नेपालमै खपत बढाउनु पर्यो भन्दै आएको सरकारले भारतबाट किनेर भएपनि उद्योगलाई २४ सैं घण्टा विद्युत उपलब्ध गराउने भनेको केही दिनमै विद्युत आपूर्तिमा अनियमितता शुरु भएको हो ।
गत पुस पहिलो साता नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नवउत्थान सम्मेलनको उद्घाटनमा अर्थमन्त्री जनार्दन शर्माले विद्युत निर्यात गर्नुभन्दा नेपालमै खपत बढाउनु पर्ने बताएका थिए । त्यसका लागि उनले उद्योगधन्दा बढाएर रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए । उनको आशय थियो नेपालमा आवश्यकता भन्दा बढी विद्युत छ, निर्यात गर्दैमा व्यापार घाटा कम हुँदैन, स्वदेशमै उद्योग बढाएर खपत बढाउनु पर्दछ । कार्यक्रममा उनले खपत बढाउन सरकारले के कस्तो मोडालिटिमा सहुलियत दिन सकिन्छ, कस्ता उद्योगलाई प्राथमिकता दिन सकिन्छ भन्ने विषयमा छलफल समेत भएको बताएका थिए । अर्थमन्त्री शर्माले विद्युत खपत गरी वस्तु उत्पादन र रोजगारी सिर्जना गरेर मात्र व्यापार घाटा कम गर्न सकिने बताएका थिए ।
नेपालमा उत्पादित विद्युत भारत तथा बंगलादेशमा बिक्री गर्ने उद्देश्यले गत पुसमा भएको मन्त्रीपरिषद् बैठकले एउटा कम्पनीलाई अनुमति दिएको थियो । सरकारले अन्तर्राष्ट्रिय रुपमा विद्युत् व्यापारका लागि पहिलो पटक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीलाई अनुमति दिएको हो । नेपालमा खपत विद्युत बिक्रीका लागि एमसीसी अन्तर्गत अन्तरदेशीय प्रसारण लाइन पनि योजनामा छ । सरकारका प्रतिनिधिले विद्युत खपत बढाउन विद्युतीय चुल्होको प्रयोग गर्न औपचारिक अनुरोध गर्दै आएको समाचार प्रकाशमा आउने गरेको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसको प्रयोग घटाउन विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न, ग्याँसको सट्टा विद्युतीय चुल्होको सरकारबाट सार्वजनिक आव्हानको प्रस्ताव गरेको छ ।
माथि उल्लेखित विषयले नेपालमा विद्युत पर्याप्त मात्र रहेको नभई बढी भएकाले खपत बढाउनु पर्ने, विदेश नै निर्यात गर्ने सकिने अवस्था रहेको जस्तो देखाउँछ । नेपालमा केही विद्युत आयोजना निर्माणाधिन छन् । तर, त्यहाँबाट विद्युत् उत्पादन थपिएर राष्ट्रिय प्रसारणमा जोडिइसकेको अवस्था छ ।
सरकारकै मन्त्रीहरुबाट विद्युतको समस्या नरहने औपचारिक रुपमा प्रतिक्रिया सार्वजनिक भैरहँदा नेपालका उद्योगहरुले भने विद्युत पाउन नसकेको भन्दै उद्योग नै चलाउन नसक्ने अवस्था आउँदै गएको बताएका छन् ।
बाँकेमा मात्रै नभएर पूर्वी नेपालमा समेत उद्योगीहरुले विद्युत अनियमितताको समस्या बढ्दै गएको बताएका छन् । ‘एकाएक विद्युत कसरी कम भयो ? माथिका प्रसंगमैं घोत्लिएका नेपालगन्ज चेम्बर अफ कमर्शका अध्यक्ष सतिशकुमार अग्रवालले दैनिक नेपालगन्जसँग भने, ‘पेट्रोलियम पदार्थको मूल्यले आकाश छोइरहँदा विद्युत आपूर्तिमा समस्या बढ्यो भने कसरी चल्ने उद्योग ?’
उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणले पूर्व सूचना बिना लोडसेडिङ गर्दा आफूहरुले आर्थिक क्षति ब्यहोर्नु परेको बताएका छन् । उनीहरुले अर्डर लिएको सामान समयमा दिन नसकेको उल्लेख गर्दै कर्मचारी विद्युत कुराउँदै तलब दिनु परिरहेको बताएका छन् । ‘कर्मचारी कामका लागि आउँछन्, विद्युत हुँदैन, उत्पादन नहुँदा अर्डर समयमा दिन सकिंदैन नै कर्मचारीलाई काम बिना नै तलब दिनु परिरहेको छ’, जय मंगलम सिमेन्ट्सका प्रवन्ध निर्देशक सन्जय कुमार अग्रवालले भने । उनका अनुसार, एकसाता यता विद्युत आपूर्तिमा अनियमितता बढ्दै गएको छ ।
बाँकेका उद्योग सञ्चालकहरुले चैत्रको पहिलो साता देखि विद्युत समस्या सुरु भएको बताएका छन् । ‘विद्युत आउने जाने ठेगान नै हुँदैन, प्राधिकरणले सुचना दिंदैन, माग्दा सूचना दिन मिल्दैन भन्छन्’, उद्योगीहरुले भने, ‘उद्योग कसरी चलाउने ?’
सरकारले पटकपटक उद्योगमा विद्युत समस्या हुन नदिने बताएपनि व्यवहारमा त्यसो नदेखिएको उद्योगीहरुले बताएका छन् । ‘विद्युतको कमी हुँदैन भन्छन्, दिने बेलामा दिंदैनन्’, उनीहरु भन्छन्, ‘उद्योग फष्टाउने वातावरण बनाउने, प्रोत्साहित गर्ने भन्ने कुरा भाषणमा मात्रै सीमित देखिन्छ ।’ उत्पादन घट्दा आयात बढ्ने र त्यसले व्यापार घाटा झन् बढाउने उद्योगीहरु बताउँछन् ।
भारतबाट विद्युत खरिदका लागि दैनिक हुने बोलकबोलमा महंगो दररेट प्रस्ताव गर्दा पनि प्राधिकरणले विद्युत कटौती गर्दै आएको छ । महंगोमा खरिद गरी सस्तोमा बिक्री गर्ने भएकाले प्राधिकरणले तत्काल विद्युत खरिदका लागि आनाकानी गरेको उद्योगीहरु बताउँछन् । ‘आफ्नै देशमा उत्पादन गर्न सकिने विद्युत पर्याप्त मात्रामा उत्पादन समयमै नगर्दा अहिले समस्या झेल्नुपरेको, भारतबाट आयात गर्ने भनेपनि प्राधिकरण त्यसो गरेको छैन’, उद्योगीहरुले अहिलेको अवस्था रहे विद्युतकै कारण उद्योग बन्द हुने चेतावनी दिएका छन् ।
उद्योगपति कन्हैयालाल बैद्यले विद्युत समस्या आउन नदिन बेलैमा पूर्वतयारी आवश्यक भएको बताए । ‘पूर्वतिरका उद्योगमा प्राधिकरणले पत्रनै पठाएर महंगोमा विद्युत खरिद गर्न भनिसकेको छ,’ उद्योगपति बैद्यले दैनिक नेपालगन्जसँग भने, ‘हाम्रोतिर पत्रकार आइसकेको छैन ।’
उद्योगीहरुले औद्योगिक कोरिडोरमै दैनिक १४ घण्टासम्म लोडसेडिङ्गहुने, आएको बेला पनि बीचबीचमा अनियिमित हुने गरेको बताएका छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिन अघिमात्रै उद्योगमा लोडसेडिङ्ग नगर्ने औपचारिक रुपमा बताएका थिए । उनले भारतबाट प्रतियुनिट ३२ रुपैयाँमा विद्युत खरिद गर्नुपर्ने भएकाले उद्योगी र सरकारले प्राधिकरणलाई सहयोग गर्नुपर्ने बताएका थिए । उनले खपत घटाउने र दायित्व पनि लिनुपर्ने उद्योगीलाई बताएपछि उद्योगीहरुले भने खपत घटाउन प्रयास गर्ने र अतिरिक्त दायित्व भने बहन गर्न नसक्ने बताउँदै आएका छन् ।
जाडो याममा विद्युतको माग धानेर बच्ने गरेपछि गर्मी सुरु भएपछि नेपालमा विद्युत अभाव हुने गरेको छ । हाल नेपालमा ३ सय मेगावाट विद्युत अभाव रहेको बताइन्छ । भारतमा विद्युत महंगिए पनि नेपालले अपेक्षा गरे अनुसारको शुल्कमा विद्युत खरिद गर्न पाएको छैन । रुस युक्रेन युद्ध पछि भारतलाई विद्युत उत्पादनका लागि आवश्यक पर्ने ग्याँस र कोइला अभाव भएपछि त्यसको अवसर विद्युतमा परेको हो ।
‘माग अनुसार नआउँदा समस्या’
नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालयका प्रमुख सुरज गौतमले माग अनुसार विद्युत नआउँदा उद्योगहरुलाई दिइने विद्युत कटौती गरिएको बताएका छन् । उनले विद्युत अनियमित हुने समय एकिन नभएकाले त्यस खालको तालिका व्यवसायीलाई दिन नसकिएको बताए ।
‘विद्युत आएसम्म उद्योगलाई दिंदै आएका छौं, तर कम विद्युत उपलब्ध हुँदा उद्योगमा कटौती हुने गरेको हो’, प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख गौतमले दैनिक नेपालगन्जसँग भने, ‘यसबारे माथिल्लो निकायमा जानकारी दिएको छु, विद्युत नियमित गर्न नसके केही दिनमै प्राप्त हुने विद्युत र अनियमित हुने समय बारे उद्योगीहरुलाई जानकारी दिन्छौं ।’
हाल २४० एमभिए क्षमता र २ सय एमभिए माग रहेपनि सो भन्दा कम विद्युत प्राप्त भैरहेको प्राधिकरणले जानकारी दिएको छ । ‘करिब ९० देखि १ सय एमभिए विद्युत उद्योगका लागि आवश्यकता पर्दछ, सो भन्दा कम आउँदा अनियमित हुने हो’, प्रदेश डिभिजन कार्यालयका प्रमुख गौतमले भने, ‘भारतबाट विद्युत खरिद भएमा अनियमितताको समस्या हट्छ ।’
उद्योग बाहेकको क्षेत्रमा भने अहिलेसम्म विद्युत नियमित नै रहेको प्रदेश डिभिजन कार्यालयका प्रमुख गौतमले बताएका छन् । ‘अन्य क्षेत्रको माग धानेको अवस्था छ, त्यसका लागि भारतको नानपारा र टनकपुरबाट समेत विद्युत आयात गरिरहेका छौं’, उनले भने । नानपारा र टनकपुरबाट माग बढी हुँदा पूर्ण क्षमतामा विद्युत आयात हुने गरेको र सो को खरिद दर भने कम रहेको प्राधिकरणले जनाएको छ ।
‘अब देशभर विद्युत नियमित गर्नका लागि ३२ रुपैयाँमा खरिद गरी ल्याउँदासम्म ३८ रुपैयाँ प्रतियूनिट खर्च लाग्नेछ’, प्रदेश डिभिजन कार्यालयका प्रमुख गौतमले भने, ‘केन्द्रबाट हुने निर्णय पछि आपूर्ति नियमित वा अनियमित हुने बारे निश्चित हुन्छ ।’