नेपालगन्जको बहुआयामिक विकासका लागि तमाम आधारहरु होलान्, तर सहज र पूर्वाधार तयार भइसकेको क्षेत्र भनेको पर्यटन हो । जसको आधार प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर र पवित्र मानसरोवरको ‘गेट वे’ हुनसक्छ । खाँचो छ त केवल आवश्यक योजना र त्यस अनुसारको प्रचारप्रसार अनि प्रवद्र्धनको ।

नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा हरेक दिन महाआरतीका लागि आवश्यक पहल थालिएको समाचार प्रकाशमा आएको छ । पशुपतिनाथको मन्दिर होस् वा जनकपुरधाम त्यहाँ हुने महाआरती बागेश्वरी मन्दिरमा पनि गर्न लागिएको समाचारले सार्थकता पाउँदा नेपालगन्जका लागि एउटा आकर्षण थप हुने निश्चित छ । बागेश्वरी मन्दिरमा महाआरतीका लागि विभिन्न कोणबाट छलफल गरिएका हुन् । तर, यसले सार्थकता नपाउँदा बागेश्वरी दर्शनका लागि आउने धार्मिक पर्यटक हुन् वा अन्य जोकसैका लागि पनि नेपालगन्जमा एकाध घण्टा मन शान्त पारेर रमाउने थलोको अभाव खट्किरहेको छ । खासगरि, छिमेकी मुलुक भारत उत्तर प्रदेशका धार्मिक पर्यटकहरुलाई यसखालको नियमित अनुष्ठानले आकर्षिक गर्न सकिने सम्भावनालाई सार्थक बनाउनेतर्फ लाग्नु आवश्यक छ ।
कोभिडको मारबाट थिलो परेको मुलुकको पर्यटन व्यवसायलाई उकास्न हरेक सरोकारवालाले आफ्नो पहल र प्रयासबाट आवश्यक योजना बनाउनुपर्छ । सरकारी मुख ताकेरै बस्ने हो भने, राजनीतिकरणको विकृतिले छोपेको हाम्रो मुलुकको शासनयन्त्रबाट ध्वस्त पर्यटनलाई उकास्ने नीतिको भर पर्नु मुर्खता हुनसक्छ । पर्यटन पूर्वाधारमा निजी क्षेत्रले गरेको अबौं लगानीको सुरक्षाका लागि पनि नेपालगन्जमा जतिसक्दो छिटो पर्यटन र पर्यटकलाई साझा प्याकेजका रुपमा राखेर अगाडी बढ्नुपर्छ । त्यो प्याकेजमा मानसरोवरका लागि नेपालगन्ज आउने भारतीय पर्यटकहरुलाई एक दिन भएपनि ‘होल्ड’ गर्न सकिने योजनाले निकै सकारात्मक परिणाम दिनसक्छ, पर्यटन व्यवसायमा भन्ने कुरालाई मनन् गरि स्थानीय सरकारसँगको सहकार्यमै पनि धेरै काम गर्न सक्नुपर्छ, सकिन्छ । त्यसतर्फ व्यवसायीहरुनै अग्रसर बन्न ढिला गर्नु हुँदैन ।
नेपालगन्जलाई आर्थिक विकासका दृष्टिले ‘चार खम्बे’ भनिंदै आएको छ । त्यो मध्य पर्यटन एउटा महत्वपूर्ण खम्बा हो । यसलाई पर्यटनको हबका रुपमा स्थापित गर्न पर्यटन प्रर्वद्धनका कार्यक्रमसँगै बागेश्वरी मन्दिरलाई ‘गेट वे अफ मानसरोवर’ का रुपमा भारतभर ‘ब्राण्डिङ’ गर्ने योजना आवश्यक छ । त्यससँगै यहाँका बाँके राष्ट्रिय निकुन्ज, बर्दिया निकुञ्ज लगायतका पर्यटकीय गन्तव्यसँगको व्यवसायिक सम्बद्धलाई बलियो बनाउनतर्फ लाग्नुपर्छ । नेपालगन्ज– पोखरा हवाई सेवा सञ्चालन देखि वेष्टर्न ट्राभल्स मार्टसम्मका पर्यटन प्रवद्र्धनका आयोजनासँगै अब प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरलाई मानसरोवरको प्रवेशद्वारका रुपमा बुझ्न र स्थापित गर्न ढिला गरिनु हुन्न । खासगरि, नाट्टा, हानको योजनाबद्ध दबाव अनि स्थानीय सरकारको अग्रसरता अहिलेको अपरि आवश्यकता हो ।