कुबेरजंग शाही/कोहलपुर
कोहलपुरका व्यवसायिक क्षेत्रका अगुवाहरुले व्यवसायिक क्षेत्रको सुुरक्षामा प्रहरीले चासो बढाउनु पर्ने बताएका छन् । बिहीबार कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण राज पौडेलको अध्यक्षता, ईलाका प्रहरी कार्यालय प्रमुख ऐन बहादुर मल्लको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वक्ताहरुले व्यवसायिक क्षेत्रको सुरक्षाको चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रम बोल्दै उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण राज पौडेलले कोहलपुर एउटा सुरक्षाका दृष्टिकोणले अति संवेदनशिल क्षेत्र भएको र दिनहुँ चोरी, हत्या, दुर्घटना, लागुऔषध ओसारपसार हुन नदिन सुरक्षामा कडाइ गर्न माग गरे । संघका अध्यक्ष पौडेल भन्छन्, ‘दिनहुुँ व्यापारीहरुका मालसामान चोरी हुँदा पनि सुरक्षा निकायले चासो देखाएन ।’ सिसिक्यामेराको सहायताबाट चोर पत्ता लगाएपनि त्यसको खोजीकार्यमा सुरक्षा प्रशासनले अलमल गर्ने गरेको उनको आरोप छ ।
कोहलपुर क्षेत्रमा सडक दुर्घटना कम गर्न ओभर ब्रीज बनाउन नगरपालिकालाई बजेट व्यवस्था गर्न आग्रह गरेपनि कुनै चासो नदेखाएको बताए । संघका पूर्व अध्यक्ष चक्र बहादुर अधिकारले कोहलपुर क्षेत्रमा पार्किङ व्यस्थित गर्न र ओभर स्पिड कम गर्न अध्यक्ष पौडेलले ट्राफिक प्रमुखलाई अनुरोध गरे । राजस्व उठाउने नाममा व्यवसायीहरुलाई दुख नदिन र दुर्घटनाका दृष्टिकोणले अति संवेदनशिल क्षेत्रमा ट्राफिक चेकजाँच नगर्न आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथि तथा ईलाका प्रहरी कार्यालय प्रमुख ऐन बहादुर मल्लले कोहलपुरमा शान्ति सुरक्षामा कुनै कमि हुन नदिने बताए । ईप्रका प्रमुख मल्लले कोहलपुर पहिलेको कार्यक्षेत्र भएकोले पनि आफू संग विगतका अनुभव रहेको बताए । जनतालाई सुरक्षाको अनुभूति दिलाउने कुरामा पछि नहट्ने बताए ।
त्यसैगरी जिल्ला ट्राफिक प्रमुख हिमालय शाहका अनुसार, ट्राफिक कार्यालयमा जनशक्तिको अभाव रहेको बताए । शाहका अनुसार अहिल ६५ जनाको भरमा सेवा प्रवाह गरिरहेको जानकारी दिए । आम नागरिकलाई सुरक्षा प्रत्याभूत गर्न चैत २२ गतेदेखि टाइम कार्ड लागु गरेको र सबैले पालना गर्न शाहले अनुरोध गरे ।
कार्यक्रममा संघका संस्थागत अध्यक्ष कर्ण बहादुर थापा, पूर्व अध्यक्ष नरेन्द्र प्रसाद शर्मा, राजेन्द्र श्रेष्ठ, उद्योग वाणिज्य संघका पदाधिकारी, उद्योगी व्यापारी लगायतले बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन उद्योग वाणिज्य संघका सचिव मातृकाप्रसाद सापकोटाले गरेका थिए ।