सकियो भ्रष्टाचार बिरुद्धको युवा सम्मेलन

शुक्रवार नेपालगन्जमा भ्रष्टाचार बिरुद्धको पाचौं राष्ट्रिय युवा सम्मेलन आयोजना भएको छ । बास नेपालको आयोजनामा भएको सम्मेलनले देशमा ब्याप्त भ्रष्टाचार रोेगथामका लागि युवाहरु जागरुक हुनुपर्नेसहित भ्रष्टाचार बिरुद्धको अभियानलाई थप सशक्त रुपमा लैजाने निष्कर्ष निकालेको बासका सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए ।

सम्मेलनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सुचना आयुक्त कृष्णहरी बास्कोटाले देश भरीका युवाहरुलाई मन, बचन र कर्मले सदाचारको पक्षमा काम गर्न अपिल गरे । उनले बिनम्र हुन, घमण्ड नगर्न र शान्त पूर्बक काम गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले भ्रष्टाचार गर्ने र जेल पर्नेलाई फुलको माला लगाउने संस्कारमा रहेको भन्दै गलत संस्कार विकास गर्दै भावी पिढीलाई विगारिरहेको धारणा राखे । म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने मुल मन्त्रका साथ काम गर्न युवाहरुलाई मेयर राणाले अपील गरे ।

नेपालगन्ज उपमहानगरपालिकाका उप प्रमुख उमा थापा मगरले समयको माग अनुसार सबै युवाहरु भ्रष्टाचार बिरुद्धको अभियानमा लागेमा भ्रष्टाचार रहित नेपालको परिकल्पना साकार हुने बताइन् ।

असल शासन अभियन्ता केदार खड्काले बासको अभियान पबित्र अभियान भएको भन्दै यसमा आबद्ध आशालाग्दा युवाहरुको जमातले युवाहरुलाई सहि बाटोमा लाग्न उत्प्रेरित गरिरहेको बताए । उनले राम्रो काम गर्ने ब्यक्तिलाई सम्मान गर्ने र गलत गर्नेको बिरोध गर्ने परिपाटी बासले बसाएको बताए । त्यसक्रममा हलमा सहभागी ५ सय बढीले सदाचारी हाईहाई, भ्रष्टाचारी बाईवाई भन्दै नारा लगाएका थिए ।

एकाउन्टविलिटी ल्यावका नेपाल प्रमुख नारायण अधिकारीले बासले युवाहरुमा असल संस्कार बसाएको बताए । सम्मेलनमा बासका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिना, स्वतन्त्र पत्रकार संघका राष्टिय सल्लाहकार नवराज पहाडी लगायतले बोलेको कार्यक्रम बासका केन्द्रीय महासचिब शिब कुमार बर्माले सञ्चालन गरेका थिए ।

सम्मेलनमा सहभागी देशभरका युवाहरुलाई बासका केन्द्रीय उपाध्यक्ष लुना बुढाथोकीले स्वागत गरिन् भने बासका कार्यकारी निर्देशक नमस्कार शाहले सम्मेलनको उद्देश्य प्रस्तुत गरेका थिए । बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा भएको सम्मेलन एचसीआरसी अस्पताल नेपालगन्ज, प्लान इन्टरनेशनल, कारितास नेपाल, एकाउन्टविलिटिल्याब, माईति नेपाल, गैसस महासँघ बाँके शाखा लगायत एक दर्जन बढी संस्था तथा निकायको सहकार्य रहेको सूचना अधिकारी भट्टले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया