बास अध्यक्ष सिटौलासँगको कुराकानी नवौं महाधिवेशनको सेरोफेरोमा, आजको विशेष ।
दुई बर्ष कोभिडले हामीलाई प्रभावित बनायो जसका बाबजुत पनि संस्थालाई गतिशिल बनाउने काम भयो । दोहोर्याउनु भन्दा नयाँ नेतृत्व खोज्ने हो, स्वस्फूर्त नेतृत्व हस्तान्तरण गर्दैछु । मेरो कार्यकालमा नभएका कार्यहरु आगामी कार्यकालमा पुरा हुने अपेक्षा लिएको छु ।
रमेश सिटौला
अध्यक्ष, बास नेपाल
सुदुर पूर्व ताप्लेजुङ्गबाट २०५७ सालमा नेपालगन्ज आई सामाजिक सेवामा क्रियाशिल रहेकोका रमेश सिटौला बासका केन्द्रीय अध्यक्ष हुन् । स्थापना कालदेखिनै भावनात्मक सम्बद्धता बनाइए राखेका सिटौलाले २०५८ साल देखि सदस्य, सचिव र पु्र्वाञ्चल उपाध्यक्षको रुपमा रहि नेतृृत्व गर्दै अहिले पद हस्तान्तरणको डिलमा छन् । ‘दोहोर्याउनु भन्दा नयाँ नेतृत्व खोज्ने हो,’ नेतृत्व विकासमा योगदान गरिरहेको बासको आगामी कार्यकालबारे दैनिक नेपालगन्जले सोधेको प्रश्नमा अध्यक्ष सिटौलाले भने ।
केही वर्ष बासको ब्यबस्थापन अन्तर्गत प्रशासन प्रमुख समेत रहेर कार्य सम्पादन गर्ने मौका पाएका सिटौला २०७५ देखि अध्यक्षको रुपमा स्वयम्सेवी नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको बताउँछन् । अब नि ? ‘पश्चिम नेपालकै सुविधा सम्पन्न एचसीआरसी अस्पतालको प्रमुख ब्यबस्थापकको जिम्मेवारीलाई सफल बनाउँदै अगाडी बदैछु,’ निर्धक्कसँग सिटौलाले भने । बास अध्यक्ष सिटौलासँगको कुराकानी नवौं महाधिवेशनको सेरोफेरोमा, आजको विशेष ।
तपाईंले नेतृत्व लिए पछिको बासलाई कसरी चिनाउनु भयो ? आफ्नाले गरेका सार्थक पहल र प्रयास हामीलाई पनि जानकारी होस् न !
बास नेपाल भ्रष्टाचार बिरुद्धको सशक्त आवाज सहित महाअभियानको साथ युवा बर्गको चौतफी क्षमता अभिबृद्धि सहित समाजको सकारात्मक बिकासमा टेवा पु¥याउने उद्देश्यले अघि बढेको सामाजिक संस्था हो । यो निरन्तर २१ बर्ष देखि समाजमा क्रियाशिल, गतिशिल संस्थाको नेतृत्व तहमा यस भन्दा पहिले पनि थिएँ ।
२०७५ चैत्र १ र २ गते नेपालगन्जमा सम्पन्न बास नेपालको ८ औं महाधिबेशनबाट निर्वाचित भएपछि अध्यक्षको रुपमा गहन जिम्मेवारी मैले पहिलो पटक लिने मौका पाएँ । सल्लाहकारज्यूहरु, पूर्वकार्यसमितिका साथीहरु, वर्तमान सशक्त कार्यासमितिको पदाधिकारी र संस्था सँग सम्बन्धित हितैषी मित्रहरुको साथ,सुझाव र सहयोगमा संस्थालाई सशक्त रुपमा अघि बढाउने काम द्रुत गतिमा भइरहेको छ ।
मैले नेतृत्व लिंदै गर्दा देशका ७२ जिल्लामा शाखा सञ्जाल रहेको बास आजको दिन सम्म आईपुग्दा ७७ वटै जिल्लामा शाखाहरुमा संस्थालाई बिस्तार गर्न सफलता मिलेको छ । देश संघीयतामा गएसँगै हामीले संस्थालाई संघीय ढाँचामा लैजाने काम पूर्ण रुपमा गरिसकोका छौं ।
शाखाहरुलाई सशक्त बनाउने, भ्रष्टाचार बिरुद्धको अभियानलाई राष्ट्रव्यापी बनाउने, संस्थाको आफ्नै कार्यालय स्थापनका लागि जग्गाको खोजी गर्ने लगायतका अनगिन्ती कामहरु भएका छन् । समाजको सकारात्मक बिकासको लागि सरकारी निकाय, राष्ट्रिय, अन्तर्राष्ट्रिय निकायहरु सँग सहकार्य, समन्वय स्थापित गर्दै, उल्लेखनीय क्रियाकलापलाई निरन्तरता दिइरहेका छौं ।
बासलाई कस्तो बनाउँला सोच्नु भएको थियो, सफल भइयो होला ? कि पुरा नभएका सपना, प्रयास र पहललाई अबको नेतृत्वले अपनत्व लेओस् भन्ने हो ?
बास नेपाललाई देशकै अग्रणि सामाजिक संस्था बनाउने ध्येयका साथ मैले नेतृत्व लिएको थिएँ । सो बमोजिम हामीले गरेका प्रयासहरु केही हद सम्म सफल भएका छन् । बिभिन्न दातृ संस्थाहरुको सहयोगमा बिभिन्न कार्यक्रम, परियोजनाहरु सञ्चालन भएका छन् । बिभिन्न जिल्लामा शाखा कार्यालयहरु स्थापना भएका छन् । लुम्विनी प्रदेश स्तरिय भ्रष्टाचार बिरुद्ध युवा सम्मेलन गरिएको छ । सुदुरपश्चिम र कर्णाली प्रदेशमा बास नेपालको प्रादेशिक कार्यालय स्थापना गरिएको छ । साधारण सदस्यताको मात्रै व्यवस्था रहेको बासमा सक्रिय सदस्यताको व्यवस्था गरि संस्थाको दिगो बिकासमा योगदान पुर्याउने काम भएको छ ।
संस्थाको आफ्नै भवन निर्माणका लागि बास नेपालका महासचिव शिब कुमार बर्माको बिशेष पहलमा दानबिर माधवराम बर्माज्युबाट ९ धुर जग्गा प्राप्त भएको छ । बास नेपालको आफ्नै भवन बनाउने मेरो सपना मेरो कार्यकालमा पुरा नभए पनि अगामी कार्यकालमा पूरा हुनेछ । दुई बर्ष कोभिडले हामीलाई प्रभावित बनायो जसका बाबजुत पनि संस्थालाई गतिशिल बनाउने काम भयो । मेरो कार्यकालमा नभएका कार्यहरु आगामी कार्यकालमा पुरा हुने अपेक्षा लिएको छु ।
एक कार्यकाल म निबर्तमान अध्यक्ष भएर रहने भएकाले पनि मेरो कार्यकालमा पुरा नभएका कार्यहरु पुरा गर्नमा मेरो प्रत्यक्ष सहयोग र सहभागिता रहनेछ । अर्काे कुरा नेतृत्व दोहोरिने प्रशस्त अवस्था रहँदा, रहँदै पनि नेतृत्व हस्तान्तरण गर्नुपर्दछ भनेर मैले स्वस्फूर्त रुपमा नेतृत्व हस्तान्तरण गर्दैछु । कार्य समितिको पूर्णकालिन बैठकमा संस्थाको बिकास र बिस्तारका लागि गरिएको केहि निर्णयहरु कायान्वयन गर्न बाँकी छन् । बर्तमान नेतृत्वबाट निर्णय गरिएका कुराहरु कायान्वयन गर्ने मुख्य दायित्व अबको नेतृत्वले लिनेछ र बास लाई थप उचाईमा पु¥याउन मेरो ज्ञान,क्षमता, सुझाव सल्लाह नेतृत्वले आवश्यकता महसुस गर्नेछ भन्ने पूर्ण बिश्वास लिएकोछु ।
नेपालगन्जबाट देशैभरि पहिचान बनाउन सफल बाससँग यो समाजले के आश गर्ने ? अथवा समाजसँगै तपाईंका पो अपेक्षा छन् की !
समाजलाई बासले नैतिक शिक्षा,युवाहरुलाई सकारात्मक कार्य गर्न उत्प्रेणा सहित जागरुक बनाउने काम गरिरहेको छ । भ्रष्टाचार बिरुद्ध आवाज बुलन्द पार्दैै समाज बिकासमा योगदान दिएको छ । सामाजिक रुपान्तरणमा भूमिका निर्वाह गरेको छ । बास आम नागरिकहरुको आवाज हो, भोली पनि नागरिक आवाज बन्नेछ । समाजबाट बासको अपेक्षा सहयोग र सहकार्यको सधैं रहेको छ ।
तपाईं त सफल व्यवस्थापक पनि, युवाहरुलाई कसरी स्वरोजगारमा वा सामाजिक काममा प्रेरित गर्ने होला ?
बास स्वावलम्वी संस्था हो, आत्मनिर्भरता बासको मुल मर्म हो, युवाहरुलाई बासले समय अनुसार रोजगार दिंदै पनि आएको छ । बिभिन्न अभियान, कार्यक्रमहरु मार्फत युवाहरुलाई स्वरोजगार बन्न र सामाजिक कार्यमा आफ्नो व्यवसायिक कार्यसँगै संलग्न रहन बिभिन्न तवरले उत्प्रेरणा प्रदान गर्ने काम निरन्तर गरिरहेको छु, गरिरहने छु ।
बासको अभियानका क्रममा लागेको लामै समय भयो, सामाजिक काममा लाग्नुको प्रतिफल के पाउनु भयो भन्यो भने उत्तर के दिनुहुन्छ ?
आत्मसन्तुष्टि र नैतिक जिम्मेवारी बहनको महसुस भएको छ । म ताप्लेजुङ्ग, झापा हँुदै बाँके बाहिरबाट आएको भएतापनि आफुलाई बासको माध्यमबाट देश बिदेशमा आफुलाई परिचित गराउने सुनौलो अवसर पाइरहेकोछु ।
आफ्नो उत्तराधिकारी कस्तो छान्दै हो ? कसरी हुँदैछ, नेतृत्व हस्तान्तरण !
अबको नेतृत्वका लागि औपचारिक रुपमा ४ जना क्षमतावान कुशल व्यक्तिहरुको उम्मेद्धारी घोषणा भएकोछ । वहाँहरु सबै जना सशक्त क्षमता सहित योग्य हुनुहुन्छ । सर्बसम्मत नेतृत्वका लागि अन्तिम समय सम्म हाम्रो प्रयास जारी रहने छ । सकभर सर्बसम्मत हुनेछ, सर्बसम्मत नभएमा लोकतान्त्रिक बिधिलाई अवलम्वन गर्दै नेतृत्व चयन गरिने छ ।
महाधिवेशनका अपेक्षालाई कसरी व्यक्त गर्नुहुन्छ ?
महाधिवेशनमा व्यापक सहभागिता हुने अपेक्षा लिएका छौं, महाधिबेशनले नयाँ सोचका साथ नयाँ नेतृत्व चयन गर्नेछ ।
अन्यमा,
८ औ महादिवेशनबाट मलाई अध्यक्ष पदमा रहि ३ वर्ष सम्म नेतृत्व समाल्ने मौका दिनुहुने सबै बासका आदरणीय असल शासन हिमायती सल्लाहकारज्यूहरु,हितैषी मित्रहरु, बासका शुभचिन्तकज्यूहरु प्रति कृतज्ञता ब्यक्त गर्दछु । बासका संस्थापक तथा हालका कार्यकारी निर्देशक मेरो हितैषी मित्र नमस्कार शाहज्यूको २१ वर्ष देखिको अनवरत प्रयास र क्रियाशिलताबाट ससक्त बनेको बासको नेतृत्व गर्दै गर्दा शाहजीबाट पाएको साथ, सहयोग, सुझावको बर्णन गर्ने म सँग शब्द छैन । बासलाई प्रतक्ष्य अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबै निकाय तहतप्का प्रति नमन सहित कृतज्ञ छु । यो अवसरका लागि दैनिक नेपालगन्जप्रति आभार ! (दैनिक नेपालगन्ज पत्रिकामा प्रकाशित)