लंघन गरेर पनि जसरी पनि जित्नै पर्छ भन्ने मानसिकताको अन्त्य हुनुपर्ने बताए ।
एकीकृत समाजवादीका नेता अशोक कोइरालाले उम्मेदवार बन्न, बनाउन हुने बार्गेनिङबाट आचारसंहिताको उल्लंघन सुरु हुने धारणा राखेका थिए । ‘आचारसंहिता पालना गराउन सरकारी संयन्त्रले प्रभावकारी भूमिका खेल्नु पर्दछ’, उनले भने, ‘आचारसंहिता उल्लंघन गर्नेको उम्मेदवारी रद्द समेत गर्ने अधिकार सरकारी अधिकारीलाई हुन्छ, त्यसैले आचारसंहिता बाध्यकारी बनाउनु पर्दछ ।’
‘निर्वाचन स्वच्छ बनाउने जिम्मेवारी सबैको’
बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बाँकेमा निर्वाचन स्वच्छ बनाउने जिम्मेवारी प्रहरी, प्रशासन, राजनीतिक दल तथा सरोकारवाला सबैको रहेको बताएका छन् ।
प्रजिअ खत्रीले निर्वाचनमा सुरक्षा व्यवस्थामा कुनै पनि चुक हुन नदिने, भयरहित बनाउनका लागि सुरक्षा योजना बनाउनका लागि बाँके प्रशासनले तयारी गरिरहेको बताए । ‘हामी जिल्लाका सबै स्थानीय तहको मतदान केन्द्रहरुको स्थलगत अनुगमन गरी सुरक्षा योजना बनाउँदैछौं’, प्रजिअ खत्रीले भने ।
‘निर्वाचनलाई मर्यादित बनाउनका लागि सबैको सहयोगको अपेक्षा गरेका छौं’, प्रजिअ खत्रीले भने, ‘अचारसंहिता उल्लंघनले द्वन्द्व सिर्जना हुन्छ, त्यसैले सबैले आचारसंहिता पालना गर्नुहुन्छ भन्ने विश्वास लिएको छु ।’
प्रजिअ खत्रीले निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारहरुसँग पटकपटक छलफल गर्ने बताए । उनले निर्वाचनका क्रममा प्रचारप्रसारको समयावधी तोक्ने, त्यसको अनुगमन, निगरानी गर्ने बताए । ‘नागरिक समाजले पनि आचारसंहिता पालनाको अनुगमन गर्न आवश्यक रहेको छ’, उनले भने, ‘निर्वाचन स्वतन्त्र, भयरहित र निष्पक्ष बनाउने तयारी हामीले गरिरहेका छौं ।’
प्रमुख जिल्ला अधिकारी खत्रीले कुनै पनि हालतमा निर्वाचनमा धाँधली हुन नदिने बताएका छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य दिपा शर्माले निर्वाचनलाई भयरहित बनाउन नेकपा एमाले प्रतिबद्ध रहेको बताउदै राजनीतिक दलका कार्यकताहरूले निर्वाचनलाई स्वतन्त्र आखाँले हेर्नु पर्ने बताइन् ।