पर्यटन क्षेत्रको विकासमा विशेष नीति माग

कोभिडको मारबाट थिलो परेको पर्यटन व्यवसायलाई उकास्न प्राथमिकताको विशेष नीति माग गरिएको छ । पर्यटन पूर्वाधारमा निजी क्षेत्रले गरेको अबौं लगानी रहेको नेपालगन्जमा विकास हुँदै गएको पर्यटन व्यवसायलाई उकास्न विशेष नीति माग गरिएको हो ।


पर्यटन र पर्यटकलाई साझा प्याकेजको रुपमा बुझ्न नसक्दा पर्यटन क्षेत्रको विकास ओझेलमा परेको चिन्ता गरेका नेपालगन्जका सम्बद्ध व्यवसायीहरुले यसबाट माथि उठ्न संस्थागत प्रयासमा लागेका छन् ।


नेपाल एशोसियसन अफ टुर्स एण्ड टाभल्स एजेन्ट्स (नाट्टा) को शनिवार नेपालगन्जमा आयोजना भएको दोस्रो वार्षिक साधरणसभा तथा अधिवेसनमा उनीहरुले हाल अनलाइन सेवाको नाममा भएका गैर कानूनी कार्य र एयरलाइन्स र ट्राभल्सबीचको सम्वन्ध विस्तारले पर्यटन क्षेत्रलाई टेवा दिएको बताए ।


कार्यक्रमका प्रमुख अतिथि, नेपालगन्ज उप– महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले यहाँको चार खम्बामध्ये पर्यटन एउटा भएको उल्लेख गर्दै यहाँ सञ्चालनमा रहेका क्यासिनोले पर्यटन क्षेत्र चलायमान भएको बताए । होटेल तथा पर्यटन अध्ययन प्रतिष्ठानको स्थापना भए मात्रै त्यसले पर्यटनको विकासमा सघाउ पुग्ने विश्वास गर्दै नगर प्रमुख डा. राणाले बाँकेलाई पर्यटनको हबका रुपमा स्थापित गर्न पर्यटन प्रर्वद्धनका कार्यक्रम सञ्चालन गर्न जोड दिए ।


नाट्टाका केन्द्रीय अध्यक्ष अच्यूत गुरागाईंले नेपालगन्जमा पर्यटकीय विकासलाई एउटा अवस्थामा पुर्याउन नाट्टा नेपालगन्ज च्याप्टरले खेलेको भूमिकाको खुलेर प्रशंसा गरे ।
पर्यटन प्रवद्र्धन मञ्च, बाँकेका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले यस क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएको जानकारी दिंदै थुप्रै पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटनको विकास गर्न आवश्यक भएको बताए । उनले बाँके राष्ट्रिय निकुन्जलाई ब्राण्डिङ गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गरे ।


अधिवेशन उद्घाटन कार्यक्रमको अध्यक्षता गरिरहेका नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले पर्यटन क्षेत्रको विकासका लागि सबैको चासो अनिर्वाय भएको उल्लेख गर्दै नाथम कलेज स्थापना देखि पोखरा उडानसम्मका महत्वपूर्ण काम भएको बताए ।


नाट्टा नेपालगन्जको पहलमा गत विस. २०७७ फागुन ७ गतेदेखि नेपालगन्ज– पोखरा हवाई सेवा सञ्चालन,बर्दिया ठाकूराद्वारासम्म सुविधा सम्पन्न बस सेवा सञ्चालन, टुर दी ठाकूरद्वारा कार्यक्रम सञ्चालन, वेस्टर्न ट्राभल्स मार्ट लगागतका कार्यक्रम भएको नाट्टाका महासचिव झविलाल शर्माले प्रतिवेदनमा उल्लेख गरे ।


सो अवसरमा पत्रकार झलक गैरे, शंकर प्रसाद खनाल, उत्कृष्ट व्यवसायी कृष्ण केसी, नेपालगन्ज नगरप्रमुख डा. राणा, मञ्च अध्यक्ष श्रेष्ठ, मेरो प्लानेटका प्रवन्ध निर्देशक डा. ओम मिश्र, नाट्टा केन्द्रीय अध्यक्ष अच्यूत गरागाईं लगायतलाई पर्यटन क्षेत्रमा योगदान गरेको भन्दै सम्मान गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया