चुनाव पछि मात्र अतिक्रमण हटाउ : उपमहानगरपालिका

सडक डिभिजन कार्यालय नेपालगन्जले जमुनाह कोहलपुर सडक खण्डको अतिक्रमण हटाउन सुरु गरेपछि नेपालगन्ज उपमहानगरपालिकाले अतिक्रमण निर्वाचन पछि मात्रै भत्काउन अनुरोध गरेको छ ।

सडक डिभिजनले अतिक्रमण हटाउन सुरु गरेपछि घरधनीहरुले सूचना नपाएको भन्दै जिल्ला प्रशासनमा घर चिन्हित गर्न, भत्काउनका लागि समय थप गर्न जिल्ला प्रशासन कार्यालय बाँकेमा दबाब दिएका थिए । घरधनीहरुको दबाब पछि प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले सडक डिभिजनलाई सडक क्षेत्र चिन्हित गर्दै घरहरुमा मार्किङ गर्न निर्देश गरेका थिए ।

नेपालगन्ज उपमहानगरपालिकाको गत चैत्र १७ गते भएको बोर्ड बैठकले हाल सडक क्षेत्रफलमा भएका भौतिक संरचनामा चिन्ह लगाउन र निर्वाचन पछि मात्रै सडक अतिक्रमण हटाउन सडक डिभिजन र जिल्ला प्रशासन कार्यालय बाँकेलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
निर्वाचनका बेला सडक अतिक्रमण हटाउँदा बहाल जनप्रतिनिधिहरुको आलोचना हुने र त्यसले मतमा असर पार्ने भएकाले जनप्रतिनिधिले निर्वाचन पछि हटाउनका लागि उपमहानगरपालिकाले निर्णय गरेको स्थानीय बताउँछन् । ‘उपमहानगरपालिका मात्रै होइन सडकलाई हटाउ भन्ने र फिल्डमा हटाउन जाँदा विरोध गर्ने नाटक राजनीतिक दलबाट हुने गरेको छ’, स्थानीय भन्छन् । यद्यपि, केहीले निर्वाचनका बेला सडक अतिक्रमण हटाउँदा उत्पन्न विरोधका कारण अशान्ति हुनसक्ने र त्यसले निर्वाचन कार्यक्रमहरु विथोलिन सक्ने भएकाले हाल नहटाउनु नै उचित हुने बताउँछन् ।

सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख होम बहादुर एसीले सडक अतिक्रमण हटाउने कार्य नरोकिने बताउँछन् । ‘घरधनीले सूचना नपाएको, सडक क्षेत्रफल चिन्हित गरिदिन र आफै भत्काउने माग प्रशासनमा गरेपछि हामीले सडक क्षेत्रफलमा रहेका भौतिक संरचनामा चिन्ह लगाउन सुरु गरेका छौं’, सडक डिभिजन प्रमुख एसीले भने, ‘सडक क्षेत्रफलका बारेमा पटकपटक सूचना गर्दा पनि घरधनीबाट गुनासो आएपछि मार्किङको काम गरेका छौं, केही समय हेर्छौ र अतिक्रमण खाली नगरे सर्वदलीय बैठकको निर्णय अनुसार पुनः भत्काउन सुरु गरिनेछ ।’

डिभिजन प्रमुख एसीले कानुन बमोजिमको सडक क्षेत्रफल खाली गर्नु, गराउनु सबैको दायित्व भएको उल्लेख गर्दै व्यवस्थित सडकका लागि त्यो आवश्यक रहेको र सबैका लागि रहेकाले सबै तर्फबाट सहयोग पाउने अपेक्षा व्यक्त गरे ।

डिभिजन प्रमुख एसीले उपमहानगरपालिकाले गरेको निर्णयबारे आफुलाई कुनै जानकारी नभएको बताए । उपमहानगरपालिकाले निर्वाचन पछि मात्रै अतिक्रमित संरचना भत्काउन गरेको निर्णयबारे सडक डिभिजन प्रमुख एसीसँग जानकारी लिंदा उनले त्यसबारे अनभिज्ञता प्रकट गर्दै भने, ‘औपचारिक जानकारी पाएका छैनौं ।’ ‘हामीले सडक क्षेत्रफल खाली गर्न सूचना जारी गर्यौं, सर्वदलीय बैठक राखेर निर्णय लियौं, घरधनीको माग अनुसार मार्किङको काम चलिरहेको छ, विश्वास छ उहाँहरु आफै भत्काउनुहुनेछ, नभए कानुन बमोजिम सडक क्षेत्रफल खाली हुनेछ’, उनले भने, ‘निर्वाचन पछि वा अघि भत्काउने वा नभत्काउने भन्दा पनि यसअघि भएको सर्वदलीय बैठकको निर्णय कार्यान्वयन गर्नेछौं, कुनै फेरबदल गर्नुपर्ने भए जनप्रतिनिधि, सर्वदलीय बैठकले नै गर्नुपर्नेछ ।’

सडक डिभिजन प्रमुख एसीले सडक क्षेत्रफल खाली गर्ने कानुनी भए पनि यहाँको स्थानीय राजनीतिक दल, जनप्रतिनिधि, स्थानीयबासिन्दा, घरधनीको स्वस्फूर्त सहयोग आवश्यक रहने र त्यो प्राप्त हुने बताए । यसअघि सडक डिभिजनले सडक क्षेत्र अतिक्रमणको सूचना दिंदै १५ दिनको पत्र समेत दिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया