विचार

संसारको महाशक्ति राष्ट्रहरु मध्येको एउटा राष्ट्र रुसले गत फरवरी २४ तारिखबाट आफ्नो पश्चिमी छिमेकी देश यूक्रेनमाथि आक्रमण जारी राखेको छ । युद्धको झण्डै डेढ महिना पुग्दासम्म कुनैपक्षको हारजीत निर्धारण गरेकोे छैन । दुबै देशले आआफ्ना दाबी गरेका छन् । तीन पटकसम्म कुनै निकासका लागि भन्दा पनि वार्ताका लागि वार्ता पनि गरेका छन् ।

यो युद्धले रुसको सामरिक रुपमा विश्वशक्ति मापन भैरहेको छ भने युक्रेनको इतिहास नै मासिने बाटो निर्धारण गरेको छ । यहाँ विश्वका अरु देशहरु रमिते मात्रै भएका छन् । युद्धपूर्व काँधथाप्ने भरोसा दिने देशहरु युक्रेनलाई उचालेर उसको सर्वनासको खाका तयार गरिरहेका मात्रै छैनन् परोक्ष रुपमा अर्को शक्तिराष्ट्र कै पक्षमा काम गरिरहेका छन् । कुनै देशहरु त्यो युद्धले आफ्नो देशको अर्थतन्त्र र त्यहाँभित्र जनतामा विकसित हुनेसक्नेअसन्तुष्टि व्यवस्थापन कसरी गर्ने भनेर चिन्ता व्यवस्थापनमा छन् । कतिपय देशहरु यो युद्धले विश्वयुद्धको रुपलियो भने आफ्नो देशको सुरक्षा कसरी गर्ने भन्ने तयारीमा लाग्दै तठस्थतामा छन् । केहि देश छन् जो यो युद्धबाट हुने असरको कुनैपनि तयारी भन्दा शक्तिराष्ट्रको फेरीसमाउँदै युक्रेन या रुसको पक्षमा बोल्दैछन् ।

यस्तै फेरी समाएर बोल्ने राष्ट्र अहिले नेपाल भएको छ । नेपालले अमेरिकी उक्साहटमा आफ्नो स्थापित पराष्ट्रनीति (गुटनिरपेक्षता) सिद्धान्तलाई तिलाञ्जलि दिएको छ । उसले अमेरिकी गुटतर्फको भाषा बोल्नु भर्खरै औचित्यहीन व्याख्यात्मक टिप्पणी सहित पारित गरेको अमेरिकी योजना एमसीसीको असर पनि हो । यसरी बिभिन्न प्रभावमा पर्दै आफ्ना स्थापित मूल्य मान्यताहरुलाई भत्काउने जुन प्रबृतिको विकास गर्न खोजिँदै छ यसले नेपालको दीर्घकालिन हितगर्न सक्दैन ।

यहाँ बडामहाराज धिराज श्री ५ पृथ्बीनारायण शाहको दिव्योपदेशलाई सम्झिनै पर्छ जसमा वहाँले भन्नु भएको थियो ‘नेपाल दुई ढुङ्गाको तरुल हो’ भनेर । कतिपय आफुलाई क्रान्तिकारी भन्नेहरुले वहाँका कुरामा बिमति राख्दै खिल्ली उडाएर बोल्छन् । तर ती खिल्लीबाजहरुले यसको वास्तविक अर्थ न त बुझ्ने प्रयास गरे न यसलाई त्यस बुझाइबाट व्यवस्थापन गर्न सिके ।

नेपाल आजभन्दा अढाई सय बर्ष अगाडी जुन दुई ढुङ्गाको तरुलको अवस्थामा थियो त्यो भन्दा खतरनाक रुपमा अहिले दुई ढुङ्गा मात्रै होइन दुई परमाणु डाइनामाइडको बीचमा रहेको छ । त्यसबेला भारत र चीन आजको जस्तो न त एकिकृत थिए न शक्तिशाली नै थिए । साढे सारसय राज्यमा बिभक्त भारत नेपालको लागि त्यति घातक थिएन । न तिब्बत नै घातक थियो । नेपालले तत्कालिन भारतीय शासक अँग्रेजहरुलाई मात्रै होइन भोट तिब्बतलाई समेत ठेगानमा राख्न सफल भएको थियो । त्योबेला चीन पनि आजको जस्तो व्यवस्थित देश बनेको थिएन । हिमालको सीमापर्खालले चीनबाट नेपाल भारतबाट जस्तो खतरामा पनि थिएन ।

नेपाललाई हिजोको अवस्थामा भन्दा आज धेरै खतरा छ । रुस र युक्रेनको युद्धले नेपाललाई धेरै कुरा सिकाएको छ । आज युक्रेनी नेतृत्वले निरपेक्ष नीति लिन नसक्नु् युक्रेनी जनताले भोगेको वर्तमानको यर्थाथ हो । छिमेकको शक्तिराष्ट्रसँग सिँगरी खेल्नका लागि नाटो र कुनै साथ सम्पर्कको आवश्यकता नै नपरेको अमेरिकासँग चोचोमोचो जोड्न जानु पक्कै पनि युक्रेनी नेतृत्तको अदुरदर्शिता थियो भन्ने कुरा सावित हुँदै गैरहेको छ । कुटनीति र राष्ट्रनीतिमा कोहिपनि राष्ट्र कसैका स्थायी मित्र वा शत्रु हुँदैनन् । जहाँ देशको सुरक्षा र देशको हितको प्रश्न आउँछ त्यहाँ लिइने साथ र सहयोग कस्को हो भन्ने कुराले कुनैपनि अर्थ राख्दैन ।

दोश्रो विश्वयुद्ध पछि बनेका जतिपनि अन्तराष्ट्रिय संस्थाहरु छन् ती सबै अपाङग नै छन् भन्ने कुरा पटकपटक प्रमाणित भएको छ । युद्ध रोक्न बनाइएको भनिएको राष्ट्रसंघ र सुरक्षा परिषद, अन्तराष्ट्रिय अदालत सबै मनोरञ्जन गर्ने ठाउँ भएका छन् । शक्तिराष्ट्रहरुले जे चाह्यो जहिले चाह्यो त्यहि गर्ने छूट राष्ट्रसंघ गठनको सातदशको इतिहासमा चारदशक देखि चलेकै छ । आज संसारका निम्न आर्थिक र सामरिक अवस्था भएका निमुखा देशहरुमा समाजिक द्धन्द चलेकै छ । आर्थिक नाकाबन्दी चलेकै छ ।

लडाइँ र संघर्ष पनि चलेकै छ । पृथकताबादी आन्दोलन र आतंकवाद पनि मच्चिएकै छ । बिखण्डन गर्ने गराउने काम पनि भएकै छ । नयाँ नयाँ देशका जन्म पनि भएकै छन् । बलियोे छिमेकीले कमजोर छिमेकीलाई आर्थिक, भौगोलिग र सामरिक हस्तक्षेप गर्न पनि छोडेको छैन । त्यति मात्रै होइन शक्तिराष्ट्रहरुले आफ्नो सीमाना नै नपर्ने देशमा पुगेर आफ्नो समान देखि हतियार बेच्ने, युद्ध थोपर्ने र भाषा सँस्कृति देखि जेनेटिकल परिवर्तन गराउने काम मज्जाले गरिरहेका छन् । यसलाई रोक्ने आजको मितिमा संसारमा कुन चाहिँ संस्था छ ?

नेपालले आज कसैको काखमा बसेर छिमेकीलाई ब्लेकमेल गर्न सक्छु भन्ने भ्रम पाल्नु ठिक त्यस्तै हुनेछ जुन युक्रेनले पालेको थियो । आजको विश्व बुहधु्रबीय विश्व हो । यसका दुई धु्रब त हाम्रा छिकेकीहरु नै हुन । यसमा नेपालले अमेरिका वा अन्य कुनैको उक्साहटमा लागेर यी दुई देशलाई ब्लेकमेलिङ गर्ने सपना देख्नु भनेको नेपाललाई शक्तिराष्ट्रहरुको युद्ध मैदान बनाउनु मात्रै हो ।

अमेरिकाले कहिल्यै पनि युद्ध आफ्नो भूमिमा लडेको छैन र भविष्यमा पनि लड्दैन । यो सबै शक्तिराष्ट्रहरुको नै चाहना हुन्छ । यहाँ चीन र अमेरिका बीच कुनै बिवाद हुनु वा अमेरिका र भारत बीच कुनै बिवाद हुन दुबै अवस्थामा अहिले भएको युद्धभूमि युक्रेन झैं मैदान बन्ने नेपाल नै हो । अफ्गानिस्तानमा होस् या सिरियामा या अहिले युक्रेनमा त्यहाँ ती युद्ध मैदान बनेका देश लडेका होइनन् । अमेरिका र रुस लडेका हुन् । अहिले युक्रेनमा पनि यूरोअमेरिका र रुस लडिरहेका छन् । तर देश बर्बाद युक्रेन भएको छ । बिनासको परिणाम युक्रेनी जनताले भोगिरहेका छन् । अझैपनि अमेरिका उसको बोर्डरमा आएर लड लड म छु भन्दै उक्साउँदै छ । तर युक्रेनलाई नाटोको चँगुलमा नलैजाने ग्यारेन्छी गरेर युक्रेनको अस्मिता बर्बाद हुनबाट बचाउन चाहेको छैन ।

रुसले आफ्नो देशमाथि नाटो र अमेरिकाले खतरा आफ्नो छिमेकी देश युक्रेनबाटै होस् भन्ने चाहेको थिएन र कहिल्यै चाहँदैन पनि । रुसी नेतृत्वले स्पष्ट पारिसकेको छ कि रुसलाई खतरा हुन्छ भन्ने उ संसार रहन्छ वा रहँदैन भन्ने कुनै कुराले प्रभावित हुने छैन । अर्थात परमाणु हतियार प्रयोग होस् या युक्रेनको नामोनिसान विश्व मानचित्रबाट मेटाउन किन नपरोस् रुस तयार हुनसक्छ ।
युक्रेन त यूरोपको हिस्सा थियो । हतियार सहयोग गर्नेहरु थिए । पैसा थियो । प्रबिधि थियो । छाला गोरो थियो अँग्रेजसँग मिल्दो । तरपनि उसले आज अस्तित्वको अन्तिम लडाइँ लडिरहेको छ । तर नेपालसँग युक्रेनसँग भएका जस्ता कुनैपनि साधन श्रोत छैनन् । यस्तो अवस्थामा नेपालले आफुलाई सुरक्षित कसरी राख्ने चिन्तन जरुरी छ ।

नेपालले आफ्ना दुबै छिमेकीहरुको राष्ट्रिय सुरक्षामा खतरा पैदा हुने कुनैपनि कार्य गर्ने छूट कसैलाई दिनु हुँदैन । यो कुरामा दुबै छिमेकीलाई आस्वाश्त बनाउन पनि सक्नुपर्छ । यो काम अमेरिकी खेमाको झण्डा उठाएर बन्दैन । न त बेइजिङको पार्टीको ल्हासा इकाइसँग तालिम लिएर बन्छ । न दिल्लीको सत्ताधारी पार्टीको कार्यालयमा हाजिरी लगाएर नै बन्छ ।

नेपालले लिने नीति भनेको गुटनिरपेक्ष नीति नै हो । तटष्थता बीना कसैले विश्वास गर्दैन । नेपालको राष्ट्रीय हीतलाई सर्वोपरि राखेर हिँड्दा चुनावमा भोट पाइन्छ कि पाँइदैन भन्ने चिन्ता पालेर बस्नु पर्दैन । नेपालमा राजनीति गरेको ढोंङ पिट्ने दलहरुले दलालीको दलदलमा पसेर कित्ताकाटको काम गर्न र फरकफरक मालिकहरुको ताबेदारी गर्न छोड्नैपर्छ । जबसम्म नेपाललाई, नेपाली मौलिकतालाई नेपालीत्वलाई सर्वोपरि राखेर नेपाल सापेक्ष भएर काम गरिँदैन नेपालको नियति पनि वर्तमानमा युक्रेनको जस्तै हुनेछ । रुस युक्रेन युद्धबाट नेपालले केहि सिकोस् ।

प्रतिक्रिया

प्रतिक्रिया